वल्लोपल्लो कोठामा जाँदै नाति, नातिनी र बुहारीलाई केहीकेही अह्राउपह्राउ गर्नुहुन्छ आमा। कहिलेकाहीं दुइटा सिँढी उक्लिएर छतमा गई पछिल्तिर जोडिएकै घरका छिमेकीसँग कुराकानी गर्नुहुन्छ। माइलो भाइका घरतिर बुहारी वा नातिनातिनीहरू देख्नुभएमा उनीहरूसँग पनि कुरा गर्नुहुन्छ। अलि घाम लागेपछि आँगनमा गएर छेउका बिरुवा मुसार्नुहुन्छ। आँगनमा कोही भेटिए भने तीसँग पनि ‘के गर्छौ ? कहाँ जान लागेका...?’ भन्दै केही बेर बोल्नुहुन्छ। कम्पाउन्डबाहिरको पसलसम्म पुगेर केही छिन चिनेका मानिससँग पनि छोटो कुराकानी गरेर फर्किनुहुन्छ। ‘कुँजिएर कति कोठैमा मात्र बस्नु, सक्दा एकदुई पाइला यसो हिँडेकी नि...,’ बैठक कोठामा आएपछि आमा भन्नुहुन्छ। आँखाको दृष्टि अलि कमजोर छ। लौराको साथ चाहिन्छ कतै हिँड्न आमालाई।
आमाको स्वास्थ्य स्थिति सामान्यतः ठिकै छ। उमेरजन्य कमजोरी हुनु स्वाभाविकै होला भन्ने लाग्छ। चिसो मौसममा कहिलेकाँही रुघाखोकी लाग्छ। भित्री रोग त्यति छैन। आमा अहिले ८९ वर्षमा हिँड्दै हुनुहुन्छ। कसैले सोध्दा ‘भुइँचालो माघमा गयो अरे, आउँदो वैशाख लाग्दै कि अरे म ता’ भन्नुहुन्छ। घरछेउको साँघुरो करेसाबारीमा रोपेका केही बोट मकै भाँचेपछि मिल्किएका खोसेला (खोस्टा) आमाले देख्नुभयो भने तिनलाई टिपेर ल्याई सुकाएर पिर्का बुन्नुहुन्छ। ‘उहिलेउहिले कति बुनियो, बुनियो। आफूले बालखैदेखि जानेकी, घरमा सधैं बुनेकी, आफ्नो त्यस्तै सिप छ र पो बुनेकी त’ भन्नुहुन्छ। आमाले त्यसरी बुनेका खोसेलाका पिर्का आफन्त वा नातागोताका मानिस कोही आएका बेला ‘मेरो चिनु’ भनेर उपहारस्वरूप दिनुहुन्छ। घरमा त उहाँले बुनेका पिर्का निकै छन्। १०/१२ वर्ष पहिलेसम्म त तान हालेर परालका गुन्द्री पनि बुन्नुहुन्थ्यो। अहिले बुन्न छोड्नुभएको छ। आमाका कुरा सुन्दा मन गाउँमा पुगिसक्छ मेरो पनि।
गाउँघरमा सधैं बाहिर वा अलि पर गएर गर्ने खेतीपाती, घाँसदाउरालगायतका कामहरू त गर्नुपथ्र्यो नै। फुर्सदका बेला हात खाली नराखी सधैंजसो केही न केही अतिरिक्त सिपका काम गर्न ग्रामीण नारीहरू सधैं अग्रसर हुने समय थियो। गाउँमा पिर्का, गजरा, गुन्द्री, बाबियोको डोरी आदिको प्रयोगमा निकै कमी आउन थालेको पाइन्छ। आमाहरूको समयका त्यस्ता मौलिक सिपका ठाउँमा औद्योगिक रूपमा निर्मित प्लास्टिकका गुन्द्री वा म्याट गाउँमा भित्रिइसकेका छन्। गुन्द्री, पिर्काको सट्टा व्यापारिक उत्पादन र सुविधाका वस्तुहरू हाम्रा गाउँका दलान, ओछ्यान र आँगनका डिलमा ओछ्याइन थालेका छन्। अन्यत्र पनि त्यस्तै होला। ‘कसले दुःख गरिरहन्छ हात दुखाई दुखाई...’ भन्न थालेका छन् गाउँका बुहारीहरू।
आमाहरूले हात दुखाई दुखाई आर्जेका ती सिपहरूलाई फुर्सदका बेला गाउँका बुहारीहरूले निरन्तरता दिने हो भने कमसेकम घरायसी हस्तकलाको हाम्रो सुन्दर परम्पराले निरन्तरता पाउँथ्यो होला नि ! सहरमा बस्ने गरेका बुहारीहरूले त्यसलाई निरन्तरता दिन सक्ने कुरा भएन। समय आमाहरूको हातबाट चिप्लिइसकेको छ।
