१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

शहीद वीरबहादुर र उसकी आमा

कथा

टंकबहादुर आले

पराईकै बद्ख्वाइँ पृष्ठमा दिनचर्या सपार्ने चरित्र। अरूकोे दीनदुःखले हर्षित हुने। शब्दका नटबोल्ट छ र सुक्तिका फलामे डोरी तन्काएर झोलुङे पुलमा मान्छेलाई हिंडाउने। अचेल व्यस्त छ सुकार्यमा, उसको छहारीले केन्द्र चुमेपछि।

‘श्रमपुज्यज्यू,अति निन्दित भो। पहिले महान् शहीदको सालिकलाई पुछौं न’ टाउकोभरि चराको सेता विष्टी र धुलो बोकेको सालिकलाई हेर्दै भन्छ चरित्र।

आज शहीद वीरबहादुरको शहीद दिवस सम्पन्न गर्ने जिम्मेवारी उही चरित्रलाई जिम्मा लगाएको छ पार्टीले।

शहीद वीरबहादुरको सालिकलाई नतमस्तक गर्दै मनमनै भन्छ, ‘श्रमिक, ए महान् शहीद, देख्दै छौ तिम्रो बलिदानको सारतत्त्व चोक्टिरहेछन्। यहाँ त ‘म’ र ‘मेरो’ शब्द सारमा मुक्ति छटपटिरहेछ। त्यो मुक्तिलाई झिक्न के तिमी पुनर्जन्म लिन सक्छौं?’

चरित्र व्यंग्य कस्छ, ‘ए श्रमपुज्यज्यू, मन श्रीमतीतिर पुग्यो क्या हो?’

‘होइन यी महान् शहीदमाथि टिस लाग्यो’, गम्छाले सालिक पुछदै श्रमिक भन्छ,‘खै हाम्रा शहीदका रगतले पार पा’को।’

नाककोरे सोधाइ,‘श्रम र पसीनासँग दर्शन पनि मुछ्न हुन्छ क्या हो?’

‘यदाकदा पाप्रिंदो रहेछन् यस्ता शब्द यो उजाड छातीबाट।’

‘हन श्रमपुज्यज्यूको पढाइचाहिं कति हो! अभिव्यक्ति त साहित्यिक छ नि?’

‘पूर्वजले थुन्चे र खर्पनमा इँटा, बालुवा र सिमेन्ट पढे। उहाँहरूकै सन्तान म नयाँ सडकका भित्ता पढ्छु, ठुल्ठुला अपार्टमेन्टका जगभित्र प्रश्नका उत्तर दिन्छु र फोहोरका थुप्राबाट हल खोजेर खाली ठाउँ भर्छु। गैंती, फरुवा, बेल्चा, झम्पल मेरा कलम हुन् र पसीना मसी।’ यसरी म ....।’ श्रमिकको भनाइ रोकियो। ठुल्ठुला साउन्ड बक्समा राष्ट्रिय गीत थर्कन थालेपछि।

प्रायः शून्य रहने शहीदको सालिक ठरिएको परिधि, रमझम छ, झण्डा र तोरणहरूले। टाँगिएका छन् व्यानरहरू पनि।

अर्धानो वरमुडा र टिसर्टमा गाउँका खला, ढिक, चौतारा, भन्ज्याङ र ठाँटीहरूमा गफ फुकिहिंड्ने चरित्र यहाँ आइपुगेपछि कायापलट नै भएको छ। महँगा सुट, टाई, जुत्ता र हातैमा बोकी राख्ने ठुलो स्मार्ट मोवाइल। ठर्रा, जाँडको गन्ध छैन, बोली र स्वभावमा। गाउँ विकासको बजेटको जुठो टपरी र जिल्ला र केन्द्रका नेतागणका आशीर्वादले जेनतेन चल्या मान्छे। यो बेला ऊ महँगो मोटरसाइकलमा चढ्छ। मरन्च्याँसे मान्छे मोटाइसक्या छ। उसलाई भेट्दा गाउँले भन्छन्, ‘साँच्चै मान्छेको दिन आउँदो रहेछ!’

