२० मंसिर २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

दीपावलीको उज्यालो: राष्ट्रका लागि शान्ति र समृद्धि

संस्कृति

बर्सेनि मनाउने नेपालीहरूको पर्व दीपावली आत्मिक र सामाजिक उज्यालो फैलाउने पर्वका रूपमा मान्दै आइएको छ। यसपटक यो पर्वमार्फत देशलाई नै उज्यालो पार्ने कामना गर्नुछ - शान्ति, समृद्धि र अनुशासनका माध्यमबाट। अहिले सबैमा हृदयदेखि नै पर्वको उल्लासभन्दा पनि देशको भविष्य, नागरिकको सुरक्षा र सुशासनको चिन्ता बढेको पाइन्छ। दसैं पनि विगतझैं रौनक भएन, जेनजी आन्दोलनका नाममा झन्डै सयौं युवाले ज्यान गुमाउनुको पीडाले कसैलाई शान्ति मिलेन। दीपावली नजिकिँदै गर्दा सबैलाई आशाको दीपक जलाएर राष्ट्रको मुहार प्रज्ज्वलित भएको हेर्ने चाहना छ। किनभने दीपावलीमा दीप प्रज्ज्वलित गर्नु र झिलिमिली बनाउनु भनेको अन्धकार हटाउने प्रतीकात्मकता हो। यो अन्धकार केवल रातको होइन, अराजकता, अन्याय, अज्ञान, लोभ र नकारात्मक सोचको अन्धकार हटाउने प्रतीक हो। जब प्रत्येक व्यक्ति भित्र रहेको लोभ, द्वेष र ईष्र्यालाई हटाएर कृतज्ञता र प्रेम फैलाउन सकिन्न, तबसम्म साँचो अर्थमा दीपावलीको उज्यालो महसुस हुँदैन र लक्ष्मीपूजाको पनि अर्थ रहँदैन।

दीपावलीमा हाम्रो कामना छ - समृद्धि केवल सम्पत्तिले होइन, सन्तुलन र शान्तिको होस्। राष्ट्र र समाजमा प्रेम, सहकार्य र न्याय मिलोस्, त्यसो भएमा मात्र लक्ष्मी स्थायी रूपमा हामीभित्र बस्छिन्। त्यसैले यो दीपावलीमा सबै मिलेर राष्ट्रका लागि सामूहिक प्रार्थना गर्नुपरेको छ। देवी लक्ष्मीलाई आह्वान गर्दै राष्ट्रको नाममा शान्ति, समृद्धि र अनुशासनका लागि दरिद्रता होइन, आत्मानुशासन र आत्मनिर्भरता फैलियोस्। असमानता होइन, समान अवसर मिलोस्। अन्याय होइन, न्याय र सद्भाव फैलियोस्। निराशा होइन, आशा र श्रमको ज्योति फैलियोस्।

लक्ष्मी: धन मात्र होइन, समग्र समृद्धि र शान्तिकी प्रतीक

हिन्दु सभ्यतामा लक्ष्मीलाई धनकी अधिष्ठात्री मानिन्छ। प्रत्येक वर्ष आउने तिहार वा दीपावलीको दोस्रो रात अर्थात् लक्ष्मीपूजाको दिन सम्पूर्णको घरआँगनमा दीप प्रज्ज्वलन गरी देवी लक्ष्मीको स्वागत गरिन्छ।

परम्परागत रूपमा यो पर्वलाई धनकी देवीको आगमनका रूपमा मनाइन्छ तर लक्ष्मीको वास्तविक अर्थ र दर्शन यसभन्दा धेरै गहिरो र व्यापक छ। लक्ष्मी धनमा मात्र सीमित छैनन्, शान्ति, अनुशासन, सौन्दर्य, सदाचार र सम्पूर्ण कल्याणकी मूर्त स्वरूप हुन्।

‘लक्ष्मी’ शब्द संस्कृतको ‘लक्ष्य’बाट आएको हो, जसको अर्थ हुन्छ– उद्देश्य वा ध्येय। त्यसैले लक्ष्मी भनेको जीवनमा ध्येय र व्यवस्था कायम गर्ने शक्ति हो। जहाँ अनुशासन, श्रम, सत्य र सन्तुलन हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ। माता लक्ष्मीले केवल सम्पत्ति होइन, विचार र कर्मको शुद्धता पनि प्रदान गर्छिन्।