म बिहान बेलुका प्रायः आमाकै निकटमा हुन्छु। आमाको रुचिको अर्को काम हो, रेडियो सुन्नु। रेडियो आमाका साथमा रहिरहने साथी हो। बिहान चिया खाने बेला आमा रेडियो सुन्नुहुन्छ। ‘तँ पनि सुन्। हेर्, फटाफट नबिराई नबिसाई कसरी बोल्दै छ। त्यसरी टिभीले कहाँ भन्छ र ? कस्ता मिठा कुरा गर्छ रेडियोले...,’ भन्नुहुन्छ। चिया खाँदै म पनि रेडियो सुन्छु केहीबेर। आमा दिउँसो पनि सुन्नुहुन्छ। रेडियो बजेन भने चार्जमा राखिदे भन्नुहुन्छ र आफै झिकेर बजाउनुहुन्छ। कुनै घतलाग्दो समाचार सुन्नुभयो भने सबैलाई सुनाउनुहुन्छ। कुनै दुर्घटनामा मानिसहरू परेको सुन्नुभयो भने ‘ए, कहाँकहाँका मान्छे, कसका छोराछोरी, के सुन्नुप¥यो,’ भन्नुहुन्छ। लोकगीत सुनेर रमाउनुहुन्छ। पुराना लोकगीतहरू आमालाई बढी मनपर्छ।
२०३६/३७ सालतिर मैले घरमा रेडियो लगेको थिएँ। बिहानबेलुका बजाइन्थ्यो। आमालाई त्यस बेलादेखि रेडियो सुन्ने बानी लागेको हो। रेडियाहरू फेरिँदै गए। आमा काठमाडौं आएपछि पनि रेडियो छुटेको छैन।
रेडियो बजाउन मन नलागेका बेला दिउँसो वा साँझतिर आमा आफूले उहिले उहिले गाउँबेसी, मेलापात र पानीपँधेरो गर्दा गाउने गरेका लोकगीतका अंशहरू सम्झेर गाउनुहुन्छ। त्यस्ता गीतमा छोरी, बुहारीहरूका कथाव्यथा एवम् सामाजिक मर्म त हुने नै भए। आमाले गाउने गरेका कतिपय गीतका पंक्ति नेपालको ऐतिहासिक कालखण्डलाई सम्झाउने खालका पनि छन्। २००७ सालको जनक्रान्तिले नेपाली लोकजीवनलाई राम्ररी छोएको रहेछ भन्ने कुरालाई आमाले प्रायः दोहोर्याएर गाइरहने लोकगीतको यस फाँकीले स्मरण गराएको छ ः
‘हात्ती नै आयो लमक लमक घोडीले हान्यो फाल
कांग्रेसै आयो बन्दुकै बोकी वैरीले मार्यो चाल।’
आमाले गाउने गरेको यस गीतको दोस्रो पंक्तिले जनक्रान्तिताका राज्यपक्ष र क्रान्तिपक्षबीच रहेको द्वन्द्वको स्थितिबारे मनन गर्न सघाउ पु¥याउँछ।
चेलीले बुहारीका रूपमा घरमा गएर भोग्नुपरेका व्यथा, पिरहरूलाई स्मरण गरेर उहिलेउहिले घाँसदाउरा गर्दा कथ्दै गाउँदै गरेका गीतहरू बढी गाउनुहुन्छ आमा। माइतमा छँदा छोरीचेलीलाई बाबुआमाको मायाममता अनि दाजुभाइको स्नेह र आत्मीयता प्राप्त भइरहन्छ। पतिका घरमा गएपछि त्यसबाट उनी वञ्चित हुन्छिन्। घरको कामधन्दा र व्यवहार गरिरहँदा पनि उनले जस पाउँदिनन्, बरु गाली र हेलाँहोचो, उपेक्षा आदिको नमिठो अनुभूति बुहारीका हैसियतमा रहेकी छोरीचेलीले गरिरहनुपर्छ। अनि लोकगीतका यस्ता पंक्तिहरू मुटुभित्रबाट जन्मिन्छन्। दाउराघाँस गर्दा उहिले आफूले गाएको गीत आमा सम्झिँदै सम्झिँदै वल्लोपल्लो कोठा गर्दा गाउनुहुन्छ:
‘लेकै र बाट गाई भैंसी झरे खै मेरो गाजु गाई
पहरो फोरी जन्मेकी होइन, छन् मेरा दाजु भाइ।’