श्रमिक काम सकेर हिंड्न खोजे। साउन्ड बक्स रोकियो। श्रमिकका जेलामाथि पनि चारित्र्य कर्द चलायो चरित्रले, व्यानर लेख्ने कलाकार र झण्डा सिउनेलाई जस्तै। चरित्रले आफ्नो मान्छेको पदीय धाक देखाएर हप्काउन खोजे पनि तटस्थ थिए श्रमिकहरू, उचित जेलाको खातिर। अर्को दाउ खेल्यो शहीदको नाम लिएर। माने चरित्रको चरित्र्याइँलाई, श्रमिकले, शहीदको कुरा उठेपछि।

ठुल्ठुला राजनैतिक ढुंगा फोर्न थाल्छ गफाडी हेम्मर उचालेर। मक्खै पार्छन् उपस्थित मान्छे पनि उसलाई। झनै जोसिंदै थियो ऊ गफ जोत्न।

यस्तैमा आइपुगे उसको इसारामा चल्ने मान्छे। सासै नरोकी भन्छ,‘चरित्र सर, बुढियालाई भेटिन झुप्री टोलमा। छिमेकीसँग सोधेको वर्ष दिन जस्तै भो’रे विपत्ता भा’की।’

‘अब के गर्ने’ भन्दै मोवाइलमा सुरक्षित राख्या विशेष नम्बर खोज्न थाल्छ चरित्र। चरित्र मोवाइल कानमा राख्दै भन्छ,‘शहीद वीरबहादुरकी आमालाई भेटिएन हजूर!’

उताबाट के भन्यो सुनिएन।

‘अचिनारु बुढी आईमाईलाई शहीदकी आमा बनाएर प्रमुख अतिथि आसनमा राख्दा मिल्दैन हजूर।’ शायद  विपरीत तरंगबाट  हाउगुजी शब्द आयो क्यारे। चरित्रको  मुहारको रंग उग्ल्यो। स्वर लुब्रुक्कै पर्‍यो। डराएको कुकुरझैं बन्दै माफ पाऊँ भन्छ। आइन्दा यस्ता शब्द मेरो कण्ठबाट बाहिरिंदैन हजूर।

ललल प्रमुख आतिथ्यासन खाली नै राखौंला। अँअँ सबै दुरुस्त छन्। छैन-छैन सालिक त भर्खरै बनाइसक्यो जस्तै लाग्छ। राम्रै दोकानबाट ल्या’छु  पाकेटका मिठाईहरू। अब हजूरकै प्रतिक्षा। हुन्छहुन्छ।’

संघर्षको मैदानमा हक र अधिकारका स्वर उरालिहिंड्दा सामन्ती व्यवस्थाको कार्यवाहीमा परेर शहीद भएको वीरबहादुरको सालिकको उद्घाटन गरेको दिन। एउटै छोराको वियोगमा तड्पिरहेका वीरबहादुरकी आमालाई छोराको सलिक उद्घाटन गराएर थुम्थुम्याउने प्रयास हुँदै थियो।

प्रखर वक्ता जनभक्तज्यूले शहीद वीरबहादुरकी आमातिर संकेत गर्दै भनेको थियो, ‘यी सर्वहारा आमाको सर्वहारा छोरा वीरबहादुर देश र जनताका लागि शहीद भए। आमा, हजूरको छोरा मरेर पनि बाँचिरहनेछ मनमनमा। भावी पिंढीले कितापमा पढ्नेछन् तपाईको छोरालाई। अब यसरी सगर्व उभिएर हामीलाई सुकार्य गर्न प्रेरित गरिरहनेछ हजूरको छोराले।

अर्का वक्ता जनभक्तका अभिव्यक्ति यस्ता थिए, ‘वीर्यवान् वीरयोद्धा वीरबहादुर जस्तो महान् शहीद जन्माउने आदरणीय आमालाई  नतमस्तक गर्छु। शहीद वीरबहादुरको वीरता सम्झिंदै थप्छ कुरा-‘हजूरले देश र जनताका लागि जन्माउनुभएको रहेछ छोरा। यस्तो शहीद जन्माउने अहोभाग्य कमै आमाले पाउँछन्।

