coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

धरमरमा सत्ता गठबन्धन

स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धर्मराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोपप्रत्यारोपमा उत्रिन थालेका छन्।

अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको कांग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोपप्रत्यारोप सुरु भएको हो।

कांग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता–कार्यकर्तासमेत नभएको तथा कतिपय कांग्रेसका कार्यकर्ताले कांग्रेसबाहेक कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न अप्ठेरो परेका कारण उनीहरूले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका छन्। नेकपा माओवादी र नेकपा एसले स्थानीय चुनावमा कांग्रेसबाट पर्याप्त सहयोग नभएको गुनासो गरिरहेका बेला कांग्रेसका नेताहरूबाटै यस्तो धारणा आएको हो।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बिहीबार नेकपा एस र माओवादीले चुनावी परिणामलाई लिएर गुनासो गर्नुपर्ने ठाउँ नभएको बताएका थिए। त्यसको एक दिनपछि शुक्रबार संघीय संसद् भवन बानेश्वरमा कांग्रेस महामन्त्री गगन थापाले कतिपय कांगे्रस कार्यकर्ताले आफ्नो पार्टीबाहेक कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट नहालेका कारण उनीहरूको थोरै मत आएको बताएका छन्। ‘गठबन्धनमा आबद्ध अन्य दलको २० प्रतिशत मत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको हो। कांग्रेसको ८० प्रतिशत मत भएको ठाउँमा अन्य पार्टीको २० प्रतिशत मत थपिँदा कांग्रेसको जित सहज भएको हो’, महामन्त्री थापाले संसद् भवन परिसरमा पत्रकारसँग भने।

स्थानीय तहको निर्वाचनको पुरै परिणाम सार्वजनिक नहुँदै जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले गठबन्धनमा रहेका अन्य दलबाट आफूलाई धोका भएको निष्कर्ष निकालिसकेका छन्।

विराटनगर महानगरपालिका र जनकपुर उपमहानगरमा गठबन्धनमा रहेको दलहरूबाट आफ्ना उम्मेदवारले धोका पाएको जसपाका नेताहरूको बुझाइ छ। २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले तराईमा निकै कम स्थानमा जित हात पारेको भए पनि अहिले उल्लेख्य प्रगति गरेको छ। त्यसैगरी कांग्रेसले पनि तराईमा आफ्नो उपस्थिति बलियो बनाएको छ।

सत्ता गठबन्धनको अर्को दल नेकपा एसको बुझाइए पनि कांग्रेस–माओवादी मिलेर सिट बाँडफाँट र मतदानको प्रक्रियामै धोका दिएको छ। उसले अहिलेसम्म १४ वटा पालिकाको प्रमुख/अध्यक्ष, १७ पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दुवैले आफ्ना नेता–कार्यकर्तालाई कांग्रेस र माओवादीले मतदाता मात्रै बनाएको तर भनेजस्तो सहयोग नगरेको बताइसकेका छन्।

उनीहरूले निर्वाचनको पुरै परिणाम आएपछि यसको समीक्षा हुने बताएका छन्। निर्वाचनको चार दिनअघि नेकपा एसका अध्यक्ष नेपालले आफ्ना नेता–कार्यकर्तालाई गठबन्धनप्रति इमानदार भएर लाग्न निर्देशन दिएका थिए। चुनावपछि सो दलका शीर्ष नेताले आफ्ना कार्यकर्ताले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारलाई इमानदारपूर्वक मतदान गरेको तर कांग्रेस–माओवादीले सहयोग नगरेको बताएकाले पनि गठबन्धनमा खटपट सुरु भएको बुझिन्छ।

विराटनगर र जनकपुरमा अहिलेसम्मको मतगणना परिणामबाट जसपाका नेताहरू पनि खुसी हुन सकेका छैनन्। वीरगन्ज महानगरपालिकामा भने मेयरमा जसपाका उम्मेदवार अगाडि छन्। तर विराटनगरमा उपमेयरका उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई सोचेजस्तो मत आएको छैन। त्यहाँ उमपेयरमा एमालेकी शील्पा कार्कीले अग्रता लिइरहेकी छिन्। शुक्रबार साँझसम्म जसपा २० पालिकाको प्रमुख/अध्यक्षमा विजयी भएको छ।

माओवादीले २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा अहिले केही स्थान बढाएको छ। पहिला १ सय ११ स्थानको प्रमुख जितेको माओवादीले शुक्रबार साँझसम्म ११३ पालिकाको नेतृत्व हात पारेको छ। माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले यसमा सन्तुष्ट हुने ठाउँ नभएको बताएका छन्। ‘कांग्रेस, माओवादी र नेकपा एसले सबै स्थानमा गठबन्धन गरेको भए एमालेलाई १ सय सिटमा खुम्चाउन सकिन्थ्यो तर त्यसो हुन सकेन। कतिपय स्थानमा कांग्रेसका साथीले माओवादीका उम्मेदवारलाई मतदान नगर्दा हारेको अवस्था छ’,पुनले भने।

धेरै स्थानमा माओवादी, नेकपा एस र जसपाका उम्मेदवारलाई कांग्रेसका सबै कार्यकर्ताले मतदान नगर्दा हार बेहोर्नुपरेको उनीहरूको भनाइ छ। काठमाडौंका दुईवटा नगरपालिकाको मत परिणामा हेर्दा पनि यो स्पष्ट हुने उनीहरूको भनाइ छ। कांग्रेस र माओवादी गठबन्धनबाट कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसले मेयरमा जित हात पार्‍यो तर माओवादीका उपमेयरका उम्मेदवार पराजित भए।

त्यस्तै शंकरापुर नगरपालिकामा नेकपा एसका मेयरका उम्मेदवार पराजित हुने र कांग्रेसका उपमेयरका उम्मेदवार जित्ने अवस्था आयो। सुरुमा कांग्रेस र माओवादी मिलेर नेकपा एसलाई पाखा लगाइयो र पछि कांग्रेसबाट माओवादीले पनि धोका पाएको एक नेताले बताए। कम्तीमा ६० स्थानीय तहमा प्रमुख पद जित्ने आकांक्षासहित गठबन्धनमा सहभागी भएको नेकपा एसलाई करिब ६६ स्थानमा मात्रै गठबन्धनमा सहभागी गराएको थियो।

त्यसमा पनि कतिपय पालिकामा कांग्रेस र माओवादी इमानदार नभएकाले नेकपा एसका उम्मेदवारले जित्न सकेनन्। ‘स्थानीय तह निर्वाचनमा गठबन्धन भएदेखि नै हामीले अन्याय भएको महसुस गरेका छौं, यो विषयमा समीक्षा हुन्छ’, नेकपा एसका केन्द्रीय सदस्य मोहन गौतमले भने।

उनका अनुसार पूरै नतिजा आएपछि पार्टीको बैठकले भावी रणनीति र अहिलेको निर्वाचनबारे समीक्षा गर्नेछ। ‘गठबन्धनबाट धोका भयो भन्नेमा पार्टीभित्र एक मत छ। आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा पार्टी बैठकमा छलफल हुन्छ। बैठकको निर्णयका आधारमा गठबन्धन दलसँग पनि छलफल हुनेछ’, गौतमले भने।

गठबन्धनमा देखिएको धरमरको फाइदा उठाएर प्रमुख प्रतिपक्षी एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बलियो बन्न चाहन्छ।

प्रकाशित: ७ जेष्ठ २०७९ ००:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App