१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १:२३ पूर्वाह्न
ग्राहक विशेष

नेपालमा बढ्दै वृद्धवृद्धाको संख्याः सक्रिय रहनु दीर्घ जीवनको रहस्य

केही साताअघि मात्र विश्वका सबैभन्दा वृद्ध पुरूष (११४ वर्ष) को मृत्यु भयो । वेलायती नागरिक जोन अल्फ«ेड टिनिस उडले दीर्घायुका लागि निरन्तर सक्रिय हुनुपर्ने र हिँड्नुपर्ने बताएका थिए । नेपालमा पनि झण्डै सय वर्ष हाराहारीमा पुगेका वृद्धहरूको धारणा उस्तै पाइएको छ ।  

उमेरले एक सय वर्ष काटेका प्युठानका चिन्तबहादुर बस्नेत अझै पनि पुस्तक र पत्रपत्रिका पढ्छन् र कलम चलाउँछन् । आफूलाई लागेका विचार लेख्ने गर्छन् । उनको दैनिकी नै पत्रपत्रिका र पुस्तकहरूसँग बित्छ । १९८० सालको असोज ११ गते प्युठानको खैल्लामा जन्मिएका हुन्, चिन्तबहादुर । परिवार सम्पन्न थियो र उनको बाल्यकाल सुखमय बित्यो । दुःख के हो, उनलाई अनुभव नै भएन ।    

उनको बाल्यकाल प्युठानमै बित्यो, पाठशाला गए । पढे । पाठशालामा काठको पाटीमा खरीले कोरेर पढ्ने गरेको केसी सम्झन्छन् । बस्नेत भन्छन्– ऊबेला लेख्ने कागज थिएन । काठको पाटी बनाउँथ्यौँ । पार्टीमा लगाउन अंगार पिसेर मोसो बनाउँथ्यौँ । त्यही मोसो पाटीमा लगाउँथ्र्यौं र त्यसमाथि खरीले लेखेर पढ्ने गथ्र्यौं ।

काठको पाटीमा पढ्नुपर्ने त्यो बेलामा पनि पढाइप्रति अगाध उत्साह हुने गरेको उनी सम्झन्छन् । हरेक गाउँमा ठाउँठाउँमा पढाउने गुरु हुन्थे र पढ्न सक्ने र चाहनेहरू तिनै गुरुसँग गएर पढ्थे ।  

प्युठानमै उनले ६ वर्षसम्म पाठशाला पढे । पाठशाला पढेपछि उनी लेसी (कानुन) पढ्न थाले । क्षत्रीको छोराले वेद पढ्न नहुने तत्कालीन मान्यताका कारण आफू लेसी पढ्न गएको बस्नेत सुनाउँछन् । उनी भन्छन्– पाठशाला पढेपछि वेद पढ्न म क्षत्रीको छोराले नहुने भएकाले लेसी पढेँ । ऊ बेलामा लेसी पढ्नु भनेको कानुन पढ्नु हुन्थ्यो । हामीलाई जिल्ला अदालतका डिठ्ठाले लेसी पढाउने गर्थे ।  

लेसी पढिरहँदा एक दिन राणा बडा हाकिम आएर उनलाई फौजीमा भर्ना हुन भने । त्यो बेलामा राणाले जे भन्यो त्यही गर्नुपर्ने । चिन्तबहादुरलाई फौजीमा जान मन थिएन । राणाको कुरा काट्न पनि सकेनन् । चिन्तबहादुरमा चिन्ता थपियो । अन्ततः उनी तारा दल पल्टनमा भर्ना भए । पल्टन जाँदा बस्नेत १६–१७ वर्षका मात्र थिए । तर विडम्बना, उनको पल्टने जीवन राम्रो भएन । खान राम्रो पाइँदैनथ्यो र पुग्ने गरी पनि पाइन्थेन । त्यही कारण केही समय काम गरेपछि उनले पल्टनबाट राजीनामा दिए ।  

उमेरले एक सय वर्ष काटेका प्युठानका चिन्तबहादुर बस्नेत । तस्बिर : सफलता भण्डारी/नागरिक

