१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

जसले स्वतन्त्र उम्मेदवारी दिएर जिते

राजुसिंह कठायत, कमलबहादुर शाही, मोहन केसी, कार्मा छोइवेल गुरुङ र चक्रप्रसाद शर्मा।

कर्णालीका चार पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। स्वतन्त्र उम्मेदवारहरु विजयी भएसंगै जनताहरुमा आशा भरोसा बढेको देखिन्छ।

पालिका र वडामा समेत यहाँ स्वतन्त्र उम्मेदवारहरुले विजयी हाँसिल गरेका छन्। पार्टीका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी भएसंगै कर्णालीमा पार्टी होइन् व्यक्ति हेरेर मतदान गर्ने परिपार्टीको विकास भएको बुझ्न सकिन्छ।

जुम्लाको चन्दननाथ नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन्। कठायतले २ हजार ४ सय ३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३ सय ४१ मत ल्याएका थिए।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुख दावेदार कठायत यसपटक पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा उठेका थिए। कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीले २ हजार ९ सय १९ मत ल्याएर विजयी भए।

उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६ सय ९ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार शाहीलाई समाजवादी र माओवादीको समर्थन थियो। कालिकोटको सान्रीत्रिवेणी गाउँपालिकाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसीले १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्दी डम्बरबहादुर शाहीले १ हजार ३ सय २५ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार केसीले पुतली चिन्ह लिएर चुनावमा होमिएका थिए। केसीले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। एमालेका ब्यासी तिरुवा र कांग्रेसका मथुरा जैसी सान्रीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा पराजित भए।

त्यस्तै डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले पालिका अध्यक्षमा चुनाव जितेका छन्। पालिकामा पहिलो पटक भएको चुनावमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका हुन्। ६ वडा रहेको पालिकामा ११ सय ८९ मतदाता रहेको पालिकामा ९ सय ९९ मत खसेको थियो।

स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङले ५ सय ३५ मत ल्याएका थिए, माओवादीका तेम्वाले गुरुङले ३ सय २ मत ल्याएका थिए। दैलेखको भैरवी गाउँपालिका –४ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार चक्रप्रसाद शर्मा विजयी भएका छन्। उनले ५ सय ८० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका कमलबहादुर थापाले ४ सय ३८ मत ल्याएका थिए।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App