हिन्दु धर्मग्रन्थहरूमा लक्ष्मीलाई विष्णुको सहचारिणी भनिएको छ। विष्णु जगत्को पालनकर्ताका रूपमा चिनिन्छन्। यस अर्थमा लक्ष्मी पालन र सन्तुलनकी उर्जा हुन्। जहाँ विष्णुका गुणपालन, संयम र धर्मको स्थापना हुन्छ, त्यहाँ लक्ष्मी स्वयं स्थायी रूपमा बास गर्छिन्। लक्ष्मीका आठ रूपहरू नै समृद्धिका आठ आयाम हुन् भनिन्छ। लक्ष्मीको दर्शनलाई ‘अष्टलक्ष्मी’का रूपमा पनि व्याख्या गरिएको छ। यी आठ रूपहरूले जीवनका आठ क्षेत्रमा समृद्धिको प्रतिनिधित्व गर्छन्-

आदिलक्ष्मी: आध्यात्मिक शान्ति र आत्मसन्तुष्टि प्रदान गर्ने शक्ति

धनलक्ष्मी: आर्थिक समृद्धि र भौतिक सुविधा प्रदान गर्ने देवी

धान्यलक्ष्मी: अन्न, खाद्य र पोषणकी प्रतीक

गजलक्ष्मी: पारिवारिक सुख, सन्तान र प्रेमको ऊर्जा

सन्तानलक्ष्मी: सन्तान र आगामी पुस्ताको कल्याणसँग सम्बन्धित

वीरलक्ष्मी: साहस, आत्मविश्वास र कर्मठताको प्रतीक

विद्यालक्ष्मी: ज्ञान, बुद्धि र विवेक प्रदानको प्रतीक

विजयलक्ष्मी: सफलता, प्रतिष्ठा र सम्मानकी अधिष्ठात्री

यी सबै रूप मिलेर लक्ष्मी देवीले जीवनको सम्पूर्ण पक्षमा समृद्धि ल्याउँछिन्। त्यसैले लक्ष्मीको पूजा केवल धनका लागि होइन, आत्मिक र सामाजिक सन्तुलनका लागि पनि हो।

शान्ति र अनुशासनका स्रोतका रूपमा लक्ष्मी

लक्ष्मी स्वच्छता, अनुशासन र सौन्दर्यकी देवी हुन्। हाम्रो घरपरिवार सफा, व्यवस्थित र सकारात्मक ऊर्जाले भरिएको छ भने मात्र लक्ष्मी स्थायी रूपमा बस्न इच्छुक हुन्छिन्। यसकारण त तिहारमा हामी घर सफा गर्छौं, बत्ती बाल्छौं र उज्यालो फैलाउँछौं। यो केवल प्रतीकात्मक होइन, ऊर्जाको शुद्धीकरण पनि हो। घर सफाइ मात्र होइन, मनको सफाइ र मनको दियो बल्नु पनि हो। अनुशासन र मेहनतबिना धन स्थायी हुँदैन। त्यसैले लक्ष्मीको पूजा गर्नुभन्दा पहिले आफ्नो जीवनमा श्रम, सत्य र सेवा अंगीकार गर्नुपर्छ। जुन समाजमा असत्य, भ्रष्टाचार र आलस्य हाबी हुन्छ, त्यहाँ लक्ष्मीको कृपा टिक्दैन। त्यसैले राष्ट्रको समृद्धि पनि लक्ष्मीका सिद्धान्तमा आधारित हुन्छ।

कुनै देश तब मात्र समृद्ध हुन्छ, जब त्यहाँका नागरिक अनुशासित, श्रमशील र एकअर्काप्रति सहृदय हुन्छन्। आर्थिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र शान्तिपूर्ण सहअस्तित्व -यी सबै लक्ष्मीका आयाम हुन्।

नेपाल जस्तो विविधतायुक्त देशमा लक्ष्मीको पूजा केवल धार्मिक परम्परा होइन, राष्ट्रिय चेतनाको प्रतीक हुन सक्छ। हाम्रो संस्कृतिले सधैं ‘सत्य, श्रम र सहअस्तित्व’लाई प्राथमिकता दिएको छ। आज जब संसार तीव्र भौतिक प्रतिस्पर्धामा छ, नेपालले लक्ष्मीको सन्देशबाट आत्मनिर्भरता र शान्तिपूर्ण विकासको बाटो समात्न सक्छ।

लक्ष्मी र स्त्री-शक्ति: मातृत्वदेखि राष्ट्रनिर्माणसम्म

लक्ष्मीलाई मातृ–ऊर्जाको प्रतीकका रूपमा मानिन्छ। उनी मातृत्व, संवेदना, करुणा र समर्पणको अद्वितीय रूप हुन्। लक्ष्मीको सार केवल पूजामा सीमित छैन, उनले जीवनको प्रत्येक क्षेत्रमा सिर्जनात्मक शक्ति, संरक्षण र सन्तुलनको प्रतिनिधित्व गर्छिन्। जस समाजमा महिलाको सम्मान, शिक्षा र सहभागिता सुनिश्चित हुन्छ, त्यही समाजमा लक्ष्मीको स्थायी वास हुन्छ भन्ने विश्वास केवल धार्मिक धारणा मात्र होइन, सामाजिक सत्य पनि हो।

