२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

आज कुशे औँसी, घर-घरमा कुश भित्र्याइँदै

फाइल तस्बिर

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदै छन्।  

शास्त्रअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आज उखेलेको कुश वर्षभर प्रयोग गर्न सकिन्छ र अरु दिन उखेलेको कुश त्यही दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ, धर्मशास्त्रविद् र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. रामचन्द्र गौतमले जानकारी दिए।  

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। सृष्‍टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ। आज घरमा राखिएको कुश वर्षभर हुने देवकार्य र पितृकार्यमा प्रयोग गरिन्छ।  

पितृसम्मान
यस अवसरमा छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई र भोजन खुवाई सम्मान गर्छन् र बाबुको मुख हेर्छन्।  

बाबु नभएकाहरू विभिन्न पवित्र स्थानमा गएर आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान र श्राद्ध गरी सिदा दिन्छन्।  

आज विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान र सिदादान गर्नेहरूको भीड लाग्छ।  

मन्दिरमा लाग्ने मेलाको सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए। यस्तै, रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लाग्छ। बेत्रावतीमा पनि पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्छन्।  

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिँदा सुख मिल्छ। बाबु परलोक भएकाहरूले गोकर्ण वा अन्य तीर्थस्थलमा गएर तर्पण र सिदादान गरेमा पुण्य मिल्छ र कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।  

आज थोरै दान गरे पनि हजारौँ गुणा फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ, धर्मशास्त्रविद् गौतमले बताए। अरु दान दीन-दुखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रलाई दिनुपर्छ भन्ने शास्त्रीय मान्यता छ। रासस

प्रकाशित: ७ भाद्र २०८२ ०६:०३ शनिबार