गाउँघरमा एकै घरपरिवारका दिदीबहिनीहरू विवाहपछि घर (पति घर) गएपछि हत्तपत्त उनीहरूको भेट हुन सक्दैनथ्यो। यातायात, सञ्चार आदिका हिसाबले अन्धकारमय रहेको विगत समय विवाहित दिदीबहिनी भेट भएर सुखदुःखका कुरा बाँड्न वर्षौं कुर्नुपथ्र्यो। हाम्रै दिदीपुस्ताले पनि यस्तै अवस्थामा लामो समय गुज्रनुप¥यो भने झन् पहिलेको आमापुस्ता बुहारीका रूपमा घरमा गएपछि त झन् त्यस्तो भेटघाट हुनु भनेको अपवाद मात्र हुन्थ्यो होला। झन्झन् पहिलेका जिजुआमापुस्ताका चेलीबेटीहरू त घर गएपछि आपसमा पुनः भेटघाट गर्न नै पाउँदैनथे होला। आमा स्वयम्ले नै अनुभव गर्नुभएको गीत पनि त हो यो, गुन्गुनाउनुहुन्छ:
‘हिमालै चुली त्यै पल्लापट्टि खेत हुन्छ हुँदैन
एक डाँडा दिदी एक डाँडा बैनी भेट हुन्छ हुँदैन।’
हजुरआमा र अझ पहिलेका पुस्ताका चेलीहरूले यस्ता गीत रचे होलान् वा आमाकै समकालीनहरूले त्यस्ता गीतहरू कथेका हुन सक्छन्। आमा अरू कैयौं लोकगीत सम्झनुहुन्छ:
‘राजैले खाने मसिना चामल रैतीले बगडा
जेठी र कान्छी सबैका हुन्छन् नगर झगडा।’
यस गीतमा बहुविवाहको चलन सामान्य रहेको त्यस समयमा घरमा सौताहरू बाझाबाझ वा झगडा गर्दा तिनीहरूलाई सम्झाउने आशय रहेको बुझ्न सकिन्छ।
आमाले प्रायः गाइरहने गरेका लोकगीतका यी केही नमुना पंक्तिहरू हुन्। उहाँले गाउने अरू कैयौं गीतहरू छन्। आमा कहिलेकाहीं श्लोक पनि भन्नुहुन्छ।
मध्यम वर्गीय किसान परिवारकी कान्छी बुहारीका रूपमा ६ वर्षकै उमेरमा पिताजी तुलसीराम धमलाका साथ विवाह भएर भित्रिनुभएकी आमा गोमादेवी धमलाले कति दुःखकष्ट सहेर संयुक्त परिवारको बुहार्तन खप्नुभयो होला, त्यसको अनुमान सजिलै गर्न सकिँदैन। जीवनक्रममा हामी छोराछोरीको लालनपालनसहित घरको काम गर्दाका हन्डर र सास्तीको पनि कल्पना मात्र गर्न सकिन्छ। खेतालासँग मेलापात गर्दा उमेरमा आफूले गाउनुभएका गीतहरूको सम्झनाले आमालाई आफूले चहारेका उतैतिरका खेतबारीमा पुर्याइरहेको म अनुमान गर्छु, जहाँ अरूसँग आमा स्वरमा स्वर मिलाएर काम गर्दाको थकाइ बिर्सनुहुन्थ्यो होला। ७०/७५ वर्ष पहिलेदेखि उहाँले गाउने गरेका गीत अझै कैयौं सम्झिरहनुभएको छ आमाले। कतिपय गीतहरू त आफै कथेर पनि गाउनुहुन्थ्यो होला आमा उस बेला। लोकगीत र तिनका भाकाहरूको जन्म गाउँकै मेलापात र उकालीओरालीमा हुने त हो।
अपवादबाहेक वनपाखा, मेलापात, उकालीओराली र भन्ज्याङमा अब त्यहींको माटोको सुगन्ध र आँसुहाँसो मिसिएर, निचोरिएर निस्कने लोकभाकाहरू प्रायः ‘एकादेशको कथा’ भइसकेका छन्। समयको हुन्डरीमा अधिकांश ती भाकाहरू विलयन भइसकेका छन्। अब मात्र स्रष्टाका पुस्तकहरूमा लिखितरूपमा केही सञ्चित भएका होलान्। कतिपय आमाहरूका आआफ्ना स्मृतिका सबभन्दा पुराना पत्रमा केही बाँकी रहेका पनि होलान्। नेपाली ढुकढुकी सुसाउने र सुसेल्ने मौलिक भाकाबिना पहाडी जनजीवनका मेलापातहरू कति रुक्खा भएका होलान् ? के स्टुडियोहरूमा रेकर्ड गर्दै युट्युबहरूमा अपलोड गरिएका गीत संगीतले आमाले सम्झनुभएका गीतहरूले जगाउने मौलिकताको तिर्खा मेटाउन सक्लान् र ?
