आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरूले बुधबार तराई मदेशसहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी (हल) पर्व मनाएका छन्।
आफ्ना सन्तान र श्रीमानको लामो आयुको कामना गर्दै उनीहरूले हर्षोल्लासका साथ सो पर्व मनाएका हुन्।
पूजाका लागि चाहिने महुवाको पात र कुश लिनका लागि तिलौराकोट नजिकै रहेको जंगलमा भीड लागेको थियो। विशेष गरी कुशको पूजा गर्नका लागि व्रतालु महिलाहरू तौलिहवा स्थित प्रहरी कार्यालय बाहिर र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहर लगायतका कुश भएका विभिन्न स्थानमा पुगेका थिए।
त्यहाँ भक्तजनहरूको भीड लागेको थियो। कतिपय भने आफ्नै घरमा पूजा गरेका थिए। भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड उनीहरुले व्रत र पूजा पाठ गर्ने गर्दछन्।
उम्रेको कुशको पूजा गर्न भक्तजन महिलाको भीड लागेको थियो। पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनलेले दाँत माझ्ने चलन छ। सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी व्रत,पूजापाठ र भजन कीर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन्।
छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको अवधि कवि राघबेन्द्र श्रीवास्तवले बताए।
शिक्षिका सचिता रुवास्तवले ३ छठ्ठी माताको व्रत बस्ने परिवार कै फलिफाप हुने विश्वास व्यक्त गरिन्। उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात् (तिन्नीको चामल) जंगली धानको चामलको भात र साग खाएर महिलाहरूले व्रत गर्ने गर्दछन्।
व्रतका बेला कुश सँगै देवीहरूको मन्दिर पूजाआजा गर्ने प्रचलन छ। पूजाका लागी चिनी नहालेको दही, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ।
व्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई गर्ने गरिन्छ। कुशको पूजा गरी त्यसमा ६ वटा गाँठो बाँध्ने गरिन्छ कुशको सामूहिक पूजा सकिएपछि महिलाहरूले समूह बनाएर तीन छठ्ठी पर्वको कथा समेत सुनाउने गर्दछन्।
एक दशक तीन छठ्ठी पर्व मान्ने महिलाहरूको संख्या बढदै गएको कपिलवस्तु नगरपालिका– २ जमुहार टोल की अनिता त्रिपाठीले बताइन्। भदौ षष्ठिका दिन बलरामको जन्म दिन परेकोले उनैका पूजाआजा गरी सन्तान र श्रीमानको दीर्घायुको कामनाका लागि यो पर्व मनाउने चलन रही आएको भक्तजनहरू बताउँछन्।
यो पर्वका विषयमा विभिन्न ६ वटा कथाहरू रहेको भक्तजनहरू बताउँछन्। वैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए। तर पोखरीमा पानी नआए पछि उनले आफ्नो नातिको बली दिए पश्चात् पोखरीमा पानी निस्किएको थियो।
त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाति जीवित भएको प्रसङ्ग जोडी यो व्रत गर्ने प्रचलन रही आएको छ।
प्रकाशित: १७ भाद्र २०८३ १९:२० बुधबार





