१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

चितवन-२ : रवि ढुक्क, अन्य दल मतपरिणाम उल्ट्याउने दाउमा

चितवनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो गढका रूपमा हेर्ने गर्दछ। चितवन–२ बाट पार्टीका सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्। यतिखेर रवि चुनाव जित्नेमा ढुक्क जस्तो देखिन्छन्। अघिल्लो निर्वाचनमा भारित मतका साथ विजयी भएका लामिछानेले उम्मेदवारी दिएपछि घरदैलो कार्यक्रम दुई दिन मात्र गरेको पार्टी जिल्ला सभापति कृष्ण भुसाल बताउँछन्।  

‘रवि सरले यसपटक दुई दिनमात्र आफ्ना मतदातासँग बिताउनुभएको छ। अब भोलि आउनुहुन्छ,’ उनले भने, ‘उहाँले आफ्नै हिसाबले घरदैलो कार्यक्रम अगाडि बढाउनुहुन्छ होला।’ एक साताअघि चितवन आएका लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा धेरै समय दिन नसक्ने समेत बताएका थिए। ‘उहाँ देश दौडाहामा हुनुहुन्छ। पहिला जस्तो समय दिन पक्कै सक्नुहुँदैन,’ उनले भने, ‘हामी आफ्नो हिसाबले भोट माग्दै हिँडेका छौँ।’  

चितवन–२ मा लामिछानेले पहिलाभन्दा बढी मत ल्याएर निर्वाचन जित्नेमा रास्वपा पार्टी ढुक्क देखिन्छ। ‘चितवनमा हाम्रो आँकलन पहिलाकोभन्दा कमी हुँदैन,’ उनले भने, ‘रवि सरको भोट कुनै पनि हालतमा पहिलाको भन्दा कमी हुन दिँदैनौँ बढ्छ।’

२०८० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने ५४ हजार १७५ मत ल्याएर विजयी भएका थिए। जबकि उनका प्रतिद्वन्द्वीको मतान्तर नै ४३ हजार ६१ थियो। यस हिसाबले पनि हुन सक्छ लामिछानेले यसपटक आफ्नो निर्वाचन क्षेत्रमा धेरै दिन बिताएका छैनन्।  

नेपाली कांग्रेस र नेकपा एमालेलाई भारी मतले पछि पारेर दुई पटक निर्वाचित भएका लामिछानेले यो विरासत आउँदो फागुनको निर्वाचनमा उल्टाउने दाउमा अन्य ठुला दल छन्। नेपाली कांग्रेसले महिला अधिकार कर्मी मिना खरेललाई अगाडि सारेको छ। महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा काम गर्दै आएकी खरेल स्थानीय स्तरमा चिरपरिचित व्यक्ति हुन्। उनले आफ्नो व्यक्तिगत मत बढाउने आँकलन स्थानीय स्तरमा समेत हुन थालेको छ।  

नेपाली कांग्रेस चितवनका जिल्ला सचिव धुर्व पोखरेल पब्लिक फिगर व्यक्ति भएकाले चितवन–२मा यसपटकको निर्वाचन प्रतिस्पर्धामा जाने बताउँछन्। ‘अहिले हामी घरदैलोमा छौँ। नागरिकको रेस्पोन्स राम्रो पाइरहेका छौँ,’ उनले भने, ‘हाम्रो उम्मेदवार राम्रो भएकाले पनि हामीलाई सहज भएको छ।’

चितवनको क्षेत्र नम्बर २ अन्तरगत भरतपुर महानगरपालिकाका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछ। यी क्षेत्रमा महिला बालबालिका तथा गरिब असायलाई पालनपोषण गरेकाले पनि मानिसहरुलाई खरेल प्रति मानिसहरूको सकरात्मक रहेको उनको बुझाइ छ। खरेल चितवन–२को लागि मात्र नभई देशभरको महिलाको उम्मेदवार भएको समेत उनले दाबी गरे। खरेल विवादरहित सादगी व्यक्ति हुन्। २०८० सालको उपनिर्वाचन हेर्ने हो भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ११ हजार ११४ मत ल्याएका थिए। लामिछाने र श्रेष्ठबीचको मतान्तर नै ४३ हजार ६१ थियो। तेस्रो स्थानमा समेटिएका नेकपा एमालेका उम्मेदवार न्यौपानेले १० हजार ९३४ मत प्राप्त गरेका थिए।  

पहिलो पटक निर्वाचन जितेर नागरिकताका विषयमा विवाद भएपछि बर्खास्तीमा परेका रास्वपा सभापति लामिछाने पुनः अर्को पटक त्यहीँबाट विजयी भएका थिए। अहिले यहाँका जनताले सुशासन, विधिको शासन, गरिबको अवस्था सुधार, रोजगारीको सुनिश्चितता जनताले खोजेका छन्।  

नेकपा (एमाले) का तर्फबाट ४० वर्षमुनिका प्रदेश कमिटी सदस्य अस्मिन घिमिरेलाई उम्मेदवार बनाएको छ। घिमिरेलाई जनताले मन पराउनेमा एमाले पार्टीले विश्वास लिएको छ। आफू युवा र स्वच्छ छवि भएकाले पनि जनताले मायाँ गर्नुपर्ने धारणा घिमिरेको छ।  

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ इच्छाकामना गाउँपालिका निवासी हुन्। पहाडी क्षेत्रमा यस पटक पार्टीको लहर राम्रो चलेकाले आममानिसले सोचेभन्दा फरक परिणाम आउने उम्मेदवार गुरुङको भनाइ छ। जनताको सुखदुःखमा साथ दिएकाले पनि यसपटक परिणामबाहिरका मानिसको पक्षमा नहुने उनको जिकिर छ।

सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर गत पुस ३ गते रिहा भएका रवि भोलिपल्टै चितवन पुगेर सम्बोधन गरेका थिए। उम्मेदवारी दर्ता गराउने दिनमा पनि जिल्ला अदालत पर्साले लामिछानेलाई एक करोड धरौटी तोकेको थियो। यद्यपि यसलाई रास्वपाले राजनीतिक प्रतिशोध भन्दै आएको छ।  

गत निर्वाचनको नतिजा हेर्ने हो भने यस क्षेत्रमा रास्वपा नै अगाडि देखिन्छ। गत निर्वाचनमा रास्वपाले यस क्षेत्रबाट ३५ हजार ९४५ मतसहित समानुपातितर्फ पहिलो दल बनेको थियो। त्यस्तै एमालेले १६ हजार ७४८, नेपाली कांग्रेसले १२ हजार १३२, नेकपा (माओवादी)ले ८ हजार ४०७ र राप्रपाले ३ हजार २१८ मत समानुपातिक तर्फ ल्याएको थियो।

प्रकाशित: २७ माघ २०८२ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App