प्रधानमन्त्री सुशीला कार्की शुक्रबार हिमाली जिल्ला मुस्ताङ पुगिन। मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन, जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकारी सहितको टोलीसँग प्रधानमन्त्री कार्कीले त्यसक्रममा छलफल पनि गरिन। निर्वाचनका क्रममा जिल्लाले भोग्नुपर्ने सम्भावित चूनौतीबारे प्रधानमन्त्री कार्कीले जानकारी लिएकी छिन।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीका अनुसार मुस्ताङले भौगोलिक भन्दा पनि मौसमी चूनौती खेप्नुपर्ने सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५, साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रसम्मको पहुँच अहिलेका लागि सबैभन्दा चूनौतीपूर्ण रहेकोबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको उनले बताए।
त्यस्तै लो–घेकर दामोदरकुण्ड गाउँपालिका–५, ताङ्ग्यास्थित शालिग्राम आधारभूत विद्यालयसम्मको पहुँच पनि चूनौतीपूर्ण रहेकोबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो।
साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ३९ जना मतदाता छन। त्यस्तै ताङ्ग्यास्थित शालिग्राम आधारभूत विद्यालय मतदात केन्द्रमा जम्मा ९८ जना मतदाता रहेका छन।
शालिग्रामको तूलनामा हिमाली आधारभूत मतदान केन्द्रको चूनौती अझै बढि रहेको पनि सुरक्षा निकायले प्रधानमन्त्री कार्कीलाई जानकारी दिएको थियो। मुस्ताङ जिल्लाका ११ हजार ३ सय २८ जना मतदाता छन्।
यसै त कम संख्यामा मतदाता, त्यसैमा पनि चिसो छल्न अस्थायी रुपमा गाउँलेहरु बसाई सरेपछि अहिले साङतामा निकै नै कम संख्यामा मतदाता बसेका छन। निर्वाचन अधिकारीहरुका अनुसार जम्मा ४ जना मतदाता गाउँमै छन। उनीहरु गोठालाको रुपमा मात्र घर कुरेर बसेका छन। २० जनाजति मतदाता त्यही वडाभित्रको फल्याकमा बसेका छन। बाँकी मतदाता चिसो छल्न पोखरा तथा काठमाडौं झरेका छन। गाउँमा जम्मा १३ घरधुरी छन। लो–घेकरको ताङ्ग्यामा भने अहिले पनि स्थानीय छन। चिसो छल्न केही तल झरेको भएपनि धेरैजसो मतदाता गाउँमै रहेका छन।
ज्ञवालीका अनुसार मुस्ताङलाई अर्काे हिमाली जिल्ला डोल्पा जोड्ने बाटोमा पर्ने साङता सदरमुकाम जोमसोमबाट ३४ किलोमिटर टाढा पर्छ। त्यही वडाभित्रको फ्ल्याकबाट साङता २७ किलोमिटर टाढा पर्छ। ‘हामीले ढिलोमा १८ गते साङताका लागि निर्वाचनको टोली खटाइसक्नुपर्छ। त्यो बेलासम्म बाटो खुलाउने प्रयास हुनेछ, अहिले हिउँले बाटो ढाकेको छ। करिब १२ किलोमिटर बाटो बढि चूनौतीपूर्ण रहेको छ,’ उनले भने, ‘बाटोको अप्ठेरोबारे पनि प्रधानमन्त्रीलाई जानकारी गरायौं।’
केहीदिन अघि बाटोको अनुगमनमा गएको जिल्ला सुरक्षा समितिको टोली समेत साङता पुग्न सकेको थिएन। किनकी बाक्लो हिउँका कारण गाउँ पुग्न सकिने अवस्था छैन। ‘मोटरबाटोको हिउँ पन्छाएर मात्र निर्वाचनका लागि कर्मचारी परिचालन गर्ने तयारी छ, मोटरबाटोमा जमेको हिउँ हटाउनका लागि तत्कालै डोजर परिचालन गर्ने तयारी भएको छ,’ उनले भने।

निर्वाचनका क्रममा भौगोलिक भन्दा पनि मौसमी चूनौती बढि रहेकोबारे प्रधानमन्त्री कार्कीलाई जानकारी दिइएको ज्ञवालीले बताए। ‘अहिलेसम्मका लागि त खासै समस्या छैन। तर, तत्कालै हिउँ परेको खण्डमा मतपेटिका ओसार्न पनि समस्या हुनेछ,’ प्रधानमन्त्रीलाई दिइएको जानकारीबारे उनले भने, ‘भौगोलिक चूनौती खेप्न सकिन्छ, तर, मौसमी चूनौती भने सहज छैन। हिमपात भएको खण्डमा समस्या हुन्छ।’ मौसमी चूनौती आइपरेमा साङता र ताङग्याको मतपत्र ओसार्न हेलिकप्टर चाहिन सक्ने सम्भावनाबारे पनि प्रधामन्त्री कार्कीलाई जानकारी दिइएको उनले बताए।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले निर्वाचन अवधिमा प्रकृतिले साथै नदिएमा बस्तुस्थिति हेरेर तत्कालै निर्णय गर्नेबारे प्रधानमन्त्री कार्कीले आश्वासन दिएको बताईन।
‘कुनैपनि समस्या परेमा तत्कालै खबर गर्नु भन्नु भएको छ,’ प्रधानमन्त्री कार्कीको भनाई उद्घृत गर्दै उनले भनिन, ‘हेलिकप्टर चाहिनसक्ने सम्भावनाबारे गृहमन्त्रालय र निर्वाचन आयोगमा जानकारी दिईसकेका छौं। प्रकृतिले साथै नदिएमा मात्र चूनौती हो। अहिलेको अवस्थामा समस्या छैन। तर, बाटो खुलाउनका लागि प्रयास गर्छाै।’
प्रजिअ शर्माका अनुसार साङतामै मतदाता केन्द्र राख्ने निर्णय अनुसार त्यहाँसम्म पुग्ने बाटो खुलाउनका लागि केहीदिनपछि डोजर परिचालन गर्ने तयारी भएको छ। ‘सबैको सल्लाहमा डोजर परिचालन गरेर बाटो खुलाएर मात्र निर्वाचनका सामाग्री ढुवानी गर्ने र कर्मचारी परिचालन गर्ने तयारी भएको छ। अवस्था सहज नभएकोले पहिला हिउँ हटाउनका लागि डोजर परिचालन हुन्छ। त्यसपछि बल्ल मतदातालाई घर फर्किन पनि सहज हुन्छ,’ उनले भनिन।
उनका अनुसार साङता गाउँसम्मै मोटरबाटोको पहुँच छ। तर, केही खण्डमा भने हिउँको सकस छ। हिउँ पग्लेर सुख्खा भएको समयमा सदरमुकाम जोमसोमबाट उक्त गाउँमा पुग्न गाडीमा कम्तिमा ४ घण्टा लाग्छ। अहिले त हिउँले आउजाउ नै सम्भव छैन। पैदल हिडेर उक्त गाउँसम्म जान सकिने अवस्था नरहेको उनले बताईन। बाटो नखुलेका कारण मतदातालाई घर फर्किन पनि सहज नभएको उनले जानकारी दिइन।
प्रकाशित: ८ फाल्गुन २०८२ १७:४६ शुक्रबार