त्यसपछि ब्रिटिस आर्मीबाट कुरा आयो । उनी भारत गएर ब्रिटिस आर्मीमा भर्ना भए । त्यो बेला उनी २२ वर्ष जतिका थिए । उनले सम्पूर्ण तालिम ब्रिटिस आर्मीमा नै गरे । बर्मा (हाल म्यान्मार) मा ब्रिटिसलाई जापानले हमला गर्दा आफू त्यहाँ रहेको चिन्तबहादुर सम्झन्छन् । ब्रिटिस आर्मीमा रहेका उनी केही वर्षको सेवापछि नेपाल फर्के ।  

छुट्टिमा नेपालमा आएपछि उनी झण्डै ३ महिना प्युठान घरमा बसे । आफ्नो हिसाबकिताब लिन पल्टन जाँदा बस्नेतको भेट नेपाली कांग्रेसका नेता महेन्द्रविक्रम शाहसँग भयो । त्यो बेला नेपाली कांग्रेसका सभापति सुवर्णशमशेर राणा थिए भने सचिव उनै शाह थिए । उनीहरुको बिचार र प्रेरणाले उनी नेपाली कांग्रेसमा काम गर्न थाले ।  

२०१२ सालमा राजा महेन्द्रले छुट्टै पुलिस फोर्स स्थापना गरे । यथेष्ठ योग्यता भएका हिसाबले बस्नेतले पुलिस फोर्समा डिएसपी भएर काम गरे । त्यो बेला आफूले धेरै काम गरेको उनी बताउँछन् । प्रहरीमा रहँदा प्रशिक्षण केन्द्रहरू बनाउनेदेखि अन्य कैयन् काम आफूले गरेको उनको दाबी छ । २०२७ सालमा भने उनी प्रहरीबाट सेवा निवृत्त भए । 

यो पनि पढ्नुहोस्

दुई वर्षपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : स्थानीयमा छैन उत्साह

 

चिन्तबहादुर बस्नेत प्रहरीबाट अवकासपछि खाली बसेनन् । त्यसपछि उनलाई तत्कालीन श्री ५ को सरकारले अर्थ मन्त्रालयको सहसचिव बनाइदियो । त्यो बेला उनले पूरै राजस्व सम्हाल्ने काम गरे । राजस्व र त्यो विषयसँग सम्बद्ध मुद्दा मामिलाको सबै काम आफूले गर्ने गरेको बस्नेत बताउँछन् । उनले अर्थ मन्त्रालयमा १० वर्ष काम गरे ।  

अर्थ मन्त्रालयमा १० वर्ष काम गरेपछि उनी फेरि राज परिषद्को सदस्य बने । त्यसपछि भने उनी राजनीतिमा आए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केसीले गाउँ पञ्चायतमा तीनपटक चुनाव लडे तर एकपटक पनि जितेनन् ।  

बस्नेतको जीवन राज्य, राजनीति, राष्ट्रसेवा वरिपरिमै बितेको छ । उनलाई कहिल्यै खालि बस्न परेन । एकपछि अर्को संस्थामा रहेर होस् वा राजनीतिमा रहेर सधैँ देशकै सेवामा खटिए । उनी आफूलाई सफल व्यक्ति ठान्छन् । भन्छन्– मान्छेले इमानदारी साथ काम गर्नुपर्छ । त्यो गरे सफल भइन्छ । मैले इमानदारीका साथ काम गरेँ । अनि सफल भएँ ।

एक सय वर्ष पार गरेका बस्नेत स्वस्थ छन् । श्रीमतीले २०६४ सालमा छाडेर गएपनि उनले अहिलेसम्म कुनै औषधि सेवन गेका छैनन् । बेलाबेलामा मुटुको चाल भने जाँच गराउने गरेका छन् । बिहान पाँच बजे उठ्छन् । नुवाउँछन् । घर वरिपरि हिँड्छन् । दिनभर घरमा आउने साथीभाइसँग गफिन्छन् । बस्नेत भन्छन्– ‘स्वास्थ्यको ख्याल गर्ने भनेर त्यस्तो छैन । म आफ्नो समयमा बस्छु । दिउँसो सुत्दिन । राति मात्र सुत्छु । बिहान ११ बजे खान्छु । बेलुका ६ बजे खान्छु । दिउँसो चिया खान्छु । त्यत्ति हो ।’ उनको खानपान पनि त्यस्तो विशेष छैन । घरमा पाकेको खान्छन् ।  

