१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

एमाले विभाजनको असरः भत्किए ‘लालकिल्ला’

स्थानीय तह निर्वाचनमा एमाले विभाजनको असर देखिएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पालिकामा एमालेका उम्मेदवार थोरै मतले पराजित भएपछि विभाजनको असर देखिएको हो। गत भदौमा एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नेकपा एस गठन गरेका थिए।

एमाले विभाजनपछि भएको स्थानीय तह निर्वाचनबाट वर्षौंदेखि एमालेका गढ क्षेत्र भत्किएका छन्। थोरैथोरै मतले कांग्रेसले निर्वाचनमा जित हात पारेको छ। कांग्रेसले एमालेका गढ भत्काएर जित हात पारेको हो।

इलाममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र गोदकमा बहुदलपछि पहिलो पटक नेपाली कांग्रेसले जितेको छ। नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका दिलीप प्रधान ‘ओमनाथ’ ले सो क्षेत्रमा जितेका हुन्। ३१ वर्षदेखि त्यस स्थानमा एमालेले जित्दै आएको थियो। त्यहाँ कांग्रेसको जितसँगै एमालेको किल्ला भत्किएको छ। कांग्रेसका प्रधान एमालेका उम्मेदवार रोम लुंगेलीलाई ३ सय ६० मतले पछि पार्दै गोदकको वडाध्यक्ष बनेका हुन्। प्रधानले १ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लुंगेलीले १ हजार ४८ मत पाए।

इलामकै सन्दकपुर गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसले लिएर चुनावी गठबन्धन गरेका थिए। गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भए। त्यहाँ पनि एमाले विभाजनको असर स्पष्ट देखिएको छ।

कास्कीको माछापुच्छे गाउँपालिकामा पनि कांग्रेसले बाजी मारेको छ। अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतअन्तरले पछि पार्दै कांग्रेसका मिनबहादुर गुरुङले जितेका हुन्। उपप्रमुखमा पनि कांग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पछि पार्दै विजय हात पारिन्। अधिकारीले ६ हजार ३ सय ७६ र तिवारीले ५ हजार ९ सय ५१ मत पाए। त्यहाँ पनि २०५४ र २०७४ मा एमालेले जितेको थियो।

नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो। राजनीतिक हिसाबले निकै  महत्त्वपूर्ण मानिने सो वडामा यसअघिका दुई स्थानीय निर्वाचन एमालेले जितेको थियो।

२०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि एमालेले हार भोगेको छ। त्यस्तै अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा अहिले कांग्रेसले जितेको छ। धनकुटाको छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा कांग्रेसले जित हात पारेको हो।

छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३ सय ५९ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर लिम्बुले ४ हजार १ सय ६४ मत प्राप्त गरे। त्यस्तै, साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्र राई ५ हजार ३ सय ९९ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४ हजार ८ सय २८ मत पाए।

त्यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिकामा पनि एमालेको गढ भत्किएको छ। त्यहाँ २६ वर्षपछि कांग्रेसले चुनाव जित्ने अवसर पाएको छ। सोताङमा कांग्रेसका खिलराज बस्नेतले एमालेका प्रकाश कार्कीलाई पराजित गरेका हुन्। सोलुखुम्बुकै नेचा सल्यान गाउँपालिकामा पनि एमाले विभाजनको असर परेको छ। त्यहाँ पनि एमालेका जिल्ला अध्यक्षसमेत रहेका डुफकुमार बास्तोला पालिका अध्यक्षमा २ सय ५६ मतले पराजित भए। एमालेकै किल्ला मानिएको रामेछापको गोकुलगंगा गाउँपालिकामा पनि कांग्रेसले ३० वर्षपछि जित निकालेको छ।

वर्षौंदेखिको वामपन्थी गढ मानिएको काठमाडौंको कीर्तिपुरमा पनि यसपटक कांग्रेसले जित निकालेको छ। कीर्तिपुर नगरपालिकामा कांग्रेसले मेयरसहित बहुमत वडामा जित हासिल गरेको छ। मेयरमा कांग्रेसका राजकुमार नकर्मी एमालेका रत्नकेशर बज्राचार्यलाई पछि पार्दै विजयी भएका हुन्। नकर्मी ९ हजार ४३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याए।

कीर्तिपुरका अघिल्ला दुई स्थानीय निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो। यसपटक मेयर–उपमेयरसहित ९ वटा वडाको वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भए। एमाले नेतृत्वले पार्टीभित्र १० बुँदे सहमतिका पक्षधर नेतालाई टिकट नदिनु र कीर्तिपुरका लोकप्रिय नेता सुरेन्द्र मानन्धर जिम्मेवारीविहीन हुनु नै हारको प्रमुख कारण मानिएको छ।

अघिल्लो पटक मेयर जितेका रमेश महर्जनलाई फेरि टिकट नदिनु पनि हारको अर्को कारण मानिएको छ। विद्यार्थी राजनीतिबाट उदाएका बटुकृष्ण थापा एमाले छाडेर नेकपा एसतिर लाग्नु पनि हारको कारण बताइएको छ।

गुल्मीको रेसुङगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी पनि थोरै मतले विजयी भएका छन्। उनले एक हजारभन्दा कम मतले प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेलाई हराएका हुन्।  ‘एमाले विभाजनको असर परेको छैन भन्ने होइन, हराउन पर्याप्त भएको छ, यसबारे पार्टीभित्र व्यापक समीक्षा गर्नुपर्छ,’ एमाले स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार अहिलेसम्मको नतिजा हेर्दा एमाले करिब ६० स्थानमा एक हजारभन्दा कम मतले पराजित भएको छ। यसले निर्वाचन परिणाममा एमाले विभाजनको असर स्पष्ट परेको देखिन्छ। पार्टी विभाजन हुँदा एमालेलाई पालिकास्तरमा करिब ५ सयदेखि १ हजार मतसम्म घाटा भएको छ। तर एमाले नेतृत्वले यो विषयमा आन्तरिक समीक्षा गरिसकेको छैन।

नेकपा एसका नेताले एमालेलाई हराउन आफ्नो मत निर्णायक रहेको निर्वाचनले पुष्टि गरेको बताउँदै आएका छन्। प्रदेश १ मा मात्रै कांग्रेसले २० भन्दा बढी स्थानीय तहमा जित हात पार्दै एमाले विभाजनको फाइदा लिएको छ। संखुवासभाको खाँदवारीमा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर गठबन्धन भएको थियो। कांग्रेसका महेश थपलियाले अध्यक्षमा विजय प्राप्त गरे तर उपाध्यक्षमा माओवादी उम्मेदवार एमालेसँग पराजित भए।

यसरी हेर्दा एमालेका लागि निकै ठुलो घाटा देखिएको छ। इलामको चुलाचुली गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरे। कांग्रेसका राजेन्द्र केरुङ अध्यक्षमा निर्वाचित भए तर उपाध्यक्षमा माओवादीका उम्मेदवार शुकबहादुर लावती एमालेका उम्मेदवारसँग पराजित भए। ‘मुलुकभर यस्तो भएको छ, यसको समीक्षा भएन भने एमालेका लागि आगामी संघ र प्रदेशको निर्वाचनमा समेत घाटा हुने निश्चित छ,’ एमाले स्थायी कमिटीका ती सदस्यले भने।

प्रकाशित: ४ जेष्ठ २०७९ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App