१२ मंसिर २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

गण्डकी प्रदेशः कांग्रेस–एमालेले आफूलाई सुधार्न सकेनन्

अघिल्लो पटकभन्दा कांग्रेस खस्कियो, एमालेले पनि सुधार्न सकेन

पोखरामा जितपछि विजयी र्‍याली निकाल्दै पोखरा–१० मा कांग्रेस (बायाँ) र पोखरा–२९ मा एमाले (दायाँ) । तस्बिरः उमेश पुन/नागरिक

गण्डकी प्रदेशका ११ जिल्लामा ८५ स्थानीय तह छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा ८५ तहमध्ये ४४ वटामा कांग्रेसले जित हात पारेको थियो। एमालेले ३४ वटा स्थानीय तहमा जित हात पारेको थियो। प्रदेशमा अघिल्लो पटक कांग्रेस पहिलो पार्टी बनेको थियो। त्यसपछि दोश्रोमा एमाले थियो। पाँचवटा स्थानीय तहमा जित हात पारेको माओवादी केन्द्र अघिल्लो पटक तेश्रो स्थानमा थियो।

यो पटकको निर्वाचनमा अहिलेसम्म ३५ वटामा मात्र कांग्रेसले जित हात पारेको छ। एमालेले पनि अहिले ३५ वटै तहमा जित हात पारेर कांग्रेससँग बराबरीमा छ। अघिल्लो पटक भन्दा सुधार गरेर माओवादी केन्द्रले यो पटक ११ वटा तहमा जित हात पारेको छ। राष्ट्रिय जनमोर्चाले अघिल्लो पटक एकमात्र स्थानीय तहमा जित हात पारेकोमा अहिले २ ठाउँमा जितेको छ। अघिल्लो पटक स्वतन्त्र उम्मेदवारले एकठाउँमा जितेका थिए।  

अहिलेसम्म ८३ वटा स्थानीय तहको परिणाम आइसकेको छ। पोखरा महानगर र तनहुँको ब्यास नगरपालिकाको गणना जारी छ। अहिलेसम्मको अग्रता हेर्दा पोखरा महानगरमा एकीकृत समाजवादी र एमालेबीच प्रतिश्पर्धा भएपनि एकीकृत समाजवादीले अग्रता लिईरहेको छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले सुरुदेखि नै लिएको अग्रता अझै कायम छ। आचार्यले विजयी हात पारेको खण्डमा एमाले अहिले ३५ मै सीमित हुनेछ।  

तनहुँको ब्यासमा भने कांग्रेसका बैकुण्ठ न्यौपानेले अग्रता लिएको अवस्थामा कांग्रेसले अझै एकस्थान थप्न सक्छ, तर, अन्तिम परिणाम नआइसकेकोले यकिन भने छैन। न्यौपानेसँगको प्रतिश्पर्धामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशी छन्। एमालेको समेत समर्थन पाएका जोशीले जित हात पारिहालेमा पनि त्यो संख्या एमालेमा गणना हुँदैन। किनकी जोशी स्वतन्त्रका उम्मेदवार हुन्।

सत्ता गठबन्धन गरेर चुनावी मैदानमा ओलिएका पाँचवटा दल एमालेसँगको प्रतिश्पर्धामा हुँदाहुँदै पनि गण्डकीमा कांग्रेस अघिल्लो पटक भन्दा यो पटक कमजोर देखिएको छ। गठबन्धन भनिएपनि कतिपय ठाउँमा दलहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्। त्यसको असर गोरखामा परेको छ। किनकी अघिल्लो पटक गोरखामा कांग्रेसले ९ र माओवादीले २ ठाउँमा मात्र जितेकोमा अहिले ठिक उल्टो भएर कांग्रेस २ र माओवादीले ९ ठाउँमा जित हात पारेको छ। सत्ता साझेदारमा गठबन्धन गरेपनि गोरखाको स्थानीय तहमा भने कांग्रेस र माओवादीबीच सहकार्य नहुँदा यस्तो अवस्था आएको विश्लेषक बताउँछन्।  

