७ वैशाख २०८१ शुक्रबार
कला

क्षणिक सामीप्य

कथा

ओहो! के भएको यस्तो? खाली पाना पायो कि भरिहाल्न मन लाग्ने, अनि किबोर्ड देख्यो कि हात सग्मगाइहाल्ने। के मेरो जीवन मसी, पाना अनि किबोर्डमै सीमित रहने भो त? आफैलाई प्रश्न गर्छु। कुनै खुसी देख्यो उतारिहाल्न मन लाग्ने। दुःख वा कुनै घटना देख्यो कि उतारिहाल्न मन लाग्ने। यसरी देखिएका धेरै घटना, भोगाइ अनि अनुभव मन र दिमागले आफ्नो मेमोरीमा राखिहाल्छ। अनि त के चाहियो? आफ्नो अनुभूति जबसम्म पाना र किबोर्डमा रूपान्तरण हुँदैन, तबसम्म छटपट भइरहने। मेरो यही पारा देखेर होला, अस्ति मात्र मेरा श्रीमान्ले पनि भन्नुभयो कि तिम्रा लागि सुख-दुःख, माया-प्रेम सबै कथा हो। त्यसैमा रमाऊ। अरू त किन चाहियो र?

श्रीमान्को यो भनाइपछि मेरो मन आजसम्म सङ्लिन सकेको छैन। हो, मैले समाजमा भएका देखेका कुरा, जसले समाजलाई नराम्रोतर्फ धकेलिरहेको हुन्छ, त्यसबारे लेखिहाल्ने गरेकी छु ताकि त्यस्ता गतिविधिबारे सबै सतर्क होऊन् र नकारात्मक गतिविधिमा पूर्णविराम लागोस्। कसैले मलाई रुँदै सुनाएका पीडा, आफैले प्रत्यक्ष नियालेका कसैका दुर्दशा अनि कसैले आफ्नो चरम स्वार्थका लागि अरूमाथि गरेको शोषण नै मेरो लेखनका विषयवस्तु हुने गरेका छन्। छरिएका ती शब्द १-१ गरेर बटुल्छु अनि वाक्यरूपी मालामा उन्न मन लागिहाल्छ। त्यसैले यसो गर्नु मेरो दिनचर्या नै बनेको छ। म के गरूँ? लगाव जो मेरो यसैमा बस्यो।

भर्खर श्रीमान्ले भन्नुभएको ‘तिम्रा सुखदुःख सबै अक्षर रहेछन्’ भन्ने वाक्य मनमा गुन्जिरह्यो, एउटा बन्दुकको गोली लागेजस्तै, जसले न मार्छ न त सहजै जिउन नै दिन्छ। एकप्रकारले मरणान्त पारेजस्तो ! कस्तो पेचिलो शब्द।

आज दिउँसो अफिस जान पनि मन लागेन अनि बाहिर बगैंचामा गएँ। बगैंचाको दृश्य साँच्चै नै रमणीय थियो। भर्खरै तिहार सकिएको स्निग्ध मौसम। गोदावरी, सयपत्री, मखमली ढकमक्क फुलेर वातावरण नै मुग्ध थियो। म त्यहीं घाम तापेर बसिरहेकी थिएँ। यत्तिकैमा छिमेकी दिदी आइन्। केही बेरको कुराकानीपछि रुन थालिन् दिदी।

‘किन रुनुभएको दिदी? के भयो भन्नूस् न।’

‘बैनी, श्रीमान्को चर्तिकला देखेर मलाई कसरी बाँच्नुजस्तो भएको छ। कसरी भनूँ? कसलाई पोखूँ? सुन्ने मान्छेलाई पनि पत्याउनै गाह्रो। ६० वर्ष पुग्नुभयो तिम्रा भिनाजु तर पनि यो उमेरमा बाहिर आँखा घुमाउने, बाहिरी संसारमै रमाउने। त्यति मात्र हो र? लुगा पनि रंगीचंगी झिल्केमिल्के लगाउने।’