आजको समयमा लक्ष्मीको वास्तविक पूजाको अर्थ महिलालाई आर्थिक, शैक्षिक र सामाजिक रूपमा सशक्त बनाउनु हो। जब महिलाहरू आत्मनिर्भर हुन्छन्, आफ्नो निर्णय आफैं लिन सक्छन् र समाजमा बराबरीको हैसियतमा उभिन्छन्, तब लक्ष्मीको ऊर्जा त्यो समाजमा प्रत्यक्ष रूपमा चम्किन्छ। आर्थिक रूपमा स्वतन्त्र महिलाहरूले परिवारको पोषण मात्र गर्दैनन्, उनीहरू समाजको समृद्धि र स्थायित्वका स्तम्भ बन्छन्।

नेपालमा लक्ष्मीको पूजा गर्ने परम्परा हजारौं वर्ष पुरानो भए पनि अहिलेको आवश्यकता उनको प्रतीकात्मक अर्थलाई व्यवहारमा उतार्ने हो। हामीले बुझ्नुपर्छ– लक्ष्मी केवल मन्दिर वा घरको कोठामा बन्द देवी होइनन्, उनी प्रत्येक आमाको समर्पणमा, छोरीको सपनामा, दिदीबहिनीहरूको संघर्ष र श्रममा बास गर्छिन्। तिहारको अवसरमा घरमा बत्ती बाल्नु भनेको केवल बाह्य उज्यालो होइन, हृदयमा चेतनाको दीप बाल्नु हो।

हामीले नेपाल आमादेखि लिएर गाउँ–सहरका प्रत्येक महिलासम्म श्रद्धा र कृतज्ञता प्रकट गर्नुपर्छ। किसान महिलाको परिश्रम, शिक्षिका र स्वास्थ्यकर्मीको समर्पण, व्यवसायी र गृहिणीको संयम, हरेक विधामा सहयोग पुर्‍याउने - यी सबै लक्ष्मीका जीवित रूप हुन्। त्यसैले यो तिहारमा हामीले केवल धनकी देवीको पूजा होइन, सम्पूर्ण मातृ–शक्तिको सम्मान गरौं। मातृभूमिको रक्षा र समृद्धिका लागि प्रार्थना गरौं। हाम्रा हृदय र व्यवहारमा स्त्रीको शक्ति, प्रेम र बुद्धिको उज्यालो फैलाउन सक्यौं भने त्यही साँचो लक्ष्मीपूजा हुनेछ।

लक्ष्मी र प्रकृति

लक्ष्मीलाई हरियाली, जल, फूल, अन्न र धरणी मातासँग पनि जोडिएको छ। यस अर्थमा लक्ष्मी प्रकृतिको उर्वरता र समृद्धिकी अधिष्ठात्री हुन्। वातावरण सन्तुलन, वृक्षारोपण, जलस्रोतको संरक्षण र कृषिप्रणालीको सम्मान गर्नु लक्ष्मीको पूजाको एक गहिरो रूप हो। यदि हामीले प्रकृतिलाई प्रदूषित गर्‍यौं, पानी बर्बाद गर्‍यौं र माटोलाई विषाक्त बनायौं भने त्यो लक्ष्मीको अपमान हो। त्यसैले यो दीपावलीमा हामीले दीप मात्र होइन, हरियाली र स्वच्छताको पनि बत्ती बाल्न प्रण गरौं। लक्ष्मीको कृपा तब मात्र स्थायी हुन्छ जब हाम्रो मन र समाज दुवै स्वच्छ र समर्पित हुन्छन्। यसकारण यो दीपावली बत्तीको उज्यालो मात्र होइन, चेतनाको उज्यालो फैलाउने पर्व बनोस्।

त्यसैले दीपावली या लक्ष्मी पूजा, भाइपूजा या पारिवारिक मेलमिलाप, यी सबै पक्ष जीवनका सबै आयाममा सन्तुलन, अनुशासन र सौन्दर्य ल्याउने ऊर्जा हुन्। हाम्रा पर्वले हामीलाई सिकाउँछन् - समृद्धि तब आउँछ जब श्रम र सत्यको बाटो रोजिन्छ। यो दीपावली हामी सबैले देवी लक्ष्मीको नाममा आफ्नै हृदय, परिवार, समाज र राष्ट्रमा उज्यालो फैलाऔं। देशमा शान्ति, सहअस्तित्व र समग्र समृद्धिको दीप प्रज्ज्वलित होस्, यही प्रार्थना गरौं।

प्रकाशित: १ कार्तिक २०८२ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App