१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

कपिलवस्तु निर्वाचन क्षेत्र नं २: आचार्य र गुप्ता तेस्रोपटक आमनेसामने

प्रतिनिधिसभा निर्वाचन आउन २२ दिन बाँकी छ। उम्मेदवारहरू मतदाता रिझाउन लागिपरेका छन्। उनीहरू मतदाताका घरघरमा पुग्ने कोसिस गरिरहेका छन्। चुनावी माहोल तात्दै छ। यो अवस्था कपिलवस्तुु निर्वाचन क्षेत्र नं २ को हो। यस क्षेत्रमा दलको तर्फबाट १७ र स्वतन्त्र ११ गरी २८ उम्मेदवार चुनावी मैदानमा छन्।

यस क्षेत्रमा पूर्वमन्त्री आचार्य र पूर्वमन्त्री गुप्ताबिचको चुनावी प्रतिस्पर्धा रोचक हुन पुगेको मतदाता बताउँछन्। मतदाताको भनाइअनुसार यी दुवै उम्मेदवारलाई एमालेका दीर्घनारायण पाण्डेय र राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रमसिंह थापाले कडा टक्कर दिइरहेका छन्।

गुप्ता पाँचौं जितको खोजीमा छन् भने आचार्य ह्याट्रिक गर्ने दाउमा छन्। यस क्षेत्रमा फेरि पूर्वमन्त्री सुरेन्द्रराज आचार्य र पूर्वमन्त्री बृजेशकुमार गुप्ता तेस्रोपटक आम्नेसाम्ने भएका छन्। आचार्य कांग्रेसको तर्फबाट र गुप्ता नेपाली कम्युनिस्ट पार्टीबाट चुनावमा होमिएका हुन्। दुवैको यो भिडन्त भने तेस्रो हो।

गुप्ताले २०७४ सालमा आचार्यलाई र २०७९ सालमा आचार्यले गुप्तालाई पराजित गरेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यी दुईबिच झिनो मतान्तर थियो। आचार्यले तीन सय १७ मतले गुप्तालाई पराजित गरेका थिए। आचार्यले ३९ हजार १४ र गुप्ताले ३८ हजार ६९७ मत ल्याएका थिए। आचार्य २०७० सालमा तत्कालीन अवस्थामा क्षेत्र नं ४ बाट विजयी भई सिँचाइ राज्यमन्त्री बनेका थिए। यस्तै २०७९ सालको निर्वाचनमा विजयी भई उनी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका थिए।

२०५६ सालमा आचार्यका दाइ विष्णुराज आचार्यले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार बनेका थिए तर पराजित भए। बृजेशकुमार गुप्ता आफ्ना बुबा भगवान्दासको मृत्यु भएपछि राजनीतिमा होमिएका थिए। भगवान्दास पञ्चायतकालका चर्चित नेता हुन्। बुबाको निधनपछि गुप्ताले २०५६ सालमा विद्युत् प्राधिकरणको स्थायी इन्जिनियरको जागिर छाडे अनि राप्रपाबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य बनेका थिए। २०६४ साल र २०७० सालमा तराई–मधेस लोकतान्त्रिक पार्टी, २०७४ सालमा एमालेबाट उम्मेदवार बननेका उनी सांसद बनेका थिए। २०७९ सालमा उनी झिनो मतले हारे। गुप्ता पूर्वकानुनमन्त्रीसमेत हुन्।

जेनजी आन्दोलनअगाडि नै एमालेसँग दूरी बनाइरहेका गुप्ता एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका थिए। उम्मेदवारीकै दिन माघ ६ गते गुप्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरी उम्मेदवारी दिएका थिए।

नेकपाबाट उम्मेदवार बनेका गुप्ताले आफू कुनै पार्टीमा प्रवेश नगरी चुनाव चिन्ह मात्र लिएको दाबी गरे। आचार्य र गुप्ता दुवै स्वच्छ छवि, धार्मिक सद्भाव कायम राख्ने र खासै विवादमा नपरेका नेताका रूपमा चिनिन्छन्। यसपटक पनि आफूले चुनाव जित्ने आचार्यले दाबी गरेका छन्। ‘यसपटक कांग्रेसको नीति र नेतृत्व दुवै परिवर्तन भएको छ। नयाँ सोच र एजेन्डाका आधारमा फेरि कांग्रेसकै पक्षमा बहुमत आउँछ’, उनले भने।

माआवोदीसँग गठबन्धन रहेको अवस्थामा आचार्यले चुनवा जितेका थिए। यसपटक सबै दल एक्लाएक्लै चुनावमा गएका छन्। नेता गुप्ताले आफू पार्टीभन्दा माथि उठेर जनताको भावनाअनुसार चलेको बताए।

उनले चुनाव जित्नुभन्दा जनताका भावना र सुखदुःख ठुलो कुरा रहेको बताए। यसपटक जनताले मैले गरेका कामको मूल्यांकन गरी आफ्नो पक्षमा मतदान गर्ने उनले बताए। गुप्ताले विगतको तुलनामा कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा आफ्नो पडक बनाएको उनी पक्षधर नेता धरमबहादुर श्रीवास्तवले बताए।

यसै क्षेत्रमा एमालेबाट दीर्घनारायण पाण्डेय र कांग्रेस पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका पूर्वएएसपी विक्रमसिंह थापासमेत उम्मेदवार बनेका छन्। महाराजगन्ज नगरपालिकावासीसमेत रहेका पाण्डेयले महाराजगन्ज र बुद्धभूमि नगरपालिकामा राम्रो मत पाउने एमाले पक्षका नेताहरू बताउँछन्।

घन्टीप्रति माहोल बढ्दै गएकाले विक्रमसिंह थापाले समेत कडा टक्कर दिने मतदाता बताउँछन्। थापाले कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेका हुन्। कांग्रेस नेता आचार्य र नेकपाका गुप्ताबिचको भिडन्त रोचक बन्ने मतदाता बताउँछन्। यसपटकको सांसद पद कसले हात पार्ने हो? त्यसको परिणाम भने फागुन २१ सम्म कुर्नुपर्ने छ। यस क्षेत्रमा एक लाख ३० हजार मतदाता छन्।

प्रकाशित: १ फाल्गुन २०८२ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App