गोरखाका राजनीतिक विश्लेषक यदु अधिकारी भन्छन्, ‘सरकार संचालनमा गठबन्धन भएपनि स्थानीय तहमा गठबन्धन क्लियर नहुँदा यो अवस्था आएको हो।’ उनका अनुसार गोरखामा यो पटक कांग्रेस कमजोर हुनुमा कांग्रेसले आफै अब्बल छु भनेर अरु दलसँग सहकार्य गर्न चाहेन। माओवादी पनि हामी कमजोर छैनौ भनेर गठबन्धन चाहेन। कांग्रेस लचिलो बन्न चाहेन र माओवादी प्रति कांग्रेसले सहानुभूति राख्न नचाहँदा यो अवस्था आएको हो।  

‘माओवादीले संगठन बलियो बनाएको छ गोरखामा। कांग्रेसले प्रमुखमा मात्र नभई सदस्य तहमा समेत हार बेहोरेको छ। त्यो हुनु भनेको कांग्रेसले जिल्लामा बलियो अवस्था बनाउन सकेको छैन,’ उनले भने, ‘तर, माओवादी भने केही फरक छ।’ माओवादी र कांग्रेसबीच मात्र नभई जनता समाजवादी र कांग्रेसबीच पनि गोरखामा ‘ट्यूनिङ’ मिलेन। त्यस्तै एकीकृत समाजवादीको अवस्था निकै नै कमजोर भएकोले अघिल्लो पटक भन्दा अहिले एक्लाएक्लै भीड्दा यो अवस्था आएको उनले बताए।

कांग्रेस र माओवादीबीच मात्र नभई गोरखामा माओवादी र जनता समाजवादीबीच पनि गोरखा नगरपालिका र गण्डकी गाउँपालिका सहकार्य भएको थियो। ती दुवै ठाउँमा माओवादीलाई प्रमुख र जसपालाई उपप्रमुख दिएपनि माओवादीले जित हात पार्‍यो, तर, जसपाले दुवै ठाउँ हार बेहोरेको छ। त्यहाँ दुवै उपप्रमुख कांग्रेसले जितेको थियो। अरु स्थानीय तहमा कांग्रेस र माओवादी बीच सहकार्य नै भएन।  

अर्काे प्रभावशाली जिल्ला हो तनहुँ। कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा पनि यो पटक कांग्रेस अघिल्लो पटक भन्दा कमजोर देखिएको छ। अघिल्लो पटक कांग्रेसले ६, एमालेले ३ र माओवादी केन्द्रले १ ठाउँमा जित हात पारेको थियो। अहिले कांग्रेसले चारठाउँमा मात्र जितेको छ। ब्यास नगरपालिकामा जित हात पारेमा यो संख्या पाँच हुनेछ। तर, एमालेले अघिल्लो पटक तीनबाट बढाएर यो पटक चार तहमा जित हात पारेको छ। के तनहुँमा कांग्रेस कमजोर बनेको हो त?  

तनहुँका विश्लेषक कमलामोहन वाग्ले भन्छन्, ‘तनहुँमा केही ठाउँमा मात्र गठबन्धन भएको हो। गठबन्धन नभएको र उम्मेदवार चयन गर्दा दलका नेताले ‘मोनोपोली’ गर्दा यो अवस्था आएको हो।’ वाग्लेको विश्लेषणमा अघिल्लो पटक र अहिले दोहोरिएका उम्मेदवारलाई मतदाताले उत्तिसारो रुचाएनन्। कांग्रेसभित्र मात्र नभई अरु अरु दलबाट दोहोरिएका उम्मेदवारप्रति पनि मतदाताले विश्वास देखिएन। ‘दोहोरिएका उम्मेदवारको कामप्रति जनता सन्तुष्ट हुन सकेनन। जनताले नयाँ नेतृत्व र नयाँ सोचका साथ विकास निर्माणमा आउने व्यक्ति खोजेका रहेछन भन्ने अहिले पुष्टि भएको छ,’ उनले भने, ‘जनता अब सचेत बनेका छन्। जनताले नयाँ उम्मेदवार खोजी गरेको देखियो। यतिसम्मकी सदरमुकाम पर्ने व्यास नगरपालिकाका वडाभित्रै पनि त्यही अवस्था देखिएको छ।’

