२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

सुदूरपश्चिममा देउवाको खोजी, निकटकाहरू भन्छन्: भ्रमणको कुनै तालिका छैन

चुनावको मुखमै आउँदा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको भौतिक उपस्थिति, त्यो पनि नभए उनको बोलीको समेत खोजी भइरहेको छ। उनको गृहजिल्ला डडेलधुरामा मात्र होइन, सिंगो सुदूरपश्चिमका नौ जिल्लामा। तर देउवा निकट सुदूरपश्चिमका नेताहरूका भनाइ अनुसार बिहीबार बिहानसम्म देउवा सुदूरपश्चिम जाने सेडुल बनेको छैन।

२०७९ को निर्वाचनमा सुदूरपश्चिमका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये ८ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो भने अन्य ८ निर्वाचन क्षेत्रमा अन्य पार्टीहरू विजयी भएका थिए। यस हिसाबले हेर्दा सुदूरपश्चिम नेपाली कांग्रेसको गढ भएको मानिन्छ। तर यसपटक देउवा नखुल्दा अथवा देउवाको बोली नसुन्दा सुदूरपश्चिम क्षेत्रका तल्लो तहका मतदाता तथा तल्लो तहका नेपाली कांग्रेसका समर्थकहरू अलमलमा परेको देखिन्छ। उनीहरूलाई स्थानीय नेताहरूले सम्झाउने काम गरिरहेका छन्। कांग्रेसका उम्मेदवारहरू देउवाको नाममा भोट मागिरहेका छन्।

देउवालाई स्थानीय बासिन्दाहरूले ‘बड्डा’ भनेर सम्बोधन गर्छन्। चिया पसल, खिर पसल, मासु पसलदेखि चिया खान पुगेका नागरिकहरूले समेत चुनावमा बड्डा नदेख्दा खिन्नता व्यक्त गरिरहेका छन्। नेपाली कांग्रेसका स्थानीय नेताहरू, त्यसमाथि नेपाली कांग्रेसका उम्मेदवारसँग निकट उम्मेदवारहरू, सुदूरपश्चिममा देउवाको भौतिक अनुपस्थितिमा चुनाव जित्ने प्रयासमा लागिरहेका छन्। ‘हामीले मतदाताहरूलाई सम्झाइरहेका छौँ। बुझाइरहेका छौँ। कांग्रेस भनेको रुख हो। रुखलाई जिताऔँ भनिरहेका छौँ,’ नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले भने। चन्द त्यस जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दलाई जिताउन लागिपरेका छन्।

तर डडेलधुराको सदरमुकाम अमरगढी नजिकै तुफानडाँडामा मासु पसल गरिरहेका कमल बोहराले चुनाव आउनै लाग्दा पनि बड्डालाई नदेख्दा निकै खिन्नता व्यक्त गरे। यसपटक उनको मासु पसलमा राम्रो व्यापार नभएकोमा उनी दुःखी छन्। ‘अघिल्लो पटक (२०७९ को निर्वाचन) व्यापार धेरै नै बढेको थियो। पसलमा ग्राहकहरूको भ्याइनभ्याइ हुन्थ्यो। तर यसपटक रौनक छैन,’ बोहराले भने, ‘अघिल्लो पटक बड्डालाई भेट्न बझाङ, डोटी, बाजुरा, अछामबाट समेत नेता–कार्यकर्ताहरूको घुइँचो हुन्थ्यो। यसपटक जिल्ला बाहिरबाट कोही आएका छैनन्। कसरी व्यापार हुन्छ?’

डडेलधुरामा नेपाली कांग्रेसबाट उम्मेदवार दिएका नैनसिंह महरले देउवाको नामबाट भोट मागिरहेका छन्। आफ्ना निर्वाचन सामग्रीमा देउवाको फोटो राखेर भोट मागिरहेका छन्। भोट माग्दा आफू बड्डाकै मान्छे भएको, जीवनभर बड्डासँग निकट रहेको भन्दै कार्यकर्ताहरूलाई सम्झाउने प्रयास गरिरहेका छन्। उनले भने, ‘स्वास्थ्यले साथ दिएमा उहाँ चुनावमा आउनु हुन्छ भन्ने मैले सुनेको छैन।’ आउने/नआउनेबारे महरले थप बोल्न चाहेनन्। देउवा आउने/नआउने विषयमा सोध्दा सुदूरपश्चिममा देउवा निकट अन्य नेताहरूले पनि स्पष्ट जवाफ दिएनन्।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले समेत देउवा आउने/नआउने विषयमा स्पष्ट जवाफ दिएनन्। उनको भनाइ अनुसार बिहानसम्म सुदूरपश्चिममा देउवा जाने सेडुल बनेको छैन। ‘मैले सुने अनुसार अहिले उहाँ बिरामी हुनुहुन्छ। रक्तचाप बढेको छ। सुदूरपश्चिम आउने कार्यतालिका बनेको मैले सुनेको छैन,’ उनले भने। तर नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका एक पदाधिकारीले भने चुनावको बेला देउवा सुदूरपश्चिम आउने सम्भावना निकै कम भएको बताए। ‘उहाँको अनुहार देखाएर कांग्रेसले चुनाव जित्दैन भन्नेहरू अहिले किन देउवा खोजिरहेका छन्?’ उनले भने। उनका अनुसार यतिबेला देउवाको रक्तचाप ह्वात्तै बढेको छ। ‘माथि १९५ र तल १२० सम्म रक्तचाप बढेको छ भन्ने मैले सुनेको छु। उहाँले औषधि उपचार गरिरहनु भएको छ,’ उनले भने।

अघिल्लो पटकको साख कांग्रेसले जोगाउला?

अघिल्लो पटकको निर्वाचनमा सुदूरपश्चिमका ९ जिल्ला मध्ये अधिकांश जिल्लामा कांग्रेस विजयी भएको थियो। बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्प शाह, दार्चुलामा दिलेन्द्र बडू, डडेलधुरामा देउवा, कैलाली ४ मा वीरबहादुर बलायर, कैलाली ५ मा डिल्लीराज पन्त, कञ्चनपुर २ मा एनपी साउद, कञ्चनपुर ३ मा रमेश लेखक विजयी भएका थिए। त्यसैगरी २०७९ को निर्वाचनमा नेकपा एमाले २ र तत्कालीन एकीकृत समाजवादीले ३ सिटमा विजय हासिल गरेका थिए। एमालेबाट कञ्चनपुर १ मा तारालामा तामाङ र बैतडीमा दामोदर भण्डारी विजयी भएका थिए भने तत्कालीन एसबाट बझाङमा भानुभक्त जैशी, अछाम १ मा शेरबहादुर कुँवर र डोटीमा प्रेम आले विजयी भएका थिए। यसैगरी कैलाली १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम चौधरी विजयी भएका थिए।

छैन ठूला सभा

नेपाली कांग्रेस सुदूरपश्चिम क्षेत्रका नेताहरूले गराएको जानकारी अनुसार बिहीबार बिहानसम्म सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेसले ठूला सभा गर्ने भनी जानकारी गराइएको छैन। देउवा निकट एक नेताले भने, ‘कांग्रेस प्रदेशस्तरीय ठूला–ठूला सभा गर्ने भनेको सुनेको छु, तर सुदूरपश्चिममा त्यस्तो सभा हुँदैछ भन्ने जानकारी मैले पाएको छैन।’

प्रकाशित: १४ फाल्गुन २०८२ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App