दसैंको रमझमले मन र आँगनलाई रंग्याएर बिदा लिएको केही दिन नबित्दै तिहारको उज्यालो किरणले हाम्रो जीवनलाई प्रकाशित गर्न आइपुग्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म फैलिएको यो पञ्चदिवसीय पर्व यमपञ्चकको नामले विख्यात छ। घर घरमा दीपको लहरले अन्धकारलाई बिदा दिँदै उज्यालोको माहोल स्थापना गर्ने यो उत्सव दीपावलीका रूपमा पनि प्रचलित छ। तिहारको प्राचीनता पौराणिक कथाहरूमा लुकेको छ, जसले हाम्रो सांस्कृतिक निरन्तरताको कथा बोकेर आउँछ। तिहारले यमपञ्चकको समग्र उत्सवलाई समेट्छ भने दीपावलीले प्रकाशको प्रतीकात्मक उल्लासलाई। यो पर्व अन्धकारमाथि उज्यालोको विजयको रूपक हो, जसले जीवनका हरेक पलमा आशा, प्रेम र समृद्धिको सन्देश प्रवाह गर्छ।
तिहारको रौनक प्रकृतिदेखि मानव हृदयसम्म फैलिएको छ । काग, कुकुर, गाईजस्ता जीवहरूको पूजनदेखि दाजुभाइ–दिदीबहिनीबिचको स्नेहपूर्ण बन्धन र नेवारी समुदायको ‘म्हःपूजा’मार्फत आत्म–सम्मानको अभिव्यक्तिसम्म यो पर्वले जीवनका विविध आयामलाई जोड्छ।
फूलहरूको मालाले सजिएको तिहार, घरबगैंचा र आँगनलाई मात्र होइन, हृदयलाई पनि सुगन्धित बनाउँछ। मखमलीको कोमलता, दुबोको हरियाली, सयपत्रीको सुनौलो रङ र गोदावरीको श्वेत शोभा– यी फूलहरूले प्रेम र आशीर्वादको माला बुन्छन्। फूलबिनाको तिहारको कल्पनै गर्न सकिन्न । घर, पसल, उयोग, व्यवसाय जताततै फूलले सिँगारिएको हुन्छ तिहार। लक्ष्मीपूजाको भव्यतालाई झिलिमिली फूलहरूको सजावटले अरू सुन्दरता थपेको हुन्छ।
यो पर्व राजसी वा तामसीभन्दा सात्त्विक गुणले युक्त छ। फलफूल, सेलरोटी, अनर्सा, फिनी, अर्साजस्ता परम्परागत मिठाईहरूको तयारीमा आमा, दिदी–बहिनीहरू तिहार सुरु हुनु केही दिनअघिदेखि नै चटारोमा हुन्छन्। यी मिठाईका सुगन्धले गाउँबस्ती नै एककिसिमले मगमगाएको हुन्छ। अझ भनौं, तिहार भित्रिन तयार भएको सन्देश दिन्छ । लक्ष्मीपूजाको साँझ, यी मिठाईहरू चढाएर धन–धान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको आह्वान गरिन्छ, जसले घरलाई समृद्धि र आशिष्ले भरिपूर्ण तुल्याउँछ भन्ने मान्यता रहँदैआएको छ।
प्रकृतिसँगको सांस्कृतिक संवाद: काग र कुकुर तिहार
तिहारको पहिलो दिन– काग तिहार । दुनाबोतामा दालभात, तरकारी राखेर कागलाई समर्पित गर्ने यो चलन प्रकृतिसँगको प्राचीन संवादको स्मृति हो। उहिले कागलाई समाचारवाहक मानिन्थ्यो । यसको बोली र हाउभाउले शुभ–अशुभ संकेत दिन्थ्यो।
आधुनिकताले यी मान्यतालाई अन्धविश्वास ठान्ला तर कागपूजनले पर्यावरणीय सन्तुलनको महत्त्व सम्झाउँछ। फोहोर खाएर वातावरण शुद्ध गर्ने यो पक्षी समयको महत्त्व सिकाउने गुरु पनि हो। बिहानै सक्रिय भई साँझ समयमै गुँड फर्कने कागको दिनचर्याले मानवलाई अनुशासन र प्रकृतिसँग सहकार्यको पाठ पढाउँछ।
दोस्रो दिन– कुकुर तिहार। मृत्युका द्वारपाल मानिने कुकुरलाई पूजन गर्ने यो दिन यमदीप दानको प्रारम्भ हो, जसले यमयातनाबाट मुक्ति दिन्छ भन्ने विश्वास छ। कुकुरको बफादारी र संरक्षक स्वभावले हामीलाई प्राणीमात्र प्रति कृतज्ञता सिकाउँछ। बुझ्नु त सधैं पर्छ, तैपनि यो दिन हामीले पशुहरूसँग मानिसको जीवनको सहअस्तित्वको महत्त्व बुझ्छौं, जुन हाम्रो संस्कृतिको आधारशिला हो।
लक्ष्मीपूजा र दीपावलीको झिलिमिली
तेस्रो दिन– लक्ष्मीपूजा, धन र ऐश्वर्यकी देवीको आराधना। रंगोली, फूल र दीपले सजिएको घर, उज्यालोको उत्सव बन्छ। दिदी–बहिनी, भाउजू, बुहारी–देउरानीहरू मिलेर सजाउने रंगोली या मण्डल तथा लक्ष्मीको पाइला निर्माणमा उनीहरूको दक्षता र प्रतिभाले पोखिने मौका पाउँछ।
