१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अष्टचिरञ्जीवीको महत्व र महिमा

नेपालको धर्म, संस्कृति र परम्परामा अष्टचिरञ्जीवीको ठुलो महत्व रही आएको छ। विभिन्न कारणले नेवारहरूले अष्टचिरञ्जीवीको महत्व सिधै वा वास्तविक रूपमा नबुझे पनि अष्टचिरञ्जीवीलाई मान्दै आइरहेको पाइन्छ। नेवारी चाडपर्व र विभिन्न ठुल्ठुला पूजा गर्दा एवम् होम गर्ने सन्दर्भमा पनि अष्टचिरञ्जीवीको पूजा गर्दै आइरहेको पाइन्छ। जुनसुकै शुभ कर्म गर्दा हामीले अष्टचिरञ्जीवीको प्रतीक अष्टमंगललाई पूजा गर्नुपर्छ। हरेक वर्ष नेवारहरूले गर्दै आइरहेको म्हपूजा (देहपूजा) र भाइटीकामा बनाइने मण्डलमा रहेको अष्टदल अष्टचिरञ्जीवीको प्रतीक हो। यसरी अष्टचिरञ्जीवीको प्रतीक बनाएर नेवारहरूले म्हपूजा र भाइटीका गर्दा दीर्घ आयु भई चिरञ्जीवी हुने जनविश्वास छ। यस्तै अष्टचिरञ्जीवीलाई सम्झना गर्दा मनले चिताएको कार्य सफल हुने जनविश्वास छ। हाम्रो देशमा रहेका विभिन्न सत्तल, पाटी, पौवा, देवताका नामले स्थापना गरिएका देवघर र दरबारमा पनि अष्टचिरञ्जीवीको प्रतीक चिह्न अंकित गरी राखिएको छ।  

हिन्दु धर्म संस्कारअनुसार गरिने ठुल्ठुला पूजा, हवन, सत्यनारायणको पूजा, श्रीमद्भागवतको कथा, सप्ताह, व्रतबन्ध पूजा, शुभ विवाह आदि कर्म गर्दा अष्टचिरञ्जीवीलाई पूजा गरिन्छ। हामी सबैको लामो आयु भई हाम्रो जीवनमा शुभमंगल र कल्याणकारी भइरहने परम्परागत विश्वासले नै सबैले अष्टचिरञ्जीवीलाई मान्दै आइरहेका हुन्। अष्टचिरञ्जीवीको अत्यन्तै प्रसिद्ध श्लोक यसप्रकार छ, ‘अश्वत्थामा बलिव्यास हनुमान विभीषण कृपाः परशुरामश्चः मार्कण्डेयो नमो नमः’

अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय यी आठ जनालाई अष्टचिरञ्जीवीका रूपमा लिइएको छ। त्रेतायुगदेखि चिरञ्जीवी भइरहेका यी अष्टचिरञ्जीवी आजसम्म पनि जीवित नै छन् भन्ने विश्वास गरिएको छ। यी आठजनाले आजसम्म पनि लोककल्याणका निम्ति विभिन्न कार्य गर्दै आइरहेका छन् भन्ने पनि विश्वास गरिन्छ। अब यहाँ क्रमशः यी अष्टचिरञ्जीवीहरूको महिमा प्रस्तुत गर्दछु।  

अश्वत्थामा

अश्वत्थामाको नाम लिनासाथ महाभारत युद्धको कथा सम्झना हुन्छ। कौरव र पाण्डवका मान्यवर गुरु कृपाचार्यका नाति एवम् द्रोणाचार्यका पुत्र हुन् अश्वत्थामा। पुत्र अश्वत्थामाको मृत्यु शोक नपरेसम्म अन्य कुनै पनि कारणले द्रोणाचार्यको मृत्यु नहुने विशेषता रहेछ। द्रोणाचार्य नमरीकन महाभारत युद्ध नसकिने र युद्ध लामो भइरहने देखेर श्रीकृष्णले एउटा कुटनीति गरेको रहेछ। श्रीकृष्णले कुरुक्षेत्रको युद्ध मैदानमा अपरझट अश्वत्थामा म¥यो भन्ने हल्ला चलाइदियो। यो कुरा दोणाचार्यको कानमा पनि पर्‍यो। तर द्रोणाचार्यले पत्याएनन्। यसको निर्णय दुर्योधनले आफ्ना शत्रु युधिष्ठिर कहाँ गएर सोध्न पुगे। शत्रु भए तापनि युधिष्ठिरले नभएको वा झुठा कुरा नगर्ने भएकाले सोध्न गएका रहेछन्। यो कुरा थाहा पाएका श्रीकृष्णले युधिष्ठिरले भनेको कुरा द्रोणाचार्यले राम्ररी सुन्न नसकोस् भनी चर्को स्वरले पाञ्चजन्य शंख फुकी दिन्छ। जसले गर्दा युधिष्ठिरले बोलेको पहिलो शब्द ‘नरो बा कुञ्जरो वापि अश्वत्थामा हतोहत’ भनेको मात्र सुन्न सकियो। यति सुन्नेबित्तिकै द्रोणाचार्यले आफ्नो पुत्र मरेको ठानी अत्यन्तै दुःखी भई आफ्नो प्राण त्यागी दिन्छ। तर अश्वत्थामा भने बाँचिरहेकै हुन्छ। वास्तवमा त्यही समयमा अश्वत्थामा नामक कौरवतर्फको एउटा हात्ती मरेको हुन्छ।  

