१ चैत्र २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

उदाउँदो सूर्यलाई अर्घ चढाएर चार दिवशीय छठ सम्पन्न

फोटोहरू: उदाउँदो सूर्यदेवलाई अर्घ दिएर छठ सम्पन्न। तस्बिरः मिथिलेश यादव

उदाउँदो सूर्यलाई मंगलबार बिहान अर्घ दिएर यस वर्षको छठ विधिवत् रूपमा सम्पन्न भएको छ। व्रतालुले मंगलबार बिहान सबेरै घर नजिकका जलाशयमा पानीमा डुबेर सूर्योदयको प्रतीक्षा गरेका थिए।

सूर्योदयसँगै बाँसको सुपुलीमा विधिवत् रूपमा नरिवल, ठेकुवा र अन्य पूजा सामग्रीको अघ्र्य दिएर व्रतालुहरूले व्रत विधिवत् रूपमा सम्पन्न गरेका छन्।

श्निबार बिहान नहाय खाय, आइतबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खीर खाएका व्रतालुहरूले सोमबार दिनभर पानीसमेत नपिएर कठोर व्रत लिएका थिए। मंगलबार बिहान छठ घाटबाट घर फर्केपछि व्रतालुहरूले सबैभन्दा पहिले छठीमाताको प्रसादका रूपमा रहेको ठेकुवा, केरा लगायतका प्रसाद खाएर ब्रत तोडेका छन्।

छठको प्रसाद यसपछि मात्र अन्य खानेकुरा खाने चलन रहेको छ। व्रतालुको व्रत सकिएको दिन परिवारका अन्य सदस्यले व्रतालुहरूलाई मीठो लाग्ने पकवान पकाएर राख्ने चलन छ। विशेष गरी व्रतालुहरूले यो व्रत सकिएको पछिको पहिलो छाकमा भात, दाल, तरकारी, तरुवा लगायतका परिकार खाने चलन पनि छ।  

पर्व सकिएपछि व्रतालुका परिवारका सदस्यहरूले छरछिमेक र आफन्तलाई प्रसाद बाँड्नमा व्यस्त हुन्छन्। विशेष गरी छठ माताको प्रसाद छोरीचेलीको घरमा पठाउने चलन रहेको छ। दाजुभाइहरू बिहानैदेखि ढक्कीमा छठी माताको प्रसाद लिएर टाढाटाढा रहेका आफ्ना दिदीबहिनीको घरतर्फ हान्निएको दृश्य अत्यन्त रोचक देखिन्छ। यस्तो कोसेलीलाई मधेसमा सनेस भन्ने गरिन्छ।

मधेसका देहातदेखि सहरसम्मका छठ घाटहरूमा सोमबार साँझ र मंगलबार बिहान मानव सागर उर्लिएको थियो। अधिकांश घाटहरू बेहुलीझैं सिंगारिएका थिए। वीरगन्जको घडिअर्वापोखरी, जनकपुरधामको गंगासागर, लहानको खुट्टी खोला, रघुनाथपुरलगायतका पोखरी, सप्तरीको कोशी नदीलगायतका घाटहरूमा पूजा गर्नेहरूको भीडभाड थियो।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङछा पूरा होस् भन्ने उद्देश्यले यो व्रत श्रद्धापूर्वक लिने गरिन्छ। चैत महिनाको शुक्ल पक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन्।

यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ। जुनसुकै जाति र धर्मका मान्छेले मनाउन सकिने यस पर्व आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि मनाउने चलन छ। यो पर्व यहाँका पहाडी मात्र नभई मधेसका केही मुस्लिम धर्मावलम्बीले पनि मनाउन थालेका छन्। जसले गर्दा यो पर्वले धार्मिक सहिष्णुतामा समेत थप बल पुर्‍याएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App