‘गर्न सक्ने काम अझै पनि गर्छु’

के खानुहुन्छ त, सय वर्षसम्म बाच्नका लागि भनेर सोध्दा चिन्तबहादुर भन्छन्– त्यस्तो यो खाने भन्ने छैन । घरमा जे पाक्छ त्यही खाने हो । म धेरै अल्छी छैन । एक सय वर्ष दुई महिना पुगेँ तर अल्छी मान्दिन । आफूले गर्न सक्ने काम अझै गर्छु ।  

आफ्नै तागतले अहिलेसम्म बाँचेको उनलाई लाग्छ । उनी भन्छन्– मेरो तागतले सय वर्ष बाँचे भन्ने लाग्छ । इमानदार छु । मसँग शक्ति छ । त्यसैले बाँचेँ । म कसैसँग डराउँदिन । आजसमम्म एक पैसा र एउटा सागसमेत मागेर खाएको छैन । मेरो आफ्नै तागत र कमाइले खाइरहेको छु ।  

बस्नेतलाई अहिले पनि देशको चिन्ता लाग्छ । उमेरले एक सय वर्ष काट्यो तर देशको चिन्ताले उत्तिकै पोल्छ । देश चलाउन सक्ने नेता उनले देखेका छैनन् । नेपाल राम्रो बनोस्, नेपाली राम्रो हुन् भन्ने उनलाई लाग्छ । उनी भन्छन्– मलाई अहिले पनि नेपाल राम्रो होस्, नेपाल बनोस् भन्ने लाग्छ । नेपाली अरूसँग झुक्न नपरोस्, नेपाली नेपाली भएर बस्न पाउन् भन्ने लागेको छ ।

प्युठानका बस्नेतभन्दा मोरङकी नर्बदा अधिकारी ३ वर्षले कान्छी छिन् तर बस्नेत जस्तो सक्रिय दैनिकी उनको छैन । उनी केही गर्न सक्दिनन् । मोरङको पथरी शनिश्चरे नगरपालिका–८ की अधिकारी ९७ वर्षकी भइन् । १९८५ सालमा ताप्लेजुङमा उनको जन्म भएको थियो । बाल्यकाल घाँस, दाउरा र घरकै काममा बिते ।  

पढ्नु भएन त ? अधिकारी भन्छिन्– ऊ बेला केको पढ्नु ? स्कुल थिएन । पाठशाला हुन्नथे । भएका पाठशालामा पनि केटाहरू मात्र पढ्न जान्थे । छोरीहरू त पढ्न हुँदैन, घाँस दाउरा गर्ने हो भन्थे ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–८ की  ९७ वर्षीया नर्बदा अधिकारी । तस्बिर : सफलता भण्डारी/नागरिक

खोला किनारा र वनपाखामा  दाउरा घाँस काट्न जान्थिन् अधिकारी । उनको ९ वर्षको बालखमै विवाह भयो । उनका श्रीमान् पनि ९ वर्षकै थिए । ताप्लेजुङमा जन्मेकी अधिकारी विवाह गरेर पाँचथर पुगिन् । ९ वर्षमा विवाह भए पनि उनी दुलाहाको घर भने १६ वर्षको उमेरमा मात्र गइन् ।  

पाँचथर पुगेकी उनको परिवार राम्रै चलेको थियो तर २०२३ सालको पहिरोले जग्गा सबै बगायो । त्यसपछि उनको परिवार भारतको आसाम बसाइँ स¥यो । आसाममा पनि उनको परिवारले खेती किसानी गरेर गुजारा चलाइरहेको थियो । २०३६ सालमा आसाममा नेपालीलाई फर्काउनुपर्छ भनेर आन्दोलन चल्यो । त्यसपछि उनीहरूको परिवार नेपाल फर्कियो । आसामबाट फर्केका उनको परिवार एकवर्ष जति झापा बस्यो । त्यसपछि भने उनीहरू मोरङ सरे । 

अधिकारीलाई अहिले काम गर्न नसक्दा दिक्क लाग्छ । उनलाई पहिला आफूले काम गर्न सक्दाकै दिनहरू राम्रा लाग्छन् । उनी भन्छिन्– दिनहरू त पहिला काम गर्न सक्दाकै राम्रा । दाउरा घाँस गरिन्थ्यो । भात तिउन पकाइन्थ्यो । ढिक्की कुटिन्थ्यो । हातमा बल थियो ।  अहिले त थला परियो । के राम्रो हुनु ?

