२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

दलभन्दा व्यक्तित्वलाई मत

गत वर्ष कोरोना कहर उत्कर्षमा पुगेका बेला बन्दाबन्दी भयो। दैनिक ज्यालामजदुरी गरेर गुजारा गर्ने लहान नगरपालिका–५ का मोतीलाल पासवान काम नपाएपछि बेरोजगार बन्न पुगे। स्थानीय सरकारको मुख ताकेर बसेका पासवानलाई हातमुख जोड्न मुस्किल पर्न थाल्यो। चोकचोकमा रन्थनिँदै गर्दा उनको महेश चौधरीसँग भेट भयो। पासवानले चौधरीसँग दुःखको भारी बिसाए। चौधरीले उनको दुःखमा मलम लगाइदिए, घरमा खाद्यान्नदेखि चुलो बाल्ने दाउरा पुर्‍याइदिए।

लहान नगरपालिका–२२, सिसवनीकी रामरती चौधरी एकल महिला हुन्। पति र छोरा दुवैगुमाएकी उनी शीतसमेत छल्न नसक्ने भ्वाङ परेको छाप्रोमा बस्थिन्। छाप्रोको भ्वाङ टालिदिन स्थानीय सरकारलाई गुहार्दा जनप्रतिनिधिले वास्तै गरेनन्। उनी जेनतेन शीतलहर काट्दै थिइन्। शीतलहर पीडितलाई न्यानो बाँड्न पुगेका महेशको नजर उनको छाप्रोमा पुग्यो। उनले तत्काल छाप्रो मर्मत गर्न आर्थिक सहयोग गरिदिए। छाप्रोको खर हटाएर जस्तापाता हालिदिए।

यी पात्र उदाहरण मात्र हुन्। कोरोनाकालमा चौधरी र पासवानजस्ता सयौंलाई सहयोग गरेर महेश दीनदुखीका ‘मसिहा’ बने। सरकार निरीह दर्शक बनेका बेला नागरिकस्तरबाट महेशले लहान नगरमा पुर्‍याएको योगदानको प्रतिफल अहिले प्राप्त गरेको स्थानीय बुद्धिजीवी राकेश झा बताउँछन्। त्यो बेला गरिब, दलित बस्तीमा आफूले पुर्‍याएको सहयोगको प्रतिफल यो आयतनमा प्राप्त हुन्छ भनेर महेशले पनि सोचेका थिएनन्। जसले नागरिक स्तरबाट जनतालाई यो हदसम्मको सेवा पुर्‍याउन सक्छ, उसले स्थानीय सरकारमा गएपछि अझ कति सहयोग गर्ला भन्ने लहानवासीले सोच्न थालेका थिए। यस्तैमा स्थानीय तहको चुनाव आयो, भयो।

लहानवासीलाई मेयरमा मुनि साह सुडी (निवर्तमान मेयर) र महेश चौधरीमध्ये एकलाई रोज्नुपर्ने थियो। नगरवासीले कोरोनाकालमा महेशले पुर्‍याएको योगदानको कदर गरे। मतदाताले उनलाई साहको भन्दा झन्डै दोब्बर मतले जिताएर मेयर बनाए। महेश नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार थिए।

महेश आफ्नो व्यक्तित्व र अरूलाई सहयोग गर्ने स्वभावका कारण मेयरमा चयन भएको स्थानीय बताउँछन्। महेश २० हजार १०५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। उनले निवर्तमान मेयर साहलाई ८ हजार १३९ मतअन्तरले पराजित गरे। साहले ११ हजार ९६६ मत पाए।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा साह ११ हजार ३०७ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए। त्यसबेला कांग्रेसबाट मेयरको उम्मेदवार बनेका अचमितलाल चौधरीले ९ हजार १३८ मत पाएका थिए। २०७४ मा साहले पाएको मतभन्दा अहिले महेशले प्राप्त गरेको मत झन्डै दोब्बर बढी छ।

मधेसकेन्द्रित दल र कांग्रेसको गढ मानिएको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह जिततर्फ अग्रसर छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा मधेसकेन्द्रित दल तत्कालीन राजपाबाट मेयरको उम्मेदवार बनेका लालकिशोर साह २१ हजार २७७ मत ल्याएर मेयर निर्वाचित भएका थिए। त्यसबेला उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोजकुमार साहले १० हजार ६३९ मत पाएका थिए।

त्यो बेला लालकिशोरसँग हारेका मनोजकुमार अहिले स्वतन्त्र उम्मेदवार छन्। उनी तिनै लालकिशोर (निवर्तमान मेयर) लाई पछि पार्दै अघिअघि छन्। अहिलेसम्मको मत परिणामअनुसार मनोजकुमार ९ हजार १९४ मतसहित अग्रस्थानमा छन्। लालकिशोरको मत ३ हजार ३०१ छ। उनी अहिले चौथो स्थानमा छन्। लालकिशोर अहिले जसपाबाट मेयरको उम्मेदवार बनेका हुन्।

