११ वर्षअघि टोखा महोत्सवमा पुग्दा दुई वर्षका रेनिश नापित परम्परागत नेवार पहिरनमा थिए र चाकु खाँदै थिए । त्यो अनुपम दृश्यले एउटा पत्रकारलाई आकर्षित नगर्ने कुरै भएन । मैले धमाधम तस्बिर खिचें– क्लिक क्लिक ।

ढाका टोपी लगाएका रेनिशको तस्बिर पत्रिकामा छापियो । त्यतिबेला सो तस्बिर सामाजिक सञ्जालमा खुबै चल्यो । कतिपय चाकु उद्योगले त उनको तस्बिर राखेर आफ्नो व्यवसायको प्रचारसमेत गरे । तिनै ‘पोस्टर ब्वाई’को तस्बिर लिएर पछ्याउँदै जाँदा १३ वर्ष पुगेका उनी टोखा तलेजु मन्दिरको परिसरमा चाकु खाइरहेको बेला भेटिए ।
‘चाकु मलाई सधैं मिठो लाग्छ,’ कक्षा ७ मा अध्ययनरत रोनिशले भने, ‘बजारको सबै चकलेटभन्दा यही मिठो लाग्छ ।’ बाल्यकालको आफ्नो फोटो देखेर मुस्कुराएका उनले बजार जाँदा पोस्टरमा आफ्नो तस्बिर पहिल्यै देखेको उनले सुनाए । ‘म तस्बिर देखेर खुसी हुन्थें तर कसैलाई भन्थिन्,’ उनले भने, ‘त्यो तस्बिरको मान्छे मै हुँ ।’

रोनिशकी आमा शकुन्तला नापितले सानैदेखि छोराले चाकु मन पराउने गरेको सुनाइन् । ‘मेलामा भुलाउन मैले चाकु खान दिएकी थिएँ,’ उनले भनिन्, ‘अहिले आफैं खोजेर खान्छ ।’ आफूलाई पनि सानोमा बाआमाले चाकु खान दिएको सम्झना गर्दै उनले चाकु टोखाको चकलेटजस्तै भएको सुनाइन् । उनी मात्र होइनन्, यहाँ चाकु मन पराउनेको संख्या निकै बढेको छ । टोखाको परम्परागत चाकुको माग देशको सरहद नाँघेर विदेशसम्म पुगेको व्यवसायीहरू बताउँछन् । ‘हामीबाट उत्पादित चाकु विदेशमा पनि जान्छ,’ टोखा चाकु उद्योगका राजकाजी श्रेष्ठले नागरिकसँग भने, ‘यसबाट हामीलाई चाकु बनाउन थप हौसला मिल्छ ।’
टोखा अर्थात् उखु खेत । यति बेला टोखामा उखुबारी होइन, अपार्टमेन्ट ठडिएका छन् । तैपनि चाकु बनाउन छाडिएको छैन । उखु नरोपे पनि सक्खर किनेर किसानले माघे संक्रान्तिका लागि धमाधम चाकु बनाउँदै छन् ।
रेनिशको तस्बिर सामाजिक सञ्जालमा भेटेको बताउँदै राम्रो लागेर आफूले चाकुको प्रचारमा प्रयोग गरेको उनले बताए । ‘परम्परागत पहिरनमा परम्परागत मिठाई खाँदै गरेको बालकको तस्बिर निकै राम्रो लाग्यो,’ उनले भने, ‘त्यसैले हामीले प्रचारमा प्रयोग गर्यौं ।’

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ सो क्षेत्रमा वार्षिक ६–७ करोडको चाकु कारोबार हुने बताउँछन् । यसपालि पाँच हजार केजी सक्खर संखुवासभा, गुल्मीलगायत ठाउँबाट ल्याएको उनी बताउँछन् । टोखा क्षेत्रको चाकु उद्योगमा झन्डै ६ सयले रोजगारी पाएको उनी बताउँछन् । उनका अनुसार हाल नेपालभर ५० भन्दा बढी चाकु उद्योग छन् । ‘तीमध्ये टोखा नगरपालिका–२ र ३ मा पर्ने बजारभित्र अहिले १४ कम्पनीले चाकु उत्पादन गर्दै आएका छन्,’ उनले भने, ‘यहाँ बनेका चाकु असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर, उपत्यकाबाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ । टोखाकै चाकु अस्ट्रेलिया, जर्मन, जापानलगायत देशमा पुग्ने उनी बताउँछन् ।

नापतौलले गुणस्तर प्रमाणित नगर्दा आफूहरूले चाकु निर्यात गर्न नपाएको उनको गुनासो छ । ‘पुष्टकारीले चाहिँ गुणस्तर पाएको छ,’ उनले भने, ‘चाकुले नपाउँदा एजेन्टमार्फत विदेश पठाउनुपरेको छ ।’ टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि धेरै जना आउने गरेका उनी बताउँछन् । यहाँ तालिम लिएर देशका विभिन्न स्थानमा उद्योग सञ्चालन गरी काम गर्ने गर्नेहरू पनि धेरै रहेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का सांसद एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रूपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म लैजान आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिरहेको बताए । ‘टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो । यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्न सके हजारौंले रोजगारी पाउनेछन्,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु ।’ मन्त्री पौडेलले टोखाको चाकुलाई नेपालको चकलेट भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिने बताए ।
उखुबारीमा अपार्टमेन्ट, मगमगाउँदो टोखा
टोखा अर्थात् उखु खेत । यतिबेला टोखामा उखुबारी होइन, अपार्टमेन्ट ठडिएका छन् । तैपनि चाकु बनाउन छाडिएको छैन । उखु नरोपे पनि सक्खर किनेर किसानले माघे संक्रान्तिका लागि धमाधम चाकु बनाउँदै छन् । टोखा चाकुको सुगन्धले मगमगाएको छ ।