क्रमशः जनसेवक, राष्ट्रपुजक, न्याप्रेमी, सर्वहितैषी, कल्याणकारी, नागरिक सेवक आदिका ओजस्वी एवं सान्दर्भिक भाषणले शहीद वीरबहादुर र उहाँकी आमालाई शब्दै शब्दको क्रेनले उचालेर निकै उच्च बनाएको थिए। आजीवन सहयोग र सेवा गर्ने भाषिक आश्वासनको दोसल्ला पनि ओढाका थिए। एउटा छोराको साटो लाखौं छोरा पाउनुभएको छ हजूरले...।’

यस्तै वाक्यहरूको ओइरो लाग्दा आमा कोमल र हर्षित भइन्। फूल-माला र अविरले सुशोभित छोराको सालिकलाई हेर्दाहेर्दै आँखाबाट मेची र महाकाली बगेको थाहै पाइनन्।

अहिल्यै जस्तो लाग्छ आमालाई-बालुवा छान्दै गर्‍या भोको छोरालाई कान्छाले-‘हिंड् वीरे कुव्यवस्थासँग लड्न। खै श्रम र पसीनाको उचित मूल्य। एकपेट खान र एकआँग ओढ्न प्रशस्त रूपमा कहिले पाउने हामी जस्ता वर्गले’ भन्दै लगेको।

आमाले समस्या बताएकै थिइन्,‘आज एक ट्याक्ट्रर बलौटा बेचेर धने साहुको बाँकी तिर्नुपर्ने छ। नत्र अब उधारो नदिने भन्दै छ। डेरामा एक मुठी चामल छैन। मजदुर युनियनको चन्दा तिर्‍या छैन। हिजै सहसचिवले ‘केही पर्‍यो भने युनियनले सहायता गर्ने छैन। छिटो चन्दा दिनुस् काकी’ भनेर गा’छ। वीरे भोकै छ। बेलुका पनि दुई मुठी चिउरा खाएर सुत्या।’

‘काकी पनि पार्टीले उतै खानाको व्यवस्था गर्या छ’भन्दै वीरेको हातै समाएर तान्यो कान्छाले। लुगामा लाग्या धुलो टक्टक्याउँदै आमातिर हेर्‍यो वीरेले, ‘जान त खाना उतै पाक्या छ’रे। भरै छिटै आउनु। झगडा नगर है वीरे, जमाना राम्रो छैन। कान्छा पुग्नेबित्तिकै पहिले वीरेलाई खाना ख्वाउ है ...।’ आमाको शब्दमा वात्सल्य थियो।

आधा रातसम्म छोराको सुर्ताले आमाको निद्रा खच्पचिएको थियो। छोरा र कान्छा यतिबेलासम्म नआइपुग्दा। अचानक दैलीबाट आवाज आउँछ,‘काकी, वीरेलाई मारे सामन्ती सिपाहीहरूले।’

रगतले लतपत घाइते कान्छा दैलामा ढेसिएर थरथराउँदै थियो।

अशुभ खबरले आमा छाती पिट्दै चिच्याइन्। शनै-शनै निथ्रुक्क भिज्छ रोदनले सिंगो झुप्री टोल। छेउकै खोला रुँदै बग्छ, वीरे मरेको सुन्दा। रोयो वीरेले खेलेको माटो। मौन भए आकाशका ताराहरू पनि। ठ्याक्क रोकियो,अघिसम्म सरसराइरहेको बतास।

‘आमा, मिठाई लिनुस्-‘यी शब्दले आमा वर्तमानमा ओर्लिइन्, अतीतको चोटिलो बुइँगलबाट। एकजना मान्यगन्य व्यक्ति हातमा मिठाईको डिब्बा समाएर आग्रह गर्दै थियो।

अनि आमालाई डेरासम्म लगिदियो गाडीले। सँगै केही सर्दाम र एकसरो लुगा पनि दिएका थिए आयोजकले तर ....समयसँगै शहीदकी आमाले पाएको आश्वासन, सीमित रह्यो आश्वासनमै। राजनैतिक उफ्राइका बुटमुनि मेटिए ती सपनाहरू, भाका र दिनहरू।