जनकपुरधाम मधेस प्रदेशको राजधानी हो। मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार छ। यही मधेस प्रदेशको राजधानी रहेको नगरीमा जसपाबाट मेयरको उम्मेदवार लालकिशोर जमानत बचाउन संघर्षरत छन्। कांग्रेसबाट ‘बागी’ बनेर स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बनेका मनोजकुमार मतले सबैभन्दा अगाडि देखिएका छन्। राजनीतिक विश्लेषक नित्यानन्द भन्छन्, ‘जनकपुर उपमहानगरपालिकामा जनताको दलभन्दा उम्मेदवारको व्यक्तित्वका पक्षमा परेको देखिन्छ।’

माओवादी केन्द्रको गढ मानिएको धनुषाको सहिदनगर नगरपालिकामा मेयरमा जसपा र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। निवर्तमान मेयर उदयकुमार बरबरिया यादवलाई तेस्रो नम्बरमा पार्दै जसपाका दिनेशप्रसाद यादव मेयरमा निर्वाचित भएका हुन्। दिनेश ५ हजार ७४३ मतसहित विजयी भएका हुन्। निवर्तमान मेयर बरबरिया ४ हजार ७७ मतमा सीमित भए। उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह ४ हजार ९३१ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मीनियाकुमारी मण्डल ४ हजार ७९१ मत ल्याइन्।

सहिदनगर नगरपालिकामा पनि पार्टीभन्दा व्यक्तित्वका पक्षमा मत परेको देखिन्छ। ‘यहाँ जसपाको संगठन माओवादीको भन्दा कमजोर छ। तर व्यक्तित्व बरबरियाको भन्दा दिनेशको बलियो छ,’ एक स्थानीयले भने। यस पालिकामा यसपालि दलभन्दा व्यक्तित्वलाई मत परेको छ।

पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीकी पत्नी जलेखा खातुन जसपाबाट उम्मेदवार थिइन्। मुख्यमन्त्रीकी पत्नी भए पनि खातुन ३ हजार १ सय २३ मत ल्याएर तेस्रो स्थानमा सीमित भइन्। उपाध्यक्षमा कांग्रेसकी बबिता सिंह ५ हजार ५३१ मतसहित विजयी भइन्। यस पालिकाको अध्यक्षमा कांग्रेसकै श्रीकान्त यादव निर्वाचित भए। उनले ५ हजार ७ सय ४९ मत पाए। मेयरका उम्मेदवार जसपा कृष्णमोहन यादवले ३ हजार ४ सय ४७ मतसहित तेस्रो भए।

सप्तरीमा मतगणना सम्पन्न भएका ११ पालिकाको नतिजा हेर्दा आफ्नो गढ भनेका क्षेत्रमै दलका उम्मेदवार पराजित भए्। जसपाले आफ्नो गढ मानेको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा शैलेशकुमार साह (निवर्तमान मेयर) जनमत पार्टीका वीरेन्द्र माझीसँग १ सय ६१ मतान्तरले पराजित भए। साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह सुडीका छोरा हुन्।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा निर्वाचित उनी पार्टी विभाजनका बेला बुवासँगै जसपामा बसेका हुन्। हनुमाननगर क्षेत्र र पार्टीमा नवलकिशोरको राजनीतिक वर्चस्व भएकै कारण अघिल्लो स्थानीय निर्वाचनमा शैलेशकुमार मेयरको टिकट पाएर निर्वाचित भएका थिए। त्यसपछि उनको परिचय ‘मन्त्रीजीका छोराबाट मेयरमा परिणत भएको थियो। अहिले शैलेशकुमारले ६ हजार २४६ मत पाए। माझी ६ हजार ४०७ मत पाएर मेयरमा निर्वाचित भए। यस पालिकामा जनमत पार्टीको संगठन जसपाको जस्तो बलियो छैन। तर पनि माझी आफ्नो व्यक्तित्वका आधारमा मेयरमा निर्वाचित भएको स्थानीय बताउँछन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहका छोरा सतिशकुमार सिंह तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा पराजित भए। अघिल्लो स्थानीय निर्वाचनमा शेखरकुमार तत्कालीन राजपाको उपाध्यक्ष हुँदा मेयरको टिकट पाएका सतिशकुमार जनताबाट पनि अनुमोदित भएका थिए। यसपटक भने उनी कांग्रेसका अरुणकुमार मण्डलसँग १ हजार ४ सय ७८ मतान्तरले पराजित भए। अरुणले ५ हजार ४७४ मत ल्याउँदा सतिशकुमारले ३ हजार ६४६ मत पाए।

सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका कांग्रेसको गढ मानिन्छ। यस पालिकामा अघिल्लो निर्वाचनमा एमाले तेस्रो स्थानमा सीमित भएको थियो। अहिलेको निर्वाचनमा अध्यक्षमा एमालेका दीनानाथ चौधरी निर्वाचित भए। उनले कांग्रेसका परशुराम चौधरीलाई ९ सय ८६ मतअन्तरले पराजित गरे। दीनानाथले ४ हजार ८७४ मत पाउँदा परशुराम ३ हजार ८८८ मतमा रोकिए। परशुराम निवर्तमान अध्यक्ष हुन्।

