२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

उँभौली पर्व र जीवन पद्धति

फाइल तस्वीर

उँभौली पर्व किराँत राई समुदायको एक विशिष्ट सांस्कृतिक उत्सव मात्र नभई प्रकृति, मानव र सहअस्तित्व बीचको गहिरो सम्बन्धको जीवन्त अभिव्यक्ति हो। वसन्त ऋतुको आगमनसँगै मनाइने यस पर्वले कृषि, वातावरण र सामूहिक जीवनशैलीलाई एउटै सूत्रमा गाँस्छ। म खोटाङको दोर्पा, चिउरीडाँडामा जन्मिएको ब्राह्मणको सन्तान भए पनि मेरो बाल्यकाल किराँती संस्कार, रीतिरिवाज र जीवनपद्धतिसँग घुलमिल भएर बित्यो। उकालीओराली, खोल्साखोल्सी, खेतबारी र बनपाखामा रमाउँदै हुर्कँदा मैले कुनै जातीय भेदभाव अनुभव गरिनँ। बरु आत्मीय, विश्वास र सहअस्तित्वको गहिरो अनुभूति पाएँ। बाल्यकालमा ढोल र झ्याम्टा बजाउँथ्यौं। स्याउली उखेल्दै सुंदेली विजुवासँग साकेला थानमा नाच्थ्यौं। यस्तै किराती संस्कार र परिवेशले मेरो जीवनदर्शनलाई आकार दिएको छ। त्यसैले होला मुन्दुमी संस्कृतिको प्रभाव आज पनि मेरो व्यवहारिक जीवनमा स्पष्ट देखिन्छ।

प्रकृति पूजा र कृषि जीवनको आधार

उँभौली पर्व प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो। यो समय हो - बीउ रोप्ने, खेतवारी तयार गर्ने र नयाँ आशाको सुरुवात गर्ने। किराँती समुदायले जमिन, पानी, वनस्पति र आकाशलाई देवत्वका रूपमा पूज्दै प्रकृतिसँग सन्तुलन कायम राख्ने प्रयास गर्छन्। साकेला नाच, धामीझाँक्रीको पूजा, सामूहिक भेला र सहभोज यसको प्रमुख सांस्कृतिक पक्ष हाे। यी गतिविधिहरूले मानिसलाई श्रमसँग मात्र होइन, प्रकृतिसँग पनि गहिरोसँग जोड्छन्। उँभौलीले जीवन प्रकृतिबाट अलग छैन बरु त्यसकै अंश हो र यसको संरक्षण गर्नु नै हाम्रो प्रमुख जिम्मेवारी हो भन्ने सिकाउँछ।

बाँस र किराँती वीच सहअस्तित्वको दर्शन

किराँती जीवनशैलीमा बाँसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। घर निर्माणदेखि भान्साका सामग्री, डोको-नाङ्लो, मादलका घेरा, बाजा, धनुषवाण, कृषि उपकरण र दैनिक प्रयोगका अन्य सामग्रीसम्म बाँसको व्यापक प्रयोग हुन्छ। बाँस उपयोगी वस्तु मात्र होइन यो जीवनको आधार र प्रकृतिसँगको निकट सम्बन्धको प्रतीक हो। मुन्दुममा जन्मदेखि मृत्यु संस्कारसम्मका हरेक सॅास्कृतिक पर्वमा बॅासको प्रयोग अपरिहार्य मानिन्छ।

बाँस छिटो बढ्ने, पुनःउत्पादन हुने र वातावरणमैत्री हुने भएकाले यसले दिगो जीवनशैलीको सन्देश दिन्छ। बाँसजस्तै लचकदार, सहनशील र उपयोगी बन्ने शिक्षा किराँती समाजले आफ्नो जीवनशैलीमार्फत प्रस्तुत गरेको छ। बाँसको झ्याङसँगै हुर्किएको गाउँले जीवनले मलाई प्रकृतिसँग मिलेर बाँच्नु नै दीर्घकालीन समृद्धिको बाटो सिकाएको छ।

मुन्दुमी दर्शन र सृष्टिको सन्तुलन

किराँती मुन्दुममा सुम्निमा र पारुहाङ सृष्टिका मूल आधारका रूपमा वर्णित छन्। सुम्निमा प्रकृति, माया, उर्वरता र मातृत्वको प्रतीक हुन् भने पारुहाङ शक्ति, आकाश र पुरुषत्वका प्रतिनिधि हुन्। यी दुईबीचको सम्बन्धले जीवनको सन्तुलन र सहअस्तित्वको गहिरो दर्शन प्रस्तुत गर्छ।

