coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

महानगरमै ४०% मत बदर

स्थानीय तह चुनावमा सत्तासीन पाँच दल र विपक्षी दलहरूको अलगअलग गठबन्धनका कारण मतदाता अलमल पर्दा ४० प्रतिशतसम्म मत बदर भएको छ। 

ठुलो मतपत्र, फरकफरक चुनाव चिह्न र उम्मेदवार धेरै भएकाले मतदाता अलमलमा पर्दा बदर मत संख्या बढी भएको हो। देशका ६ वटा महानगरपालिकाको मतगणना जारी रहेकै बेला गनिसकिएकामध्ये २५ देखि ४० प्रतिशतसम्म मत बदर भएको भेटिएको छ। उम्मेदवार नै नभएको चिह्नमा पनि स्वस्तिक छाप लगाइएको छ। सत्तासीन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले स्थानीय चुनावमा तालमेल गरेका थिए।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र परिवार दलसमेत बीच पनि तालमेल भएको थियो। सबै पार्टीका चुनाव चिह्न फरक भएको र मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरू फरकफरक दलबाट उम्मेदवार भएकाले मतपत्रमा तलमाथि छाप लगाउँदा बदर प्रतिशत बढेको देखिएको छ। निर्वाचन आयोगले एक पालिकामा एउटा पार्टीका सातजना प्रतिनिधि छान्न पाउनेगरी लगातार चुनाव चिह्न राखेको छ। तर तालमेल गरेका उम्मेदवारलाई भोट दिँदा माथि, तल, दायाँ, बायाँ स्वस्तिक छाप लगाउनुपर्ने भएकाले मतदाताले मेसो नपाउँदा भोट खेर गएको हो ।

काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, पोखरा, भरतपुर महानगरपालिकामा मतगणना भइरहँदा बदर मतपत्रको चाङ लागेको छ। विराटनगर महानगरपालिकामा बुधबार बेलुकीसम्म ४८ हजार २०९ मत गनेर सकिएको छ। विराटनगरमा मेयर पदमा परेका मतमध्ये १२ हजार २२१ अर्थात् २५ प्रतिशत बदर भेटिएको छ।

त्यसैगरी उपमेयर पदमा परेका मतमध्ये १८ हजार ७७० अर्थात् ३९ प्रतिशत बदर भेटिएको सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिएका छन्।

२०७४ सालको स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकामा खसेको मतको करिब २५ प्रतिशत बदर भएको थियो। विराटनगरमा सत्तारूढ दलबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ। मेयरमा कांग्रेस र उपमेयरमा जसपाका उम्मेदवार छन्। विराटनगरमा उपमेयरमा कांग्रेसको उम्मेदवार नहुँदा पनि मतदाताले लगातार सातवटै रूख चिह्नमा छाप लगाउँदा मत बदर भएको हो। त्यसैगरी जसपाको चुनाव चिह्नमा पनि लगातार स्वस्तिक छाप लगाइएका कारण मत बदर भएको हो। तर उम्मेदवार नउठेका माओवादी केन्द्र र नेकपा एसको चुनाव चिह्नमा पनि मत परेको छ।

कतिपय स्थानमा तालमेल गरिएका दलका दुवै चिह्नमा पनि छाप लगाइएको छ। मतदाताको अलमल र दलहरूले आफ्नो चिह्नमा मात्रै छाप लगाउन सिकाउँदा बदर मत बढी भएको हो। उम्मेदवार नै नउठेका दलको चुनाव चिह्नमा पनि छाप लगाएका मतपत्र धेरै भेटिएको गणकहरूले बताएका छन्।

वीरगन्ज महानगरपालिकामा २६ हजार ६९९ मतगणना भएकोमा मेयर पदमा परेका ५ हजार ९४८ मत बदर भएका छन्। त्यस्तै उपमेयरमा १२ हजार ४६१ मत बदर भएको छ। वीरगन्जमा जसपाबाट उपमेयरमा उम्मेदवार नभए पनि छाता र साइकल चिह्नमा छाप लगाइएका मतपत्र भेटिएका छन्। मतदाताले तलमाथि दिँदा बिग्रन्छ भन्ने डरले लहरै भोट दिएको भेटिएको त्यहाँका गणकले बताए। 

त्यसैगरी पोखरा महानगरपालिकामा वडा सदस्यमा परेका धेरै मत बदर भएको भेटिएको छ। पाँचदलीय गठबन्धन भएको पोखरामा महिला र दलित महिला, खुला सदस्यका उम्मेदवारलाई भिन्नाभिन्नै चिह्नमा मत दिनुपर्ने तर उम्मेदवारै नभएको चिह्नमा समेत छाप लगाउँदा बदर संख्या बढी भएको हो ।

काठमाडौं उपत्यकाको ललितपुर महानगरपालिकामा सत्तासीन गठबन्धन दलबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार चुनावमा उठेका थिए। तर मतदाताले उम्मेदवार नै नभएको कांग्रेसको चिह्नमा भोट दिएका छन्। ४ हजारभन्दा बढी मत उम्मेदवार नै नभएको चिह्नमा परेको त्यहाँको निर्वाचन कार्यालयले जनाएको छ। काठमाडौं महानगरपालिकामा पनि उम्मेदवार नै नभएका चिह्नमा छाप लगाएको, कतिपय एउटै पदमा दुईभन्दा बढी उम्मेदवारको चिह्नमा छाप लगाएको पाइएको गणकले बताएका छन्।

निर्वाचन आयोगले यसपटक मतदाता शिक्षामा २४ करोड रूपैयाँ छुट्याए पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा मत बदर संख्या बढ्ने संकेत चुनावअघि नै आकलन गरिएको थियो। आयोग आफैंले काठमाडौंमा चुनावअघि गरेको नमुना मतदानमा ३० प्रतिशत मत बदर भएको थियो। यसपटक मतदाता परिचयपत्र लिन आउनेलाई मतदान केन्द्रमा खटिएका कर्मचारीले नै मतदाता शिक्षा दिएका थिए। काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी ६४ वटा चुनाव चिह्न भएको मतपत्र थियो।

प्रकाशित: ५ जेष्ठ २०७९ ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App