१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

मुगुमा विरासत जोगाउन र भत्काउन प्रतिस्पर्धा

यही महिनाको २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मुगु जिल्लामा विरासत जोगाउन र भत्काउन त्रिपक्षीय उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसबाट खड्गबहादुर शाही एमालेबाट पूर्णहादुर रोकाया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चन्द्रबहादुर शाहीको रोचक प्रतिस्पर्धा हुने देखिएको हो।

जसलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका उम्मेदवारले चुनौती दिएका छन्। मुगुमा कांग्रेस उम्मेदवार खड्गबहादुर शाही र एमालेका पूर्णबहादुर रोकाया पहिलोपटक संसदीय प्रतिस्पर्धामा सहभागी भएका हुन् भने नेकपाका चन्द्रबहादुर शाही २०५६ सालको प्रतिनिधिसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचनमा विजयी भएसकेका छन्। उनी कर्णाली प्रदेशको भूमि व्यावस्था तथा कृषि सहकारी मन्त्रीसमेत बनिसकेका छन्। कांग्रेस पुरानो विरासत जोगाउने दाउमा छ भने अरू पार्टी भत्काउने गरी चुनावी अभियानमा होमिएका छन्।

कांग्रेस उम्मेदवार खड्गबहादुर शाही, एमाले उम्मेदवार पूर्णबहादुर रोकाया, नेकपा उम्मेदवार चन्द्रबहादुर शाही, रास्वपा उम्मेदवार भुवन टमाटा नेकपा माओवादी उम्मेदवार रंगवीर परियार, राप्रपा उम्मेदवार बलबहादुर मल्ल, लोकतान्त्रिक पार्टीका उम्मेदवार एटन मल्ल चुनावी मैदानमा छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा साना चार दलको उम्मेदवारी भए पनि मुख्यतया कांग्रेस, एमाले र नेकपाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

२०७९ को समानुपातिक मत परिणामअनुसार मुगुमा पहिलो एमाले, दोस्रो  कांग्रेस, तेस्रो, माओवादी केन्द्र र चौथो एकीकृत समाजवादी पार्टी भएको थियो।

मतपरिणामअनुसार  एमालेले ८ हजार ६ सय ४३, कांग्रेसले ८ हजार ४ सय ४०, माओवादी केन्द्रले ४ हजार ६ सय ५० र एकीकृत समाजवादीले २ हजार ६ सय १२ मत प्राप्त गरेका थिए। अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एकता भई नेकपा भएपछि कांग्रेस र एमालेलाई टाउको दुखाइ भएको छ भने कांग्रेस र एमालेबिच सधैं भइरहने प्रतिस्पर्धामा नेकपा थपिएको छ।

एमाले र कांग्रेसको प्रतिस्पर्धाको बिचबाट आफ्नो जित निकाल्न नेकपा लागिपरेको देखिन्छ। नयाँ गठित दलमा तत्कालीन माओवादी केन्द्र र समाजवादीका मतदाता एकीकृत भएको त्यसमा आफ्ना पुराना एमाले कार्यकर्ताको आफूतिर तान्न सकेमा आफ्नो जित सुनिश्चित हुने नेकपाको बुझाइ छ।

रास्वपाका उम्मेदवार भुवन टमाटा अन्य पाटिका उम्मेदवारभन्दा नयाँ अनुहार र जेनजी उमेर समुहका युवा अभियन्ता भएकाले गाउँगाउँमा पुग्दा युवाहरु उक्त पार्टीमा आकर्षित हुँदै गएकाले रास्वपामा कुन पार्टी समर्थक युवा प्रवेश गरे त्यसै संख्याले प्रतिस्पर्धी तीन दलमध्ये कसले जित्ने यकिन गर्नेछ।

रास्वपा मात्र होइन जनताका जनजीविका र पुराना सत्ताका कमीकमजोरी बारे उठान गर्दै गाउँगाउँमा चुनावी प्रचारमा रहेको नेकपा माओवादीका उम्मेदवार रंगवीर परिवारप्रति पनि जनताको आक्रमण बढ्दै गएको देखिन्छ। उनले पनि कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्र र समाजवादीका मतदाताका मत लिने भएकाले जितको परिणाममा नेकपा माओवादीले पनि ठुलै धक्का दिने चर्चा छ।

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार ऐनबहादुर शाही १४ हजार ७ सय ६ मतसहित विजयी बनेका थिए। प्रदेशसभा १(१) मा एमालेका जितबहादुर मल्ल ६ हजार ६ सय १६ र निर्वाचन क्षेत्र नं १(२) मा नेकपाका मंगलबहादुर शाही ८ हजार ४ सय २९ मतसहित विजयी भएका थिए।

गत प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र पूर्व माओवादीबिच गठबन्धन थियो। ४ स्थानीय तह रहेको मुगुमा गत स्थानीय तह निर्वाचनमा २ स्थानीय तहको प्रमुख र अध्यक्ष कांग्रेसले तथा २ प्रमुख तथा अध्यक्ष नेकपाले जितेको छ भने ३ उपप्रमुख/उपाध्यक्ष कांग्रेसले र एमालेले एक ठाउँमा जितेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ मतदाता छन्। जिल्लाभरि ६७ मतदानस्थल र ६९ मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App