८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजय भएको छ। सोमबार विहान सम्पन भएको मतगणनामा काँग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए।  

अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मिना बिकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाएकी थिइन्। आठ वटा वडा रहेको रघुगंगाको पाँच वटा वडा काँग्रेस र तीन वटा वडामा एमालेका उमेद्वार प्यानल सहित विजयी भएका छन्।

रघुगंगा–१ बेगमा काँग्रेसका बिलबहादुर फगामी, २ भगवतिमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा काँग्रेसका पविन गर्बुजा, ५ झिँमा काँग्रेसका मनबहादुर शेरपुञ्जा,६ पाखापानीमा काँग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा (रिम) र ८ कुइनेमंगलेमा काँग्रेसका गमान छन्त्याल वडा अध्यक्षमा निर्वाचित भएका छन्।

१३ हजार ९४७ जना मतदाता रहेको रघुगंगा गाउँपालिकामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचित हुने ४२ पदका लागि १३५ जना उमेद्वार प्रतिस्पर्धामा उत्रिएका थिए । म्याग्दीको ६ वटा मध्य दुई वटा स्थानीय तह र ३० वटा वडाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन्।

मालिका गाउँपालिका यसअगाडी नेपाली कांग्रेसले जितेको थियो। मतपरिणाम सार्वजनिक भएका ३० वटा वडा मध्य एमालेले १४, काँग्रेसले १२ र माओवादीले ४ वटा वडामा जित हाँसिल गरेका छन्। अब १५ वटा वडा र चार वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App