उनको बुझाईमा जनताको इच्छा अनुसार अहिले उम्मेदवार चयन भएन। त्यसबाहेक पार्टीभित्रै घात र अन्तर्घात पनि भएको छ। त्यसको उदाहरण व्यास नगरपालिकामा कांग्रेसका बैकुण्ठ न्यौपाने र स्वतन्त्रका दीपकराज जोशीबीचको प्रतिश्पर्धाले बुझाउँछ। गणना भईरहेको त्यहाँ अहिले न्यौपाने र जोशीबीच कडा प्रतिश्पर्धा छ। तर उपमेयरमा कांग्रेसलाई सहज देखिएको छ। ‘मेयरमा मतदाताले चित्त बुझाएनन्, उपमेयरमा मतादाताले कांग्रेसलाई मत दिए, तर, मेयरलाई दिएनन्,’ उनले भने। तनहुँमा कांग्रेसका शीर्ष नेताहरु हुँदाहुँदै पार्टीभित्रै एकले अर्कालाई असहयोग गर्दा यो अवस्था आएको पनि उनले बताए।  

तनहुँका १० स्थानीय तहमध्ये कांग्रेसले विभिन्न चारवटा स्थानीय तहमा फरक दलसँग सहकार्य गरेको थियो। शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा माओवादीसँग र भीमाद नगरपालिका र घिरिङ गाउँपालिकामा एकीकृत समाजवादीसँग सहकार्य गरेको थियो। अरु स्थानीय तहमा कांग्रेस एक्लै लडेको थियो।  

विश्लेषकका अनुसार अघिल्लो पटक र अहिलेको निर्वाचनमा कांग्रेसको अवस्था विजयी कम हुनु र एमालेले पनि अवस्थामा खासै सुधार ल्याउन नसक्नुमा दलका कमजोरी छन्। विश्लेषक सुरेन्द्र थापामगर भन्छन्, ‘गठबन्धनमा एउटा काम मात्र राम्रो भएको छ, त्यो हो पार्टीले गठबन्धनका उम्मेदवारलाई भोट हाल्नु भनेपछि मतदाताले ती उम्मेदवारलाई भोट हालेका छन्, त्यसको उदाहरण पोखराले देखाउँछ।’ तर, पार्टीप्रतिको जनताको लगावको ब्यारोमिटर माथि नउठेको उनको बुझाई छ।  

‘दलप्रति मतदाताको जति भरोसा थियो, त्यो देखिएको होईन, बाध्य भएर मात्र भोट हालेका छन। मन कुँडिएर भोट हालेका छन्,’ उनले भने। उनका अनुसार गण्डकीको अवस्थामा एमाले अब्बल ठान्दै आएको भएपनिस्थानीय तहमा यो अवस्था देखिएन। किनकी भएका जनप्रतिनिधिले यो अवधिमा जनताका काम गरेनन। त्यसले गर्दा जनता असन्तुष्ट बढ्यो र मतदाताले अहिले भोट दिएनन। ‘दोहोरिएका उम्मेदवारलाई मतदाताले रुचाएनन। त्यसबाहेक राष्ट्रिय राजनीतिको प्रभाव पारेको हो। संसद विघटनको अपजस लिनुपर्दा एमालेले उचाई बढाउन सकेन,’ उनले भने, ‘कांग्रेसले पनि प्रतिपक्षमा रहेर जुन रुपमा भूमिका निभाउनुपर्ने थियो, त्यो भूमिका निभाउन सकेन। कांग्रेस प्रतिपक्षमा रहँदा पनि उसले मुद्दा उठाउन सकेन। मुद्दा बोकेर हिँड्न नसक्दा यो चुनावमा बलियो अवस्था ल्याउन असफल भएको हो।’  

उनको भनाईमा गठबन्धन गर्दा केही फाइदा माओवादी र कांग्रेसलाई भएको देखिएको छ। तर, त्यो जिल्ला अनुसार देखिएको उनले बताए। ‘स्थानीय तहको चुनावमा दलको भूमिका भन्दा पनि जनप्रतिनिधिको भूमिका खोजि हुनुपर्ने हो, तर, यहाँ राजनीतिक दल हावि हुँदा यो अवस्था आएको छ,’ उनले भने, ‘पार्टीप्रतिको वितृष्णा पनि निम्तिएको हो। दललाई सच्चिने मौका दिएको छ। अहिले सच्चिएनन् भने अर्काे चुनावमा अर्झै ठूला दलले मार खेप्नेछन्।’

प्रकाशित: ८ जेष्ठ २०७९ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App