म सुनिरहें। उनले थपिरहिन्-‘मैले त ठिकै छ, उहाँको इच्छा हो भनेर चित्त बुझाएकी थिएँ। अस्ति मोबाइलमा आएको म्यासेज हेर्दा पो अचम्म परें। मसँग त राम्रोसित नबोलेको पनि वर्षौं भैसकेको थियो। मलाई देख्यो कि चौबीसै घण्टा ठुस्स परेर, मुख फुलाएर बस्ने। ढुङ्गो बोल्ला, मुख नबोल्ने। कुनै कुरा सोधे पनि जवाफ ‘हुन्छ’ वा ‘हुन्न’ मात्र अनि मोटो स्वरमा के भो भन्ने, त्यो पनि निकै बेरपछि। अनि केही कुरा गर्न फोन गर्‍यो भने पनि राख्नै हतार।’

उनको दुःखेसो रोकिएन-‘बाहिर कतै गयो भने त तिम्रा भिनाजुसँग हप्तौं कुरै हुँदैन। साँच्ची म्यासेजको कुरा गर्दै थिएँ। जब मैले तिम्रा भिनाजुको मोबाइलको म्यासेज हेरें। त्यहाँ त ‘कान्छु! गुड मर्निङ! सन्चै हुनुहुन्छ? उठ्नुभयो?’ लेखिएको थियो। तिम्रा भिनाजुको मोबाइलबाट म्यासेज ओहोरदोहोर भैरहेको थियो। मचाहिँ उसको चार्जमा भएको एप्पल वाचबाट सबै पढिरहेकी थिएँ। सवाल-जवाफ जति जति अघि बढिरहेको थियो, मेरो मुुटुको धड्कन पनि त्यति त्यति नै बढिरहेको थियो। ब्लड प्रेसर बढेर मुख रातो भइरहेको थियो। सबै म्यासेज पढ्न थालें। ‘गुड नाइट..., गुड मर्निङ..., उठ्नुभो..., सुत्नुभयो..., कान्छु हजुर..., हस्..., काठमाडौंबाट बाहिर गएको छैन...।’ अनि छिनछिनमा रिपोर्टिङसमेत भइरहेको थियो- ‘कता पुग्यौ?’, ‘मुग्लिन पुगें, नारानघाट पुगें...। रुघा लागेछ...। सुप खाऊ...।’

‘बहिनी मैले त तिम्रा भिनाजु सोझा छन्, केही बोल्नै जान्दैनन्, घरव्यवहारका कुरामा पनि अलि रिजर्भ खालका छन् भन्ठान्या’थें तर जति म्यासेज पढ्यो उति उति छक्क। आफ्नो श्रीमान् के त्यही मानिस हो त? के ऊ त्यति हल्का छ? के केटी भनेपछि ऊ त्यति लिप्त छ? भन्ने धेरै प्रश्न मनभरि उब्जिरह्यो। धेरैचोटि मैले आफ्नो मन सम्हाल्न खोजेँ तर जवाफै पाइनँ।

बेकारमा नचाहिने चिन्ता लिने भनेर आफैलाई धिक्कार्न खोजें। त्यति मात्र हो र? अब कहिल्यै उसको फोनमा कसले कस्तो म्यासेज पठायो वा उसले के जवाफ दियो भनेर हेर्दिनँ। यो बुढेसकालमा पनि कसैको पछि पछि किन लाग्नु? लाग्दिन भनेर यो मनलाई धेरै सम्हाल्न खोजें। तर बाथरुममा समेत चुप लाग्ने हैन। अरू कसैसँग कुरा गरेको पनि त हुन सक्छ भनेर मन बुझाउन खोज्छु तर पनि मन न हो, मान्दै मान्दैन।

अनि यसो एप्पलवाचको कल लिस्ट हेर्छु, सवा ४ बजे बिहानसमेत कुरा भएको देखाउँछ। मनलाई सम्हालें एएम हैन, पिएम होला भनेर। फेरि हेर्छु एएम नै छ। घरीघरी उसको मुख हेर्छु, जुन बेला पनि गम्म परेको। नाकमा एउटा झिङ्गा पनि बस्न नदिने। उमेर हेर्छु साठीको। अरूलाई दिएको सल्लाह सुन्छु-एकदमै व्यावहारिक र परिपक्व। आफूले अनुभव गरेको व्यवहार सम्झन्छु, बुढो भैसकेर मर्ने दिन पर्खेर बसेको बेला पनि यस्तो उत्ताउलो, उफ्!’