अधिकारीलाई अझै जिन्दगी के हो के हो जस्तो लाग्छ । उनी भन्छिन्– जिन्दगी खै के हो के हो ? जिन्दगीभर बनिबुतो त गर्नुप¥यो । अभागीलाई जस्ताको तस्तै । सधैँ बनी गर्नुपर्‍यो ।  

अधिकारीको दैनिकी अहिले घरमै बसेर बित्छ । उनी कुनै काम गर्न सक्दिनन् । कान भने राम्रै सुन्छिन् । आँखा राम्रोसँग देख्दिनन् । उनी ७५ वर्षसम्म भने काम गर्दै थिइन् । घरमा खाना पकाउने, घाँस काट्ने काम गर्दै थिइन् तर उनलाई मधुमेह भएपछि भने काम गर्न गाह्रो भयो । त्यसपछि उनले चटक्कै काम गर्न छाडिन् । उनलाई मधुमेह र दम छ । दही र केरासँग अलिकति भात खाने गर्छिन् । बिहान ९ बजे र बेलुका ८ बजेतिर उनको खाना खाने समय हुन्छ । दिउँसो भने चिया खान्छिन् । खाना पचाउन उनलाई गाह्रो हुन्छ ।  

अधिकारी अहिले जमाना कसरी परिवर्तन भयो है भन्ने कुरा बेलाबेलामा छोरा उमाकान्तसँग गर्छिन् । आफ्नो समयमा गरेका दुःखका प्रशंग छोराहरूसँग बिसाउँछिन् । छोरा उमाकान्त भन्छन्– आमा अहिले केही गर्न सक्नुहुन्न । दम र सुगरको बिरामी हुनुहुन्छ । हामीसँग कुरा गर्दा आफूले दुःख पाएका विगत दिनहरूको कुरा गर्नुहुन्छ । हाम्रो जमानामा यस्तो थियो, अहिले फेरियो भन्ने कुरा गर्नुहुन्छ । मेलापातका कुरा गर्नुहुन्छ । घाँस दाउराका कुरा गर्नुहुन्छ ।

मोरङकी नर्बदा भन्दा बैतडीकी लक्ष्मीदेवी अझै ३ वर्षले कान्छी छिन् । लक्ष्मीदेवीको पनि अवस्था नर्बदाको जस्तै छ । काम गर्न सक्दिनन् । लक्ष्मीदेवीलाई मन लाग्छ– घुम्न जाउँ तर शारीरिक कारण बाधक बन्छ ।

यो पनि पढ्नुहोस्

विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा

 

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कटौजपानीकी लक्ष्मीदेवी विष्ट अहिले ९४ वर्षकी भइन् । उनको जन्म भने दोगडाकेदार गाउँपालिका–४ मा भएको हो । विवाहपछि उनी कटौजपानी पुगेकी हुन् । उनको विवाह ८ वर्षको उमेरमा भयो तर उनलाई विवाहबारे झल्याकझुलुकमात्र याद छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कटौजपानीकी ९४ वर्षकी लक्ष्मीदेवी विष्ट । तस्बिर : सफलता भण्डारी/नागरिक

उनको बाल्यकाल दुःखमै बित्यो । बैतडीको एउटा कुनामा घाँस दाउरा र ढिकी जाँतो गर्नु उनको दैनिकी थियो । खानलाई जाँतोमा अन्न पिस्नुपथ्र्यो । पानी बोक्न धेरै टाढा जानुपर्थो । घरमा चाहिने कुरा किन्न भारतको अलमोडा, पिथौरागढ जानुपथ्र्यो । विष्ट भन्छिन्– उबेलामा जाँतोमा अन्न पिसिन्थ्यो । घट्ट थिएनन् । पानी बोक्न धेरै टाढा जानुपथ्र्यो । अन्न लुगा, घरमा चाहिने सामान किन्न भारतको अलमोडा, पिथौरागढ जानुपथ्र्यो ।

