२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

मातृत्व-नेतृत्वको यात्रामा रन्जु

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रन्जु (न्यौपाने) दर्शना उम्मेदवार छिन्। नौ महिनाको गर्भ बोकेर मतदाताका घरदैलोमा निकै जोसजाँगरका साथ पुगिरहेकी उनले ‘हिम्मतवाली’को संज्ञा पाएकी छन्। मतदाताबाट प्राप्त त्यस्तो प्रेरणाले आफूलाई थप ऊर्जा मिलेको अनुभूति भएको उनले बताइन्। यसक्रममा ‘वाक विथ रन्जु’ अभियानमा रास्वपाका कार्यकर्ताको दरिलो साथले रन्जुलाई थप प्रोत्साहन मिलेको छ।

भदौ २३ गतेको जेनजी आन्दोलनका कारण ७६ सन्तान गुमाएका आमाहरूको न्यायका लागि आफूले काठमाडौं–१ बाट उम्मेदवारी दिएको रन्जुले बताइन्। १७ वर्षको उमेरमै राजनीतिमा होमिएकी उनले अब कुनै पनि युवा बिदेसिनुनपर्ने नेपाल बनाउन पनि आफ्नो उम्मेदवारी महत्त्वपूर्ण रहेको सुनाइन्। ‘अघिल्ला निर्वाचनहरूको अनुभवले मलाई निकै अनुभवी, परिपक्व र शान्त बनाएको छ,’ २९ वर्षीया रन्जुले नागरिकसँग भनिन्, ‘सन्तानसँग छुट्टिएर बस्नु सबैभन्दा ठुलो पीडा हो। यसकारण कोही सन्तान बाध्य भएर बिदेसिनुनपर्ने गरी नेपाल बनाउने मेरो चाहना हो। युवाले छाडेर जाने होइन, विदेशीहरू हेर्न र घुम्न आउने नेपाल बनाउने मेरो सपना हो।’

यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ गरी चार वटा वडा पर्छन्। पुरुष २३ हजार २३७ र महिला २५ हजार २५२ गरी कुल मतदाता ४८ हजार ४८९ मतदाता रहेको यस क्षेत्रमा दलसम्बद्ध १६ र स्वतन्त्र १३ गरी २९ उम्मेदवार चुनावी मैदानमा छन्।

रन्जुसहित महिला उम्मेदवारको संख्या चार छ। जेनजी विद्रोहपछि यो क्षेत्र झन् खास बनेकाले आफूले उम्मेदवारीका लागि यही क्षेत्र रोजेको उनले बताइन्। संविधानसभा र संसद् भवन पनि यही क्षेत्रमा पर्छन्। यसै क्षेत्रमा भएको जेनजी आन्दोलनमा थुप्रै युवाहरूले ज्यान गुमाउँदा आमाहरूका काख रित्तिएका थिए।

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएका थिए। उनले यसपटक भने उम्मेदवारी दिएनन्। २०७९ सालमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै विजयी भएका थिए। त्यसतबेला उनले सात हजार १४३ मत पाउँदा मिश्रले ७०११ मत पाएका छन्। २०७४ सालमा पनि सिंह र मिश्रबिच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला सिंहसँग ८१९ मतले मिश्र पराजित भएका थिए। त्यतिबेला सिंह १० हजार ९३६ मतका साथ विजयी हुँदा मिश्र १० हजार ११८ मतमा सीमित भएका थिए।

यसपटक यस क्षेत्रबाट राप्रपाबाट मिश्र नै उम्मेदवार छन्। मिश्रका लागि रन्जु चुनौती बनेर उभिएकी छन्। युवालाई प्राथमिकता दिँदै कांग्रेसले प्रबल थापा क्षेत्रीलाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ। कांग्रेसको बलियो उपस्थिति भएको यो क्षेत्रमा नेकपा एमालेबाट भने मोहनराज रेग्मीलगायत उम्मेदवार छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मेनुका भण्डारी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रकाश नायजू, श्रम संस्कृति पार्टीबाट समीर लामा तामाङ, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट सविन सिग्देललगायत उम्मेदवार छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विवेकशील साझाबाट काठमाडौं महानगरको मेयरको उम्मेदवार हुँदा उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन्। २०७९ सालमा उनी विवेकशील साझाबाटै काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्यकै उम्मेदवार थिइन्। त्यतिबेला भने परिणाम उनका लागि सुखद रहेन। यसपटक रास्वपाको राम्रो लहर भएकाले काठमाडौं–१ का मतदाताले आफूलाई साथ दिने विश्वास रन्जुको छ।