बलान बिहुल गाउँपालिका मधेसकेन्द्रित दलको गढ मानिन्छ। यहाँ निवर्तमान अध्यक्ष दयानन्द गोइत दोहोर्‍याएर अध्यक्षको उम्मेदवार बने। तर यो निर्वाचनमा जसपाबाट उम्मेदवार बनेका उनी तेस्रो स्थानमा सीमिति भए। जनमत पार्टीका खेमचन्द्र यादव २ हजार ९ सय ९४ मत ल्याएर यो गाउँपालिकाको अध्यक्ष निर्वाचित भए।

विष्णुपुर गाउँपालिका कांग्रेसको संगठित क्षेत्र मानिन्छ। तर यहाँ कांग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका लीलाम्बर यादवलाई जसपाका उमेशप्रसाद यादवले ३ सय ४५ मतान्तरले पराजित गरे। लीलाम्बर निवर्तमान अध्यक्ष पनि हुन्। तिरहुत गाउँपालिका पनि मधेसवादी दलको आधार क्षेत्र मानिन्छ। यहाँ कांग्रेसका विजयकुमार यादवले निवर्तमान अध्यक्षसमेत रहेका जसपाका उम्मेदवार हेमन्तकुमार बहडखेरलाई ५ सय ७० मतअन्तरले पराजित गरे।  

सिरहाको नवराजपुर गाउँपालिका कांग्रेसको गढ मानिन्छ। गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा यस गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विश्वमोहनप्रसाद यादव निर्वाचित भएका थिए। यसपालि जसपाका उम्मेदवार शिवउद्गार यादव विश्वमोहनलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए। अघिल्लो स्थानीय निर्वाचनमा विश्वमोहनसँग २०९ मतअन्तरले पराजित शिवउद्गार यसपालि २ हजार २९ मतअन्तरले विजयी भए। शिवउद्गारले ४ हजार ५५४ मत पाए। उनका निकटतम प्रतिस्पर्धी विश्वमोहनले २ हजार ५२५ मत पाए।

विश्वमोहनसँग पुर्ख्यौली राजनीतिक बिरासत छ। कांग्रेसकी प्रभावशाली नेत्री चित्रलेखा यादव विश्वमोहनकी दिदी हुन्। नवराजपुर गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकी पुनमकुमारी यादव निर्वाचित भइन्। पुनमले ४ हजार ३१८ मत ल्याइन्। पुनमकुमारीकी निकटतम प्रतिस्पर्धी निवर्तमान उपाध्यक्षसमेत रहेकी कांग्रेसकी उम्मेदवार शोभाकुमारी यादवले २ हजार ३८५ मत पाइन्। जसपाका उम्मेदवारले नवराजपुर गाउँपालिकाको वडा १, २, ३, ५ मा जितेका छन्। कांग्रेस ४ नम्बर वडामा निर्वाचित भएको छ।

सिरहाको अर्नामा गाउँपालिका माओवादीको गढ मानिन्छ। यहाँ २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्षको उम्मेदवार भएका चन्देश्वर मण्डललाई पराजित गर्दै माओवादी केन्द्रका ठकु महतो निर्वाचित भएका थिए। ठकुले २ हजार ४३६ मत र चन्देश्वरले २ हजार २०९ मत ल्याएका थिए।

यसपटकको निर्वाचनमा निवर्तमान अध्यक्षसमेत रहेका ठकु जनता समाजवादी पार्टीका अध्यक्षका उम्मेदवार अशोककुमार यादवसँग १ हजार १३ मतअन्तरले पराजित भए। विजयी भएका जसपाका अशोककुमारले ३ हजार २३३ मत प्राप्त गरेका छन्। अध्यक्षमा एमालेका चन्देशवर मण्डले २ हजार ८१० मतसहित दोस्रो भए। निवर्तमान अध्यक्ष ठकु तेस्रोमा सीमित भए।

उल्लिखित तथ्य र तथ्यांकले यसपालिको निर्वाचनमा मतदाताले दलभन्दा पनि व्यक्तिको व्यक्तित्व हेरेको देखाउँछ। एउटै पार्टीका मेयर पराजित भएर उपमेयर निर्वाचित भएको देखिएको छ। उम्मेदवार आफ्नो पार्टीको प्रभाव रहेको क्षेत्रमै पछारिएका छन्। राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार यसपालिको निर्वाचनमा अपवादबाहेक मतदाताले गम्भीर भएर मतदान गरेको परिणामले देखाएको छ। ‘फेस भ्यालु कमजोर भएका धेरैजसो उम्मेदवार पराजित भएका छन्,’ उनले भने, ‘मतदाताले दलभन्दा पनि उम्मेदवारको व्यक्तित्व हेरेर मत जाहेर गरेको पाइएको छ। फेस भ्यालु कमजोर भएका उम्मेदवार अपवादबाहेक पराजित भएको देखिन्छ।’

प्रकाशित: ८ जेष्ठ २०७९ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App