अहिले दिन फेरिए तर विष्टका हात चल्दैनन् । चाँडैनै श्रीमानले छाडेर गएपछि लक्ष्मीदेवीको जीवन दुःखको भुमरीमा थप रुमलियो । श्रीमान्को मृत्यु हुँदा जेठो छोरो भर्खर ९ वर्षको थियो । अन्य छोराछोरी त झनै साना । त्यसपछि उनका दुःख झनै बढे । परिवारको जिम्मेवारी एक्लो काँधमा आयो तर पनि उनले हार भने मानिनन् । आफ्नो जिम्मेवारी पूरा गरिन् । पछि छोराहरू ठूला भए । त्यसपछि घर चलाउन सहज भयो ।  

विष्टलाई आफ्नो जमाना र अहिलेका दिनहरूमा आकाश–पातालको फरक लाग्छ । खानलाई अन्न पिँध्न ढिकी जाने उनको बाध्यता अहिले हटेको छ । घर नजिकै मिल छ । उनको घरमै बिजुली पुगेको छ । उनलाई अझै घुम्न जान मन लाग्छ । तर खुट्टा बसे । हिँड्न सक्दिनन् । त्यही घरभित्र र बाहिर मात्र गर्छिन् । उनलाई सगुन, झणो, फाग, ढुमारी गाउन मन लाग्छ तर अहिले गाउन सक्दिनन् । उनी भन्छिन्– घरमा बस्दा निकै छट्पटी हुन्छ । मन्दिर जान मन लाग्छ । घुम्न जान मन लाग्छ तर के गर्नु ? सक्दिन । काम गरौँ गरौँ जस्तो लाग्छ तर गर्न नसक्ने भइयो ।  

उनलाई आफूभन्दा साना उमेरका मान्छेहरू बितेका देख्दा भने आफू कसरी बाँचिरहेको छु भन्ने लाग्छ । उनी भन्छिन्– आफूभन्दा ठूला पनि गइसके, साना उमेरका पनि गइसके । म भने बाँचिरहेको छु । कसरी बाँचे जस्तो लाग्छ ।  

विष्टलाई दम छ । उनलाई सास फेर्न समस्या हुन्छ । दम देखिएको तीन वर्ष भयो तर उनी खान भने राम्रैसँग खान्छिन् । बिहान बेलुका भात, रोटी खाने गर्छिन् । फलफूल पनि खाने गर्छिन् । खाने कुरा त्यस्तो केही पनि नबारेको उनी बताउँछिन् ।  

२०७८ अनुसार नेपालकाे ज्येष्ठ नागरिकको तथ्यांक

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ९५ वर्षमाथिका १७ हजार ४ सय ९७ ज्येष्ठ नागरिक छन् । त्यसमध्ये महिला ११ हजार ६ सय ६५ छन् भने ५ हजार ८ सय ३२ पुरुष छन् ।  

त्यस्तै ६० देखि ६४ वर्ष उमेर समूहका १.७ प्रतिशत महिला र १.६ प्रतिशत पुरुष छन् । ६५ देखि ६९ वर्ष उमेर समूहका समान १.३ प्रतिशत महिला र पुरुष छन् । ७० देखि ७४ वर्ष उमेर समूहका १.०९ प्रतिशत महिला र १ प्रतिशत पुरुष छन् । ७५ देखि ७९ वर्ष उमेर समूहका ०.६ प्रतिशत महिला र ०.६ प्रतिशत पुरुष छन् ।  

त्यस्तै ८० देखि ८४ वर्ष उमेर समूहका समान ०.३ प्रतिशत महिला र पुरुष, ८५ देखि ८९ वर्ष उमेर समूहका समान ०.१ प्रतिशत महिला र पुरुष, ९० देखि ९४ वर्ष उमेर समूहका ०.१ प्रतिशत महिला र ०.०५ प्रतिशत पुरुष तथा ९५ वर्ष माथिका ०.०४ प्रतिशत महिला र ०.०२ प्रतिशत पुरुष ज्येष्ठ नागरिक छन् ।