अश्वत्थामा अत्यन्तै योगबल भएका ऋषि हुन्। अश्वत्थामाले ठुल्ठुला यौगिक चमत्कार पनि देखाएका छन्। योगबलको प्रतीकका रूपमा अश्वत्थामालाई लिइन्छ।  

बलि

दैत्य कुलमा जन्म लिएका बलिराजा अत्यन्तै धार्मिक, विवेकशील र दिव्यचक्षु भएका योगीका रूपमा प्रख्यात थिए। त्यस्तै तीनै लोकका अधिपति भएर राज गरिरहेका बलिराजाले दान गरिरहेका भएकैले दानवीर भनी प्रख्यात भएका हुन्। तर विष्णु भगवान्ले वामन रूप लिएर तीन कदम दान मागेर एक पाइलाले स्वर्ग, दोस्रो पाइलाले मत्र्यलोक लिइसकेपछि अर्को पाइला कहाँ राखूँ भनी सोध्दा बलिराजाले आफ्नै शिर थापिदिँदा विष्णु भगवान्ले पाइला टेक्नेबित्तिकै बलिराजा पातालमा पुग्छन्। बलिको यस्तो दानशीलताले प्रभावित भएर विष्णु भगवान्ले पातालमा बलिराजाको द्वारपाल भई बसेको कुरा शास्त्रमा उल्लेख गरिएको छ। दानशीलका प्रतीकका रूपमा दानवीर भनी नाम चलेका बलिराजा चिरञ्जीवी भइरहेका हुन्।  

व्यास

पराशर ऋषिका पुत्र व्यास बुद्धि अनि सिर्जनशील शक्ति भएका भनी पुराणमा व्याख्या गरिएको छ। चारवेद र १८ पुराण लेखेका व्यासलाई वेदव्यास पनि भनिन्छ। विश्वमै चर्चित महाकाव्य महाभारत लेख्ने प्रकाण्ड विद्वान् ऋषि हुन् व्यास। व्यास आठ वर्ष भएकी मत्स्य कन्या सायवतीबाट जन्मेका हुन्। जन्मनेबित्तिकै हिँड्न सक्ने भनी शास्त्रमा बयान गरिएको छ। अत्यन्तै पराक्रमी र सद्बुद्धि भएकैले साथै झन्डापताकाजस्तै फहराइरहने भएकाले व्यासलाई धार्मिक क्षेत्रमा ध्वजापताकाका प्रतीकका रूपमा मान्दै आएको पाइन्छ।  

हनुमान्

पवनपुत्र हनुमान् रामका भक्त, पराक्रमी र सेवा भावले गर्दा प्रसिद्ध भएका हुन्। रामका भाइ लक्ष्मण मुर्छा पर्दा सञ्जीवनी बुटी भएको पहाड नै उठाएर ल्याई लक्ष्मणलाई बचाएको सन्दर्भ पनि स्मरण गर्न लायक छ। परिश्रमी र साहसी हनुमान्को भगवान् श्रीरामप्रति रहेको अखण्ड भक्ति र आदर्शमयी कार्यले गर्दा जबसम्म यो विश्वमा श्रीरामलाई सम्झेर भक्तजनहरूले भक्तिभाव गरिरहन्छन्, त्यति बेलासम्म चिरञ्जीवी भएर लोककल्याणको कार्य गरिरहनु भनी भगवान् रामको आदेशानुसार हनुमान् चिरञ्जीवी भइरहेका हुन्। हनुमान्को लोककल्याणकारी कार्य र धर्म स्थापना गरिराख्ने आदेशलाई लिएर नै हनुमान्लाई पूर्ण कलशको प्रतीकका रूपमा मान्दै आइरहेको छ।

