२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

हेभिवेटको अस्तित्वलाई चुनौती दिँदै रास्वपाका उम्मेदवार

रौतहट र सर्लाहीमा ठुला पार्टीका ठुला नेताहरुलाई रास्वपाका साधारण उम्मेदवारहरुले चुनौती दिएका छन्। शनिबार बिहानसम्म सबै हेभिवेट उम्मेदवारलाई रास्वपाका उम्मेदवारहरुले निकै पछाडि पारेको देखिएको छ।  

रौतहटको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई रास्वपाका राजेश चौधरीले १५ हजारभन्दा बढी मतले उछिनिसकेका छन्। नेपाल अहिलेसम्म चौथो स्थानमा रहेका छन् ।  

रौतहट क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व मन्त्री प्रभु साहलाई रास्वाका रविन्द्र पटेल तेब्बरले अगाडि छन्। साह निकै पछाडि परिसकेका छन्।  

सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र महतोलाई रास्वपाका रबिन महतोले १५ हजारभन्दा बढी मतले पछाडि पारिसकेका छन्।  

सर्लाहीकै क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीका चर्चित नेता तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठभन्दा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार करिब १३ हजारभन्दा बढी मतले अगाडि छन्। कलवार जितको नजिक पुगिसकेको विश्वास गरिएको छ।  

देशकै चर्चित सिटमध्ये एक सर्लाहीको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई रास्वापाका डा अमरेशकुमार सिंहले निरन्तर पछाडि पार्दै लगेका छन्।  

प्रधानमन्त्रीका लागि नेकाबाट अगाडि सारिएका सभापति थापाले ६,९५२ मत प्राप्त गर्दा डा.सिंहले ११,३८३ मत प्राप्त गरेका छन्।  

रौतहट र सर्लाहीमा रास्वाका उम्मेदवारहरुले देशका विभिन्न पार्टीबाट हेभिवेट मानिएका उम्मेदवारहरुलाई सजिलै धुलो चटाइरहेको देखिएका छन्। कुनै पनि दलका ठुला नेताहरुले रास्वापासित प्रतिस्पर्धा गर्न नसकेको विश्लेषण गरिन थालिएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App