घरमा बसेको समय दिउँसो कुनै विशेष कार्यक्रम भएको बेलाबाहेक म टिभी खोल्दिनँ। तर आमाले ‘बसेका बेला त टिभी खोल् न’ भन्नुभयो भने चाहिँ खोल्छु। आमालाई जुनसुकै नेपाली च्यानल लगाए पनि हुन्छ तर लोकगीत, दोहोरीहरू बढी मनपर्छ।
साँझमा म टिभीमा समाचार हेर्न बस्छु। आमा पनि केही बेर हेर्नुहुन्छ। उहाँ टिभीका समाचारलाई कमेन्ट गर्दै ‘हिजोअस्ति पनि उनै मान्छे, उनै नेता हुन् कि को हुन्, आज पनि उनै आएर उही कुरो भट्याउँछन्, के हेर्नु...’ भन्नुहुन्छ। हामी हाँस्छौं। धार्मिक कार्यक्रमका च्यानल हेर्दा भने आमा केही भन्नुहुन्न। कहिलेकाहीं धार्मिक च्यानलमा राधाकृष्ण सम्बन्धी भजन सुन्नुभएको छ भने आमा गुन्गुनाउँदै गरेको सुन्छु ः
‘आज मेरो गाई हेर्ने पालो
राधिकालाई पठाइदेउ गोठालो।’
आमाका प्रारम्भिक सक्रियताका दिनहरूलाई वर्तमानको आँगनमा बसेर अनुमान गर्न सकिन्छ। उसबेला मनोरञ्जनका माध्यमहरू भनेका तिनै लोकभाकाहरू थिए। अन्य सञ्चार माध्यमहरू कल्पना बाहिरै थिए। सहर (काठमाडौं) मै पनि सर्वसाधारणका लागि भने २००७ सालपछि मात्र रेडियो ‘खुला’ भएको हो। हामीले थाहा पाउँदा पनि रेडियो बजाउनु ‘ठूलाबडा’ को सोखको कुरा हुन्थ्यो। अझ गाउँघरका सामान्य परिवारका छोरीबुहारीहरूले रेडियो सुन्नु भनेको अपजस पाउनु मात्र हुन्थ्यो। त्यस्तै देखिएको पनि हो। अनि आमा र आमाहरूले मनको बह पोख्न, आफ्ना सुस्केराहरूलाई आफैले सान्त्वना दिएर ‘कर्मघर’ को व्यवहार धान्न लोकगीत गाउनुको अर्काे विकल्पै थिएन। गीत गाउँदा पनि अन्य मान्यजनले थाहा नपाउने गरी मात्र गाउन पाइन्थ्यो होला।
सामाजिक परिवेशले निर्माण गरेको बन्द संस्कारको लक्ष्मणरेखा नाघेर मेलापात गर्दा नै भए पनि लोकगीतका भाका हाल्ने साहस बटुल्न आमा पुस्तालाई कति सकस प¥यो होला ! त्यस परिवेशमा निर्मित नेपाली नारीका अन्तद्र्वन्द्वका कथाहरू समयले बिनामूल्य, बिनाअभिलेख आफ्नो गर्तमा विलीन गरायो। कति नै अभिलिखित गरिएको छ र त्यो युगलाई ! तिनको केही महŒवबोध गराएर सत्यमोहन जोशी र धर्मराज थापाहरू गए। कतिपय सांगीतिक अग्रजहरूले आफ्ना स्वरहरूमा तिनलाई सञ्चयन गरेका होलान्। अरू कोहीकोही पनि लागिपरेका होलान्। तर तितो यथार्थ, समयले इतिहासका लोक सामाजिक सुस्केराहरूको जाग्रत निश्वासलाई धमिलो बनाइसकेको छ। त्यो समय फेरि फर्किएर रनवन गुन्जिन कहाँ सम्भव छ र ? आमाले गाउने गरेका एकादुई टुक्राहरू उहाँको पुस्ताले गाउने गरेका लोकगीतका अन्तिम संस्मरण हुन सक्छन्।
म कामना गर्छु– आमा र आमाहरूका स्मृतिबाट यस्ता लोकभाकाहरू विस्मृत नबनून्।
प्रकाशित: १० मंसिर २०७९ ०२:५६ शनिबार