नयाँ पुस्ता मौलिक लोकबाजातर्फ आकर्षित हुन थालेसँगै यस वर्षको तिहारमा मादलको कारोबार उत्साहजनक रूपमा बढेको छ।
आधुनिक साउन्ड सिस्टम (स्पिकर) को दबदबाका कारण केही वर्ष ओझेलमा परेको मादल व्यवसाय फेरि पुरानै लयमा फर्किएपछि नवलपुरका कालीगढहरूलाई यतिबेला मादल बनाउन र बेच्न भ्याइनभ्याइ छ।
विगत २७ वर्षदेखि मादल बनाउँदै आएका नवलपुरका कालीगढ नारायण नेपालीका अनुसार मादलको माग अहिले सदाबहार बन्न थालेको छ।
‘मैले काम सुरु गर्दा मादलको राम्रो माग थियो, पछि स्पिकरले बजार खायो,’ विगत सम्झँदै उनले भने, ‘अहिले फेरि पुरानै लय फर्किएको छ। नाचगानमा स्पिकर बजे पनि मादल अनिवार्य जस्तै बन्न थालेको छ। आज (आइतबार) बिहान मात्रै मैले १२ वटा नयाँ मादल बेचिसकेँ।’
मादल बनाउन नारायणलाई परिवारका दुई सदस्यले सघाउँदै आएका छन्। एउटा मादल पूर्ण रूपमा तयार पार्न कम्तीमा तीन घण्टा लाग्ने उनकी श्रीमती चन्द्रा नेपालीले बताइन्। मादलमा खरी घोट्ने काम गरिरहेकी उनले आवश्यक कच्चापदार्थ पोखरा, काठमाडौं र भारतबाट ल्याउने गरिएको जानकारी दिइन्।
राधाकृष्ण म्युजिक सपका सञ्चालक दिनेश नेपालीका अनुसार पसलमा मादल किन्न आउनेमध्ये अधिकांश युवा पुस्ताका छन्।
बुबाबाट सीप सिकेर पुख्र्यौली पेसा धानिरहेका उनले बनाएका मादल नवलपुरसहित चितवन, तनहुँ, लमजुङ र पोखरासम्म पुग्ने गरेका छन्। ‘विगतमा देउसीभैलोमा डेगमा हिन्दी गीत बजाएर नाच्दा मौलिक संस्कृतिसँगै व्यवसाय पनि संकटमा परेको थियो, तर अहिले युवाहरूकै रोजाइमा मादल पर्नु सुखद छ,’ उनले भने।
यस्तै, विगत १० वर्षदेखि घोषणा मादल पसल सञ्चालन गर्दै आएका विष्णुकुमार बसेल र शान्तमाया बसेल दम्पतीका अनुसार कोरोना महामारीपछि सुस्ताएको व्यापार यस वर्ष पूर्ववत् अवस्थामा फर्किएको छ।
हाल विद्यालय, संघसंस्था, मन्दिर, भजनकीर्तन समूहदेखि व्यक्तिगत प्रयोजनका लागिसमेत मादलको माग उच्च रहेको उनीहरू बताउँछन्।
नवलपुरको बजारमा गुणस्तरअनुसार प्रतिगोटा २ हजार ५०० देखि ८ हजार रुपैयाँसम्मका मादल बिक्री भइरहेका छन्।
त्यस्तै नेवारी समुदायमा बढी प्रयोग हुने ठूलो मादल (ढोलक) १४ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। मादललाई आकर्षक देखाउन पछिल्लो समय भारतबाट आयात गरिएका रिङहरूसमेत प्रयोग गर्ने गरिएको छ।
प्रकाशित: २२ कार्तिक २०८३ १८:१२ आइतबार