विवाहपछि महिला आमा बन्नु स्वाभाविक हो। गर्भावस्था कठिन र जोखिमपूर्ण समय हो। नौ महिनाकी गर्भवतीले भोग्नुपर्ने विभिन्न मानसिक तथा शारीरिक समस्या हुन्छन्। यी सबै कुराको व्यवस्थापन गर्दै रन्जु चुनावी मैदानमा निरन्तर खटिरहेकी छन्। उनले मातृत्वसँगै नेतृत्व पनि प्राप्त गर्न आफू अघि बढिरहेको उनले बताइन्। ‘मातृत्वसँगै नेतृत्वसमेत लिने चाहना बोकेर म चुनावी मैदानमा उत्रेकी हुँ,’ उनले भनिन्, ‘साँच्चै भन्नुपर्दा गर्भवती हुँदा अलि फरक पर्ने रहेछ, किनभने सुत्केरी हुनुपर्ने अवस्थाको नजिकै छ। घरदैलो कार्यक्रम सकेर निवास फर्कंदा थाकेको महसुस गर्छु।’

तर आफू निर्धक्क भएर खटिएको उनको भनाइ छ। १२ वर्षको राजनीतिक अनुभवले आफूलाई बलियो बनाएको उनी ठान्छिन्। ‘श्रीमान्को साथ र सहयोगले मनोबल उच्च बनाएर अघि बढेकी छु,’ उनले भनिन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गते हुँदै छ। त्यसको तीन दिनअघि अर्थात् फागुन १८ गतेका लागि चिकित्सकले उनको सुत्केरी हुने दिन तोकिदिएको छ। यस्तो संयोगलाई चुनाव जितेर सार्थक तुल्याउन उनी लागिपरेकी छन्।

२०७४ सालमा चुनाव लड्दा देखाएको आँट, साहस र हक्कीपनाले परिपक्क आफूलाई बनाएको र त्यही अनुभवका आधारमा आफू यसपटकको निर्वाचनमा उम्मेदवारी दिने हिम्मत जुटेको उनले बताइन्। ‘चुनावी प्रतिस्पर्धा गर्नु संवैधानिक अधिकार हो। मत कति आउला, आफ्नो ठाउँमा छ तर आफ्नो जोसलाई निभ्न दिनु हुँदैन। मेरा श्रीमान्ले राजनीतिक प्रतिस्पर्धामा लाग्नुपर्छ भन्ने प्रेरणा दिनुहुन्छ।’

२०७९ सालमा विवाह भएको र सोही साल नै निर्वाचनमा पनि भाग लिएको उनले सुनाइन्। ‘त्यतिखेर पनि मलाई उम्मेदवारी फिर्ता लिन दबाब नआएको कहाँ हो र तर पछि हटिनँ।’ २०७९ सालको चुनावी अभ्यासले संगठनको आवश्यकता महसुस गराएको उनको अनुभव छ।

काठमाडौं–१ विशेष र संवेदीनशील रहेको उनले सुनाइन्। ‘यो जेनजी आन्दोलनमा ७६ सन्तान गुमाएको क्षेत्र हो। यो क्षेत्रले आमाको दर्द बुझेको छ र म अहिले व्यक्तिगत रूपमा पनि जीवनको त्यस्तै प्रवाहबाट गुज्रिरहेको छु,’ रन्जुले नागरिकसँग भनिन्, ‘म आफै पनि आमा बन्दै छु। ती सम्पूर्ण आमाहरूको न्यायका लागि प्रतिनिधित्व गर्दै छु। त्यसैले पनि यो क्षेत्र मेरो रोजाइमा परेको हो।’

उनले आफ्नो प्रतिस्पर्धा आफ्नो पुरानो रन्जुसँग रहेको उनले बताइन्। पुराना गल्तीबाट सिक्दै परिपक्क र शान्त बन्दै यसपटक चुनावी मैदानमा उत्रिएको उनले बताइन्।

जेनजी आन्दोलनका कारण ७६ सन्तान गुमाएका आमाहरूलाई आफ्नो मातृत्वमार्फत सन्देशात्मक मात्र होइन, जित हासिल गरेर विजयात्मक सन्देश दिन चाहेको उनले सुनाइन्। ‘गर्भमा एक नयाँ प्राणलाई हुर्काउनु मेरा लागि आफैंमा एक सशक्त यात्रा हो,’ रन्जुले नागरिकसँग आफ्नो मातृत्वको अनुभव सुनाउँदै भनिन्, ‘हाम्रो समाजमा गर्भ बसेको आठ महिना काटेपछि आफन्तले दहीचिउरा खुवाउने परम्परा जीवित छ। मेरो जीवनकै यो पहिलो र विशेष यात्रामा मलाई आफ्नै परिवारको सदस्य मानी दिदिबहिनी मतदाताले मलाई दहिचिउरा खुवाउँदा निकै भावुक बनेकी छु।’ यसले आफूलाई अझ सशक्त बनाउँदै लगेको बताइन्।

प्रकाशित: १ फाल्गुन २०८२ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App