छोडेर भाग्न विवश भइन् शहीदकी आमा, मानसिक आर्थिक र शारीरिक पीडाको कुटाइले। एउटा शहीदको आमाको हालत यति नाजुक होला भन्ने के थाहा ती वलिदन हुने सुपुत्रलाई।

वीरबहादुरको शहीद दिवस सम्पन्न गरेको एक वर्षपछि पुनः आज आवश्यक परेको छ। शहीदकी आमालाई। विगतको दिवसमा आयोजकका नाम चर्चित भा’थे राष्ट्रिय समाचार पत्रहरूमा। थुप्रै चर्चा प्रेषित भए सामाजिक विद्युतीय संचारद्वारा। फोन र मोवाइल खूबै बजे। इमेल र सन्देश थुप्रै ओइरिएका थिए।

यसपालिको आयोजक प्रमुख, चिन्तित देखिन्छ ‘शहीदकी आमालाई नभेटेपछि। अतिथि खर्चबाट लुछलाछ पार्न अप्ठेरो परेको छ चरित्रलाई।

अन्ततः महान् शहीद वीरबहादुरको शहीद दिवश सम्पन्न हुन्छ, उसकी आमालाई नभेटे पनि। सधैंझैं वक्ताका वक्तृताले वीरबहादुरको शहादतलाई गगन छुवाए शब्दका वायुपङ्खीमा चढाएर। उस्तै जुरुक्कै उचाले शहीदकी आमालाई पनि। वीरबहादुरलाई जन्माउने कोख, चुसेको लाम्टो, खेलेको काख, शैशवकालमा पाएको अपार ममताको खुब भयो बखान। शहीदको आमालाई पुर्नवास गर्ने प्रतिज्ञा ठोके। सुबाटो हिंड्ने, सुकार्य गर्ने, शहीदका सपना साकार पार्ने कसम खाए। दर्शक वर्गले पनि खुब ताली पड्काए, भाषण सुनेर।

शहीद दिवशको भोलिपल्ट झुल्के घामसँगै हल्ला हुन थाल्यो, ‘महान शहीद वीरबहादुरको सालिकमुनि एउटी बोलाही मरिराख्या छ रे। आदिआदि। आँग फाट्या ह्वाङ्गलाङे सर्ट, घुँडामुनि चुँडिएको सुरुवाललाई लरङ्गलरङ्ग झुन्डिएको इँजारले बेसरी कसेर ओढेकी खिङरिङङ सुक्या शरीर। समयको निर्ममताले फहराको चाउरी पर्‍या अनुहार। सेतै फुलेर लट्टा परेको जिङरिङङ मैलो केशराशि। उपस्थित कसैले चिनेनन्। यस्तै अधुरो पहिचान भएको लासलाई।

कसैले नगर प्रहरीलाई फोन गरेछन्। प्रहरीको गाडी आएर सनाखत नभएको लाशलाई उठाउँदै गर्दा एकजना बुढा मान्छे हुलबाट बर्बराउँदै आयो, ‘आमामा, यी त यही शहीद वीरेकी आमा पो रहिछन्। बौलेर हराका थिइन्। कसरी छोराको सालिकको काखमा मर्न आइपुगिन्? सानो हण्डर खेपिनन्, भोकभोकै हिंडे कति दिन त।’

च्वास्स-च्वास्स घोच्यो उपस्थित मनहरूलाई त्यो दृश्य-परिदृश्यले। कस्तो उपहास यो! उफ कति हृदयविदारक घटना! कति दुःख खेप्दै मरिन् ती देश र जनताका खातिर मर्ने छोराकी आमा। यस्तै केके भन्दै मान्छेहरू मन थुम्थुम्याउँदै थिए। घरि हिजो फूलमाला र अविरले रातै शहीद वीरबहादुरको सालिकलाई हेर्थे, घरि शहीदकै सालिकमुनि मरिराख्या शहीदकी आमालाई हेर्दै भन्थे,‘...विचराविचरा!

प्रकाशित: १२ मंसिर २०७९ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App