विभीषण

दैत्य राजा रावणका भाइ भए तापनि रामका तर्फबाट युद्धमा भाग लिएका विभीषणलाई धर्म र सत्यको बाटोमा आएको भएर नैतिक मूल्य, मान्यता र आदर्शका प्रतीकका रूपमा लिइएको छ। खराब तत्वबाट अर्थात् राक्षसी प्रवृत्तिबाट सतर्क भएर असल तत्व अर्थात् सत्यको साथ दिने भएर विभीषणलाई धर्म सेवा भावको प्रतीकका रूपमा लिइएको छ।  

कृपाचार्य

कौरवहरूका कुलगुरु भएर पनि महाभारत युद्धमा पक्षपात नगरी निष्पक्ष भएर बसेका हुन् कृपाचार्य। मत्स्य युगको भ्रममा परेका विश्वमा सबैभन्दा ठूलो र सानो आखिर एउटै हो भनी ज्ञान दिन सक्ने कृपाचार्यले ठूला र सानाका बीचमा समन्वय र सन्तुलन गर्नु नै सृष्टि, स्थिति र संहारको दर्शन ज्ञान दिएकाले कृपाचार्यलाई यही दर्शनको स्वरूपका रूपमा लिइएको छ।  

परशुराम

हातमा परशु अर्थात् बन्चरो लिइरहने भएकाले नै परशुराम नाम हुन गएको हो। उनलाई परशु महादेवले दिनुभएको कुरा पुराणमा उल्लेख गरिएको छ। पुराणका अनुसार परशुराम भगवान् विष्णुका १० औं अवतारमध्ये एक हुन्। भृगु वंशमा जन्मेका परशुरामका पिता जगदग्नि ऋषि र माता रेणुका हुन्। ब्राह्मणका पुत्र भएर पनि परशुराम क्षेत्रीय गुण भएका हुन्। परशुरामले शुक्राचार्य, वृहस्पति, ब्रह्मा, महादेवसँग धनुर्विद्या लिइरहेका थिए। मातापिताका अत्यन्तै भक्ति गर्ने परशुरामका बारे पुराणमा विभिन्न चर्चा गरिएको देखिन्छ। खास गरेर त्यस समयका कुशासकहरूलाई नास गर्ने कार्यमा परशुरामले विशेष किसिमको भूमिका निभाएका छन्। यस अर्थमा परशुरामलाई संघर्षशील, क्रान्तिकारी र न्यायप्रमी पनि भन्न सकिन्छ। लोककल्याणका लागि सत्तासिन भैरहेका शासकसँग युद्ध गरेर प्रख्याती कमाएका परशुरामलाई उच्च सम्मानका साथ ध्वजा र छत्रको प्रतीकका रूपमा मान्ने गरिन्छ।  

मार्कण्डेय

मार्कण्डेय ११ वर्षीय बालचिरञ्जीवीको नाम हो। यस्तो कलिलो उमेरमा नै सम्पूर्ण शास्त्रका ज्ञाता भएका बालयोगी तपस्वीको तपस्याबाट प्रभावित भएर भगवान् विष्णुले ‘वर माग’ भन्दा मलाई वरमा रुचि छैन, बरु हजुरकै मोहलीला एक पटक हेर्न पाए हुन्थ्यो भनी बिन्ती गर्दा भगवान् विष्णुले मोहलीला देखाइदिनुभयो। तर बीचमा मार्कण्डेयले शंका गरेकाले मोहलीला हेरी सकेपछि आखिरमा अहम्भावले वा सानो गल्तीले तपस्यामा ठूलो बाधा आउन सक्छ भन्ने ठानेर पूर्ण रूपले समर्पित भएपछि विष्णुका सच्चाभक्त भएर चिरञ्जीवी हुन पाएका हुन्। मार्कण्डेयको तपस्याका प्रभावबाट प्राप्त भएको दिव्य सन्देशलाई लोककल्याणमा प्रयोग गरिदिएकाले मार्कण्डेयलाई शंखको प्रतीकका रूपमा मान्ने गरिएको हो।  

यी अष्टचिरञ्जीवीहरूले लोककल्याणका निम्ति विभिन्न कार्य गरिरहेका छन् भनी विश्वास गरिएको छ। यिनीहरूलाई हामीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देख्न नसके पनि विभिन्न समयमा कहिलेकाहीं यिनीहरू देखिने गरेका र यिनीहरूको अस्तित्व रहेको कुरा पनि सुनिन्छ। तर, यसको प्रत्यक्ष प्रमाण भने भेटाउन सकिएको छैन। 

प्रकाशित: १० मंसिर २०७९ ०३:१५ शनिबार

अक्षर