लामो सास फेरिन् र आफ्नो दुःखेसोको पोको झनै फुकाइन्-‘बैनी अब तपाईं नै भन्नू, यस्तो अवस्थामा मन कसरी सम्हालूँ? अब मेरो उमेर यस्ता कुरामा लाग्ने होइन, कसैको पछि पनि लाग्ने होइन। बेकारमा चिन्ताले गर्दा बिरामी भइन्छ भन्ठान्छु र आफ्नो ध्यान अन्यत्र मोड्ने प्रयास गर्छु तर त्यो एप्पल वाचको कल र म्यासेजले मेरो प्रयास सधैं असफल तुल्याइदिन्छन्। मलाई साह्रै गाह्रो भैसक्यो बैनी। जुन शङ्काले मेरो विचार अनि मेरो मनमा बीजारोपण गर्‍यो, त्यसले मलाई पागलपनतिर धकेल्ने हो कि भन्ने पिर पो लाग्न थाल्यो।

बैनी उमेर खस्कँदै गैरहेको छ। म पनि पचास कटें। मेरो जिम्मेवारी पनि धेरै छ, के गर्नेहोला लौ न? मैले आफूलाई सम्हाल्नै सकिनँ। मुख्य कुरा त म मेरा श्रीमान्लाई त्यो कुरा थाहा नपाउँदासम्म एकदमै सम्मान गर्थें तर अब त उनको बानी व्यवहार, लवाइ खुवाइ सबैमा शङ्का लाग्न थाल्यो। खाएर आए पनि नखाई आए पनि ऊ अरूसँगै पेट भरेर आयो होला भन्ठान्छु अचेल त, जबकि पहिला पहिला बिहान ढिलोसम्म सुते पनि यसो केही समय हिँडे त स्वास्थ्य राम्रो हुन्थ्यो नि भन्थेँ। बिहान अलिअलि दौडनु, यसो ताजा खाना खाएर आउनु भन्थें। बिहानभरि टिभी अनि मोबाइल के चलाइरहनु भन्ने लाग्थ्यो। त्यसपछि बिहान ताजा खाना खाने बानी नै लाग्यो। मर्निङ वाक पनि ढिलो हो र? चार बजेदेखि नै गर्ने।

बिस्तारै समयसँगै उनको स्वभाव फेरिन्छ कि भन्ने सोचेँ तर फेरिएन।

उसै त बढ्दो चिसो, त्यसमाथि समय बढी भयो भनेर घटाउन सुझाएँ। बरु ७ बजे जानू, आएर नुहाउनू अनि खाना खाएर अफिस जानू भनें। त्यसपछि त के चाहियो र? भन्न थाले-मलाई धेरै नियन्त्रण गरेको मन पर्दैन। अब त सास पनि सोधेर फेर्नुपर्ने भो तिमीसँग। म आफ्नै सोचमा चल्छु। यसरी कराइरहेको मन पर्दैन मलाई।’

‘प्लिज बैनी मलाई यस्तो उपाय बताइदेऊ कि सर्प पनि मरोस्, लट्ठी पनि नभाँचियोस्। कसरी यो समस्याबाट मुक्त हुन सक्छु?’ यसो भन्दै गर्दा पनि उनको बोली रोकिएको थिएन-‘बैनी, शङ्कै शङ्कामा म पागल हुन लागिसकेँ। त्यसको बिउ मरो मनमा निमको रुखजस्तै तितो बनेर फैलिइरहेको छ। राति निन्द्रा पुग्दैन, बिहान चार बजे नै श्रीमान् मर्निङवाक जान्छन्। त्यसपछि फेरि छट्पटी हुन थाल्छ। उनको फोनमा प्रत्येक पटक बज्ने घन्टीसँगै मुटुको धड्कन बढ्छ।’

उनको दृढतामा पनि कमी थिएन। भन्दै थिइन्-‘बैनी, म त्यति धेरै कमजोर पनि छैन। एक्लै बाँच्न जिउन पनि सक्छु। खालि समाजले के भन्ला, म यो उमेरमा छुट्टै बस्दा श्रीमान्ले बुढेसकालमा दुःख पाउलान् कि भनेर मात्र हो। छुट्टै बस्न मन छैन, मिलेर बस्ने उपाय देखेकी छैन। लौ न के गर्ने होला? मन भने निकै आत्तिइसकेको छ।’