‘टोखामै चाकु बनेन भने अरूले के भन्लान्,’ चाकु उद्योगी न्हुँच्छेनारायण भन्छन्, ‘उखु नरोपे पनि सक्खर किनेर चाकु बनाउँदै आएका छौं ।’ उनी मंसिर र पुसमा निकै व्यस्त हुन्छन् । आफूले चाकु बनाउन थालेको झन्डै पाँच दशक भएको उनी बताउँछन् ।
न्हुँच्छेनारायणले सक्खरबाट चाकु बनाएको सुनाउँदै गर्दा कतिपयले उखुबाट सक्खर बनाएर चाकु बनाएको अनुभव पनि सुनाए । उनीहरूको समयमा सक्खर किनेर होइन, उखु पेलेरै चाकु बनाएको समेत बताए । ‘सानो छँदा उखुको रस पकाएर चाकु बनाएको याद छ,’ ७९ वर्षीय सानकान्छा श्रेष्ठ भन्छन्, ‘त्यति बेला टोखाका बारी उखुले ढाकिएका हुन्थे ।’ उखुका लाँक्रा चुसेर चाकु बनाउँदै गरेको याद उनमा अझै ताजा छ । ‘त्यतिबेलाको चाकु अहिलेभन्दा निकै स्वादिलो हुन्थ्यो,’ उनले भने, ‘समयसँगै चाकुको स्वाद पनि फेरिएको छ ।’
टोखामा वार्षिक ६–७ करोडको चाकु कारोबार हुन्छ । यहाँ ५ हजार केजी सख्खर संखुवासभा, गुल्मीलगायतका ठाउँबाट आयात गरिन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने बजारभित्र अहिले १४ कम्पनीले चाकु बनाउँदै छन् । जसमा झन्डै ६ सयले रोजगार पाएका छन् ।
टोखाको चाकु व्यवसायलाई सहयोग पुर्याउन नगरपालिकाले पनि चासो देखाउन थालेको छ । चाकुकै नामले चर्चित टोखामा उखु खेती पनि हुनुपर्ने माग बढेपछि नगरपालिकाले किसानलाई सहयोग गर्न चासो देखाएको हो । ‘उखु खेतीका लागि यस पटक बजेटमै डेढ लाख छुट्याइएको छ,’ कृष्ण भन्छन्, ‘चाकु स्तम्भका लागि पनि १५ लाख विनियोजन गरिएको छ ।’ उखु किसानलाई सहुलियत दिने व्यवस्था गरिएको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी बताउँछन् । ‘यसतर्फ केही किसानले चासो देखाउनुभएको छ,’ उनी भन्छन् ।
टोखालाई भ्याइनभ्याइ
कोही सक्खर पकाउँदै थिए, कोही खुदो मस्काउँदै । कोही हत्केलामा राखेर चाकुलाई आकार दिँदै थिए । उनीहरू सबैलाई भ्याइनभ्याइ छ । चाकु बनाउन मात्र होइन, चाकुको खबर सम्प्रेषण गर्न आएकालाई अन्तर्वार्ता दिन पनि टोखावासी उत्तिकै व्यस्त छन् । ‘यो केही महिनाको व्यापारले वर्षभर हामीलाई पाल्छ,’ न्हुँच्छेनारायणले हाँस्दै भने, ‘त्यसैले अहिले खेताला लगाएर भए पनि चाकु बनाउँदै छौं ।’

चाकु दिवस
ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको टोखामा अघिल्लो वर्ष पहिलो पटक ‘चाकु दिवस’ मनाइएको थियो । नेवाः गुठी टोखाको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा माघे संक्रान्ति पर्वको अवसर पारेर आज ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगर प्रमुख अधिकारीले टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान नगरपालिकाले पहल गरिरहेको बताए । उनले टोखाको नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सराहना व्यक्त गरे । नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाभित्र उत्पादित सामग्रीलाई चाकु दिवसमा प्रदर्शन गरिएको जानकारी दिए । उखु खेती हुने टोखामा लिच्छविकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । चाकु दिवसलाई निरन्तरता दिनु जरुरी छ,’ नापितले भने, ‘यसतर्फ पनि सरोकारवालाको ध्यान पुगोस् ।’

नेवार संस्कृतिमा माघ १ गते चाकु खाने चलन छ । नेवार समुदायमा काजकिरियाको बेला पनि चाकु खाइन्छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । सक्खरलाई पकाएर बनाएको चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बुढाबुढीलाई जाडोमा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।
‘टोखा चाकु लगायतका पुरानो संस्कृति जोगाउन सधैं तत्पर छ,’ अध्यक्ष नापित भन्छन्, ‘यसका लागि राज्यले सहयोग गर्नुपर्ने खाँचो छ ।’
टोखाको चाकु र ‘पोस्टर ब्वाई’ (भिडियाेमा हेर्नुहाेस्र)
प्रकाशित: २९ पुस २०८१ २०:३५ सोमबार