स्तम्भकार 

उँभौली पर्वमा गरिने पूजा-पाठ, भाकल र संस्कारहरूमा सुम्निमा-पारुहाङको स्मरण गरिन्छ। यसले मानिसलाई आफ्नो उत्पत्ति, प्रकृतिसँगको सम्बन्ध र नैतिक दायित्वबारे सचेत गराउँछ। म ब्राह्मण परिवारमा जन्मिए पनि मैले यही मुन्दुमी दर्शनबाट जीवन बुझ्ने दृष्टि पाएँ। मुन्दुमले समाजलाई विभाजन होइन, एकताको सूत्रमा बाँधिने दर्शन दिन्छ। टुट्ने होइन जुट्ने सभ्यता सिकाउँछ। मानव जीवनका लागि यो महत्वपूर्ण व्यवहारिक जीवन पद्धति हो। त्यसैले मुन्दुमी दर्शनको दिन प्रतिदिन महत्व बढ्दै गएको छ।

सबैका लागि समान अवसर र सहभागिता

उँभौली पर्व राई जातिको विशेष पर्व हो तर पछिल्लो समय कुनै एक जातिको मात्रै सीमित परम्परा रहेन। अहिले गाउँघरमा सबै जातजाति, उमेर समूह र वर्गका मानिसहरूको साझा उत्सवका रूपमा मनाइन्छ। साकेला नाचमा सबै सहभागी हुन्छन् - बालबालिका, युवा, वृद्ध, महिला र पुरुष सबै एउटै घेरामा उभिन्छन्।

हामी उहिले पनि गाउँको चौतारोमा भेला हुन्थ्यौं, एउटै तालमा नाच्थ्यौं र एउटै भावना साझा गर्थ्यौं। त्यहाँ कोही ठूलो-सानो हुँदैन थिए। सबै बराबर मानिन्थे। यही जीवन पद्धतिले समाजलाई सिकायो मुन्दुमी संस्कृति विभाजनको होइन, एकताको माध्यम हो। उँभौली पर्वले सामाजिक समावेशिता, सहिष्णुता र समानताको गहिरो सन्देश छोड्छ।

विश्वास र घुलमिलको पाठशाला

किराँती समाजमा विश्वासको महत्त्व अत्यन्तै गहिरो हुन्छ। “विश्वास गर्दा गर्दन दिने, विश्वासघात भए गर्दन लिने” भन्ने उक्ति उनीहरूको निष्ठा, इमान्दारिता र सम्बन्धप्रतिको गहिरो प्रतिबद्धताको प्रतीक हो। यो कुनै कठोरता होइन, बरु विश्वासको उच्च मूल्य हो। कसैलाई ढाँट्नु, छल्नु र विरोधाभास सिर्जना गर्नु किराती सभ्यतामा नर्क मानिन्छ।

गाउँको जीवनमा सम्बन्धहरू कागजी प्रमाणमा होइन आपसी भरोसामा टिकेका हुन्छन्। यही कारणले जीवन सरल, स्पष्ट र आत्मीय हुन्छ। मैले त्यही संस्कारबाट  सिकें - मानिसबीचको सबैभन्दा ठूलो पूँजी विश्वास हो। यही विश्वासले समाजलाई जोड्छ र जीवनलाई अर्थपूर्ण बनाउँछ।

निष्कर्ष

उँभौली पर्व र किराँती जीवन पद्धति एक समुदायको सांस्कृतिक अभ्यास मात्र होइन यो सम्पूर्ण मानव समाजका लागि प्रेरणादायी जीवनदर्शन हो। प्रकृतिप्रति सम्मान, सहअस्तित्वको अभ्यास, समानताको भावना र विश्वासमा आधारित सम्बन्ध यी सबै मूल्य र मान्यताहरू आजको विकसित समाजका लागि अत्यन्तै आवश्यक छन्। नैतिक मानव सभ्यताको विकास र जीवन बन्धनको धरोहर नै प्रकृतिप्रतिको विश्वास हो।

म ब्राह्मण परिवारमा जन्मिए पनि मेरो जीवनदर्शन मुन्दुमी संस्कृतिबाट प्रेरित भएको छ। उकालीओराली, गाउँले परिवेश, बाँसको हरियाली र साकेलाको लयले सिकाएको पाठ आज पनि मेरो सोच र व्यवहारमा जीवित छ। त्यहाँ कुनै भेदभाव थिएन, खालि आत्मीय थियो। आपसमा कुनै दूरी थिएन केवल सम्बन्ध थियो।

उँभौली पर्व हामी सबैको साझा संस्कृति हो। जहाँ प्रकृति पूजनीय छ, मानिस बराबर छन् र जीवन एउटा निरन्तर उत्सव हो। यही भावनालाई आत्मसात् गर्दै हामीले आधुनिकतासँगै परम्परा जोगाउँदै अघि बढ्नुपर्छ। तब मात्र हाम्रो विकास दिगो, समावेशी र मानवतामूलक बन्न सक्छ। मुन्दुमी दर्शन मानव जीवनको अपरिहार्य सभ्यता हो। उँभौली पर्वको हार्दिक शुभकामना छ।

(स्तम्भकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगर प्रमुख हुन्। )  

प्रकाशित: १८ वैशाख २०८३ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App