म बिलखबन्दमा परें। बाहिरबाट हेर्दा यी छिमेकी दिदीको घरपरिवार सम्पन्न लाग्थ्यो। परिवार सुखी खुसी नै देखिन्थ्यो। हुन पनि नोकरचाकर, गाडी, बारी-बगैंचासहितको काठमाडौंको घर अनि छोराहरू विदेशमा। लाग्थ्यो-क्या भाग्यमानी परिवार। सबै सुखी छन्। खुसी छन्। सबै नेपालीको अवस्था यस्तै भए...।

तर संसार बाहिरबाट देखेजस्तो मात्र कहाँ हुन्छ र ? उनको यस्तो अवस्था देख्दा मन निकै रोयो। केहीबेरको मौनतापछि उनलाई सान्त्वना दिँदै भनें-‘दिदी पिर नलिनूस्, यो तपाईंले गरेको गल्ती होइन। कोही कोही केटा मान्छे बुढेसकालमा पनि यस्तो गल्ती गर्छन्। अनि धोका पाएपछि सुध्रन्छन् पनि। तपाईं आफू कसरी खुसी हुने भनेर सोच्नूस्। आफूलाई मनपर्ने क्रियाकलाप गर्नूस्। साथीहरू बनाउनूस्। उनीहरूसँग कुराकानीमा संलग्न हुनूस्। आफ्नो स्वास्थ्यको हेरविचार गर्नूस्। जीवनमा अरूलाई धेरै गर्नुभयो अब आफ्नै लागि बाँच्नूस्। बरु जीवनको भोगाइ-अनुभव लेख्न थाल्नूस्। यसरी लेख्दै जानुभयो भने जीवनको महत्त्व थाहा पाउनुहुनेछ।

अनि यसरी अर्काले दिएको पीडाप्रति धेरै दुःख पनि लाग्दैन।’

एउटा घटना पनि सुनाएँ उनलाई-‘सेन्टमेरिजमा म सँगसँगै पढेको साथी उच्च शिक्षा हासिल गरेर राम्रै संस्थाको लिडरसिप लिएर अघि बढेकी छ। उनका श्रीमान् व्यापार गर्छन्। छोराछोरी विदेशमा उच्च शिक्षा हासिल गरिरहेका छन्। एक दिन मेरो घरमा आएका बेला भनेकी थिई-श्रीमान् अर्कै केटीसँग लागेकाले निकै तनाव छ। मैले पनि उसलाई सम्झाएको थिएँ-उसैसँग मन नमिलेपछि घरमा सँगै बस्नु उचित हुँदैन। न तिमीले ऊसँग आँखा जुदाउन सक्छ्यौ, न त खुसी नै भएर बस्न सक्छ्यौ। त्यसो भयो भने घरमा अशान्ति पनि हुन्छ अनि बिरामी पनि भइन्छ। बरु बेग्ला बेग्लै बाटो तताऊ।’

त्यसपछि श्रीमान् र श्रीमती छुट्टै बस्न थाले। श्रीमान् यही भर्खरकी केटीसँगै बस्न थाले। यसरी छुट्टै बस्न थालेको करिब डेढ महिनापछि उनका श्रीमान् बिरामी भई अस्पतालमा भर्ना भएछन्। कुर्ने मानिससमेत कोही नभएको खबर आएछ।

त्यसपछि उनले सबै कुरा बाहिरबाटै बुझिछिन्-त्यो केटी श्रीमान्को पैसाका लागि मात्र पछि लागेकी रहिछ। जब धुत्नुपर्ने जति धुतिसकेपछि छाडिदिइछ। हरिकङ्गाल भइसकेपछि श्रीमान्ले मर्छु भनेर विषादी खाइदिएछ। धन्न घरबेटीले अस्पतालसम्म पुर्‍याइदिएछन्।

साथीको एक मनले भन्यो-यो कुकर्मी हो। यस्ताको जेसुकै होस्, मतलबै गर्दिनँ। अर्को मन भन्दै थियो- हैन, उसले मलाई जे गरे पनि ऊ मेरा छोराछोरीको बाउ त हो। मेरा बाआमाको ज्वाइँ त हो। त्यसैले तिमीले अप्ठ्यारो परेका बेला छाड्नु सही निर्णय हुँदैन। कदापि हुँदैन।

