फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्। आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरू मतदाता माझ विभिन्न आश्वासन बाँडिरहेका छन्। तर मतदाता भने विश्वस्त छैनन्।
कालीकोटका मतदाताले उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजनाको ‘ग्यारेन्टी’ गर्न माग गरेका छन्। निर्वाचनका क्रममा आश्वासन दिने तर पछि काम नगर्ने प्रवृत्तिले जनताले बर्सेनि नेतासँग उही माग दोहोर्याउनुपर्ने अवस्था रहेको पलाँता गाउँपालिका-५ का कटक विकले बताए।
‘धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले वाचा गरे अनुसार काम गरेको देखिँदैन। गाउँमा भनेजस्तो सडक छैन, कर्णाली नदीमा पुल नहुँदा दिनहुँ सास्ती भोग्नुपर्ने बाध्यता छ’, उनले भने, ‘गाउँमै व्यापार गरौँ भने पनि भनेको बेला सामान पुर्याउन सक्ने सडक छैन।’
पलाँताका अधिकांश मतदाताले निर्वाचनका क्रममा उम्मेदवारबाट सडकको स्तरोन्नति, कर्णाली नदीमा पुल, सिँचाइको व्यवस्था, कुलो निर्माणलगायतका आश्वासन नेताबाट आएपनि पूरा नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाउने गरेको गुनासो गरेका छन्।
पलाँता जोड्ने घाटपारी चौर, थिर्पूको तिबगाड र दाम्डीगाड, महावैको पान्तडी, पादमघाट पुल ठेक्का भएर म्याद सकिँदा पनि निर्माण हुन सकेका छैनन्। कर्णाली करिडोरको फुगाड खोलामा समेत पुल छैन। पचालझरना गाउँपालिकाको जारकोटमा २०७७ सालमा सम्झैता भएको पुल निर्माणको गति शून्य छ। पलाँता र पचालझरनाका नागरिकलाई पुल नहुँदा वर्षैदेखिको कष्ट अझै हट्न सकेको नसकेको पलाँता-२ का पयुलाल विकको गुनासो छ।
वारिपट्टी कर्णाली करिडोरमा दैनिक गाडी चलिरहेका छन्, पारिका बस्तीहरू भने सुनसान देखिन्छन्।
फेरि पनि दलका नेताहरूले पुल र सडकका एजेन्डा बोकेर गाउँ पुगेका छन्। कालीकोटमा समृद्धिका लागि योजना र नीति बनेका छन्। तर आएका अधिकांश विकास योजना बजेट सक्ने काम मात्र भएको स्थानीय हिक्मतजंग मल्लको भनाइ छ।
‘बजेट आएको छ। अनुभूति हुने गरी गतिलो विकास भएको छैन। मिलेमतोमा बजेट सक्ने प्रवृत्ति छ’,उनले भने। त्यस्तै, एक दशकदेखि निर्माण सुरु भएको सेरी पान्तडी, दाहापाखा, छाप्रे हुँदै फोइ नाग्म सडक, मान्म, बादालकोट हुँदै जारकोट जोड्ने सडकले पनि गति लिएको छैन।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पूर्वाधार विकासको नारा दिएर अघि बढेका दलले समेत विकास नगरेको स्थानीय नागरिकको गुनासो छ।
कालीकोटको सदरमुकाम हुँदै केही गाउँमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि अधिकांश गाउँबस्ती अझै अन्धकार छन्।विद्यालयहरूमा पक्की भवन छैन। बालबालिका टिनको टहरामा बसेर पढ्न बाध्य छन्।
पचालझरना गाउँपालिकाको बाचकोट, राम्नाकोट, खाँद्दु, सिकु, पडेक्षा, महावै गाउँपालिकाको पूरै गाउँपालिका, तिलागुफा नगरपालिकाको चिल्खाया, रुडु, ढिम्ने, भात्तडी, रानावाडा र खाँडाचक्रको बादालकोट जस्ता बस्तीमा सडकको पहुँच पुग्न सकेको छैन।
कालीकोट समृद्धिको अर्को ठूलो परियोजना फुगाड अर्धजलाशययुक्त विद्युत आयोजना (४८० मेगावाट) पनि हाल सुस्त गतिमा छ। ५ वर्षअघि डिपिआर भएर काम सुरु भए पनि हाल बजेट अभावले सुस्त गतिमा छ।
आयोजना क्षेत्रका ९० प्रतिशत बढी घर जग्गाको मुआब्जा वितरण सकियो। तर निर्माणको कामले गति लिन सकेको छैन। त्यस्तै, तिला हाइडोको चर्चा चले पनि काम अलपत्र छ। नदी र खोला ओगटेर राख्ने तर काम नगर्ने प्रवृति छ। कर्णालीबासीको लाइफ लाइन मानिने कर्णाली राजमार्ग र करिडोर पनि स्तरोन्नति भएको छैन।
कर्णाली राजमार्ग र कर्णाली करिडोर दुवै राष्ट्रिय राजमार्गको स्रोन्नति, क्षेत्रीय सडक निर्माण, पालिका तथा वडाका प्रशासनिक भवन समेत छैनन्। कालीकोटका ८२ मध्ये ३६ वडा कार्यालय अझै भाडाका घरमा छन्। सदरमुकामको खाँडाचक्र नगरपालिकाले भवन निर्माणको ठेक्का गरेको दुई वर्ष भइसके पनि काम हुन सकेको छैन।
२०७२ को बाढीले बगाएको ५ सय किलोवाट क्षमताको सान्नीगाड साना जलविद्युत आयोजना २०८२ असारमा ठेक्का भएर काम सुरु भयो। यद्यपी विद्युत सुचारु कहिलेबाट हुने निश्चित छैन।
२०४६ को परिवर्तनपछि २०४८ मा कांग्रेस, २०५१ र २०५६ मा एमाले, त्यसपछिका सबै निर्वाचन माओवादीले जित्दै आएको कालीकोटमा नेताको जीवनशैली र अवस्था फेरिए पनि सर्वसाधारणको जीवनस्तर उस्तै छ। स्थानीयको जीवन बदल्ने र गाउँको विकास गर्ने नेताका वाचा चुनावी नारा र प्रतिबद्धतामै सीमित छन्।
यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न वाचा र प्रतिबद्धता बोकेर दुई स्वतन्त्रसहित १० जना उम्मेदवार प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छन्। उनीहरू सबैले कालीकोटको समृद्धिका लागि आफूले जित्नुपर्ने तर्क गरिरहेका छन्।
संघीय सरकारको एक पटक उर्जामन्त्री र कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका महेन्द्रबहादर शाही नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट चौथो पटक जितेर रेकर्ड राख्ने दाउमा छन्, भने दुई पटक मन्त्री भइसकेका नेपाल कम्युनिष्ट पार्टी माओवादीका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) दोस्रो पटक जितेर विरासत फर्काउन चुनावी मैदानमा छन्।
दोस्रो पटक चुनाव लडेका नेकपा एमाले केन्द्रीय सदस्य नगिन्द्र शाही, पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका नेपाली कांग्रेस नेता हर्षबहादुर बम, युवाको नारासहित टिकटकबाट उदाएका रास्वपाका प्रकाश न्यौपाने, नेमकिपाका नन्दबहादुर शाही, राप्रपाका सूर्यबहादुर शाही, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरी, स्वतन्त्र उम्मेदवार माओवादी पृष्ठभूमिका मानबहादुर तिरुवा र अस्मिन विष्ट चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित: १३ फाल्गुन २०८२ १३:०९ बुधबार