बढ्दैछ बुढ्यौेली उमेर समूहको संख्या  

तथ्यांकअनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको छ । जनगणनाअनुसार वि.सं. २०४८ मा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या ५.७ प्रतिशत थियो । यो प्रतिशत बढेर वि.सं. २०५८ मा ६.५ प्रतिशत पुग्यो । त्यस्तै २०६८ को जनगणनामा ज्येष्ठ नागरिकको संख्या ८.१ प्रतिशत थियो भने वि.सं. २०७८ को जनगणनामा १०.२ प्रतिशत पुगेको देखिन्छ ।  

नेपालमा बुढ्यौेली बढ्नु स्वाभाविक

औसत आयु बढ्दै जाँदा जेष्ठ नागरिकको संख्या थपिनु स्वाभाविक रहेको त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. योगेन्द्रबहादुर गुरुङ बताउँछन् । मृत्युदर घट्दै जाँदा र औसत आयु बढ्दै जाँदा बुढ्यौली बढ्दै जाने उनको भनाइ छ । गुरुङ भन्छन्– ‘यो बुढ्यौली बढ्नु भनेको देश विकासको क्रम सँगसँगै हुने कुरा हो । देश विकास हुने क्रममा स्वस्थ खानपानका कुरा राम्रो हुँदै जान्छ । सेवा÷सुविधा बढ्दै जान्छ । त्यसैले मान्छेको आयु पनि बढ्दै जान्छ । स्वभावैले स्वास्थ्य सेवा, खानपान राम्रो हुँदै गएपछि देशमा बुढ्यौली बढ्नु स्वाभाविक हो ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. योगेन्द्रबहादुर गुरुङ । 

पहिला देशमा स्वास्थ्य सेवा राम्रो नहुँदा, राम्रो खान नपाउँदा मान्छेको चाँडै मृत्यु हुने भएका कारण बुढ्यौली जनसंख्या कम भएको उनको भनाइ छ । ‘पहिला देशमा राम्रो स्वास्थ्य सुविधा थिएन । सबै गरिब थिए, उपचार गराउन सक्ने अवस्था सबैको थिएन । त्यसैले अल्पायुमै ज्यान गुमाउँथे । केही रोग नभएकाहरू मात्र बाँच्ने गर्थे । उनले थपे– अहिले त्यो पहिलाको जस्तो अवस्था छैन । देश विकास हुने क्रममा स्वास्थ्य सेवा, मान्छेको जिउने तरिका, खानपान पनि राम्रो हुँदै गएको छ । त्यसैले बुढ्यौली पनि बढेको छ ।

यो पनि पढ्नुहोस्

महिला खेलाडीले सम्हालेको अन्तर्राष्ट्रिय प्रतियोगिता !

 

देशमा बुढ्यौली बढ्दै जाँदा सरकारले भने ध्यान पु¥याउनुपर्ने उनको उनको सुझाव छ । सरकारले फरक ढंगले सोच्नुपर्ने गुरुङ बताउँछन् । औसत आयु बढ्दै जाँदा सरकारले ज्येष्ठ नागरिक भनेर तोकेको उमेर पनि बढाउनुपर्ने उनी बताउँछन् ।      

गुरुङ भन्छन्– ‘सरकारले फरक ढंगले सोच्ने भनेको औषत आयु बढ्दै गएपछि जति वर्षलाई बूढो मान्दै आएका छौँ त्यसलाई बढाउनुपर्छ । अवकाशको उमेर पनि बढाउनुपर्छ । जुन जुन पेसामा अहिले अवकाशको उमेर छ त्यसलाई बढाउनुपर्दछ किनकि अवकाश हुने उमेरमा पनि त्यो मान्छे काम गर्न सक्ने अवस्थाकै हुन्छ । त्यसपछि उसले के गर्ने भन्ने हुन्छ ।

त्यस्तै अर्को अवकाश भइसकेकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरकारले सोच्नुपर्ने उनले बताए । अवकाश भइसकेपछि के काम दिने, कस्तो किसिमको उत्पादनशील काममा उनीहरूलाई लगाउने भन्ने कुरा पनि सरकारले हेर्नुपर्छ ।  

‘कुनै पनि पेसाबाट अवकाश भइसकेपछि उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरकारले सोच्नुपर्छ । कस्तोखालको काम गर्न दिने, कुन उत्पादनशील काममा उनीहरूलाई लगाउने भन्ने कुरा सरकारले सोच्नुपर्छ’, उनले थपे– काम गर्न नसक्नेहरूको संख्या बढ्दै जाँदा कसरी सेवा÷सुविधा दिने, कसरी संरक्षण दिने, कसरी सुरक्षा दिने भन्ने कुरा सरकारले सोच्नुपर्छ ।

