२ कार्तिक २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

फाइल तस्बिर

जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ। प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ।

कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौं महानगरपालिका-१२ स्थित पचली पीठबाट भैरवको आप जात्रा गरी हनुमान ढोका पुर्‍याइएको थियो। कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासका साथ भैरवको दर्शन गराइएको हो।

विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो। घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो।

विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौं उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ। कला र संस्कृतिले सजिएको काठमाडौंमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा भैरव जात्रालाई लिइन्छ। भैरवलाई पुनःटेकुमा लगिएपछि जात्रा सम्पन्न भएको मानिन्छ। 

प्रकाशित: ३० आश्विन २०८३ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App