साथी दोधारमा परिछन्। महिला न परिन्, मन कमलो हुने नै भयो। दोस्रो मनले जितेछ। त्यसपछि गइछन् र अस्पतालबाट घर ल्याइछन्। उनलाई लाग्यो कि अब चेते होलान्।

बिग्रनु जति बिग्रिसकेपछि अब भने उनका श्रीमान् ठिक छन्।

यी दुवै सन्दर्भ उस्तै उस्तै हुन् तर हामीले यो समाजमा घटेका कुराहरूबाट शिक्षा लिनुपर्छ। यस्ता घटनाहरू नघटून् भनेर चेतना फैलाउनु पनि पर्छ। साथै क्षणिक सामीप्यले दिगो सम्बन्ध हुँदैन भन्ने कुरालाई सम्झनुपर्दछ। यसरी अरूको घरपरिवार बिगार्नेहरूले पनि एकपटक सोच्न आवश्यक छ।

मैले भनिरहें। उनले सुनिरहिन्। त्यत्तिकैमा मैले कुराको बिट मार्ने हिसाबले भनें-दिदी भोलि/पर्सि फेरि भेटौंला र अगाडि कसरी बढ्ने भन्नेबारे सल्लाह गरौंला। त्यतिन्जेल तपाईं पनि आफ्नो जीवनलाई महत्त्व दिएर अगाडि बढ्नूस्।

हस्, अहिले जान्छु नि त।

उनको अनुहार र हाउभाउ हेर्दा खुसी भएजस्तो लाग्यो।

दिदीलाई त फकाइफुलाई सकारात्मक सोच बनाई भविष्यको सपनाको पोको पठाएँ। जब उनी गइन् यता मेरो मन तरङ्गित हुन थाल्यो-यो समाजमा किन आर्थिक रूपले सम्पन्न भएर पनि मानिस खुसी हुन सक्दैन र विकृतिको चाङमा हाम फाल्न तयार हुन्छन्? किन जीवनभर सँगै बाँच्ने र मर्दा पनि सँगै मर्ने कसम खाएकामध्ये कोही दुलहाबाट र कोही दुलहीबाट पीडित हुन्छन्?

अनि आफ्नै मनले एकपटक भन्यो-हुन त समाजमा राम्रा पात्र र घटना पनि छन्, जसरी बगैंचामा काँडादेखि सुन्दर फूलसम्म झुलिरहेका हुन्छन्। अनि फेरि प्रश्नहरूको आगमन हुन थाल्यो दिमागमा– यो ५० भन्ने अङ्क कस्तो हो जुन कटेपछि केटा मान्छेहरू बरालिन थाल्छन्? जसले गर्दा घरपरिवारले नै दुःख पाउँछन्। कोही त्यसबाट सिर्जित पीडा सहन नसकेर आत्महत्यासमेत गर्छन्। किन बुझ्दैनन् उनीहरू यो वास्तविकता? किन आफ्नै घरमा आगो लगाउन उद्यत हुन्छ मानिस?

समाज न हो। हामीले चाहेजस्ता सबै राम्रा गतिविधि मात्र हुँदैनन्। तर, त्यसबाट भाग्ने, पछि हट्ने होइन। हाम्रा पाइला त्यस्ता विकृति रोक्नेतर्फ अग्रसर हुनुपर्छ। चिन्ता होइन, चिन्तन गर्नुपर्छ। निराश होइन, आशा गर्नुपर्छ। सुन्दर सपना सजाउनुपर्छ। अनि न समस्याको समाधान निस्कन्छ-मभित्रको चेतना मलाई नै थुम्थुम्याउँदै थियो, सायद मन नकारात्मकतातर्फ नजाओस् भनेर होला। आखिर मेरो लेखनको उद्देश्य पनि त यही हो।

लगातार किबोर्डमा टाँसिएर होला, दुवै हात गलेजस्ता भएका थिए। एकपटक दुवै हात मजाले माथि उठाएँ, रामदेव शैलीमा। जिउ तन्काएँ अनि सोचें-अब आज किबोर्ड र हात दुवैलाई आराम।

प्रकाशित: १० मंसिर २०७९ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App