सरकारले दिने सामाजिक सुरक्षा भत्तामा पनि सरकारले सोच्नुपर्ने उनको भनाइ छ । अहिले जुन उमेरमा दिइरहेको छ त्यसलाई बढाउनुपर्ने सुझाव उनको छ । उनी भन्छन्– अहिले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताको उमेरमा पनि सरकारले हेरफेर गर्नुपर्छ । ज्येष्ठ नागरिक, लक्षित वर्गहरूलाई दिइराखेको सामाजिक सुरक्षा भत्ताको उमेरमा हेरफेर गर्नुपर्छ ।

स्वास्थ्य र खानपानमा ख्याल राख्न आवश्यक

टेकु अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.विमल चालिसे ज्येष्ठ नागरिकहरूले आफूलाई स्वस्थ राख्न खानपान र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउँछन् । बूढो हुँदै जाँदा बुढौलिपन नै एउटा रोग बनिदिन्छ । त्यसैले खानपान र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । चालिसे भन्छन्– बूढो हुँदै जाँदा शरीरमा रोगसँग लड्न सक्ने क्षमता कम हुँदै जान्छ । त्यसैले खानेकुराहरू सन्तुलिनरूपमा खानुपर्छ । मद्यपान, धूमपानलगायतका लागुपदार्थ सेवन गर्नुहुन्न भने त्यस्ता खानेकुरा छाड्नुपर्छ ।

टेकु अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.विमल चालिसे 

खानेकुरामा यही वा समयभन्दा पनि आफूलाई रुचेअनुसारका, मन लागेको समयमा खानुपर्ने उनको सुझाव छ । ‘यही खानेकुरा भन्ने छैन । हाम्रो नेपाली खाना दाल, भात, मासु, दूध, दही, घिउ जस्ता खानेकुरा खाँदा हुन्छ । त्यसलाई नै मात्रा मिलाएर मन लागेको समयमा खादा हुन्छ’– उनले भने ।

दीर्घ रोगका बिरामी भएमा भने खानेकुराहरूमा अझै ध्यान पु¥याउनुपर्ने उनको भनाइ छ । सुगर, दम र प्रेसरका बिरामी तथा एलर्जीको समस्या हुनेहरूले सोहीअनुसार खाना खानुपर्ने पनि उनले सुझाए । 

चालिसे भन्छन्– दीर्घ रोगका बिरामीहरूले खानेकुरामा अलि बढी ध्यान दिनुपर्छ । मधुमेहको बिरामी छन् भने गुलियो खानेकुराहरू धेरै खानुहुँदैन । उच्च रक्तचाप भएका व्यक्तिले धेरै चिल्लो खानुभएन । एलर्जी हुने मान्छेलाई केबाट एलर्जी हुन्छ, त्यस्तो खानुभएन । खानाको सन्तुलन मिलाउने भनेको त्यसरी हो ।  

नियमित खाइरहेको औषधि भएमा नछुटाइ खानुपर्ने पनि उनले बताए । आफूले देखाइरहेको चिकित्सकहरूको सल्लाहमा औषधि सेवन गनुपर्ने चालिसेको भनाइ छ । जाडो महिनामा भने ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउनुपर्ने थप सुझावसमेत उनले दिए । 

उनले भने– ‘जाडो महिनामा ज्येष्ठ नागरिकलाई श्वास÷प्रश्वासको समस्या बढ्ने, मुटुको समस्या बढ्ने, निमोनिया हुने आदि समस्या आउन सक्छ । त्यसैले चिसोबाट बचाउनुपर्छ । कतिपय ज्येष्ठ नागरिकलाई खोप लगाउनुपर्ने भनिएको हुन्छ । त्यस्ता खोप पनि लगाउनुपर्छ ।’ खाना खान मन नलाग्ने, खाएको कुराले पेट दुख्ने, नपच्ने भएमा चिकित्सकलाई देखाउन पनि उनको सुझाव छ ।  

प्रकाशित: २४ मंसिर २०८१ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App