दीपावलीको यो साँझ, अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो। प्राचीन कालमा माटोको पालामा तोरीको तेल र धागोको बत्तीले उज्यालो बनाइन्थ्यो, आज विद्युतीय मालाले घर–आँगन झिलिमिली हुन्छ। यो परिवर्तनले आधुनिकतासँगै परम्पराको मेल देखाउँछ। लक्ष्मीपूजामा अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत र चन्द्रमाको पूजन हुन्छ। चन्द्रमालाई लक्ष्मीका सहोदर भाइ मानिन्छ, जसले पारिवारिक बन्धनको प्रतीकात्मकता थप्छ। यो दिन, घरलाई मात्र होइन, मनलाई पनि समृद्धिको उज्यालोले भर्नुपर्छ भन्ने व्यापक मान्यता छ।
गाई तिहार र गोवर्द्धन पूजा: प्रकृतिको सम्मान
चौथो दिन– गाई तिहार वा गोवद्र्धन पूजा। नेवारी समुदायको नयाँ वर्ष र ‘म्हःपूजा’सँग जोडिएको यसै दिन आत्म–सम्मान र आत्म–चिन्तनको अवसर हो। पौराणिक कथामा भगवान् कृष्णले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीको रक्षा गरेका थिए। यो कथा प्रकृतिको संरक्षण र गोवंशको महत्त्वको सन्देश बोकेर आउँछ। गोबरबाट पर्वत र कुण्ड बनाएर पूजन गर्ने चलन, गोवंश संवद्र्धन र सुख–शान्तिको प्रार्थना हो।
प्राचीन कालमा गाईलाई सम्पत्तिको मापदण्ड ‘गोधन’ मानिन्थ्यो। गाईलाई लक्ष्मीको स्वरूप ठान्ने शास्त्रीय मान्यता, यसको दुध, दही, घ्यु, गोबर र गहुँतको वैज्ञानिक महत्त्वसँग जोडिन्छ। आयुर्वेदमा यी तत्त्वहरू आयुवृद्धि र स्वास्थ्यका लागि अमृततुल्य मानिन्छन्, गोबर र गहुँत प्राङ्गारिक मलका रूपमा विश्वप्रसिद्ध छन्। वैतरणी नदी तर्न गाईको सेवा सहायक हुन्छ भन्ने मान्यता छ, यसलाई मातृतुल्य सम्मान दिन्छ।
तर, आधुनिकताले गाईपालनलाई व्यावसायिक बनाउँदा गाईप्रतिको सम्मान र भक्ति घट्दै गएको छ। व्यावसायिक दोहनले गोरसलाई विष बनाउँदा भेगन आन्दोलन विश्वव्यापी बन्दै गइरहेको छ। गाईको वास्तविक सेवा, संरक्षण र परम्परागत पालनपोषणले मात्र यो प्रवृत्तिलाई रोक्न सकिन्छ। गाईको सेवा राष्ट्रिय समृद्धिको आधार बन्न सक्छ किनकि यसले पर्यावरण, स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलनमा राख्छ। नेपालको राष्ट्रिय जनावर गाईको सम्मानको दिन पनि हो गाईपूजा।
भाइटीका: स्नेहको अमर बन्धन
पाँचौं दिन– भाइटीका, दिदीबहिनी र दाजुभाइबिचको स्नेहको अनुपम उत्सव। सप्तरंगी टीका, इन्द्रधनुषजस्तो उज्ज्वल र मखमली, दुबो, सयपत्री र गोदावरीको मालाले सजिएको यो क्षण प्रेम र दीर्घायुको कामना हो। पौराणिक कथामा यमराजले बहिनी यमुनाकहाँ पाँच दिन बसेर टीका ग्रहण गरेका थिए, जसले यो पर्वलाई यमपञ्चक बनायो। दिदीहरूले दाजुलाई फलफूल, मिठाई, कटुस, ओखर दिँदै आशीर्वाद दिन्छन्, आधुनिकताले काजु, किसमिस थपे पनि सरल र सहजतामै यसको सौन्दर्य छ। दीपपूजन, गणेशको वन्दना गरी तेल र पानीको धाराले सात फेरा लगाएर पूजन गर्ने यो विधि पवित्रताको प्रतीक हो। दक्षिणा दिई ढोग्ने चलन, विश्वमा दुर्लभ छ।
दिदी–बहिनीहीन दाजु–भाइहरूको पर्खाइ, भक्कानो र रिक्तता, यो भावुकता तिहारको करुण रस हो। काठमाडौंमा रानीपोखरीको ‘बालगोपाल’लाई दाजुभाइ ठानेर पूजन गर्ने परम्परा दिनानुदिन बढ्दैगइरहेको छ।
केही वर्षअगाडिदेखि चलेको सामूहिक भाइटीकाको नवीन प्रयासले संस्कृतिको निरन्तरतालाई केही न केही सुनिश्चित गरेको छ भन्नैपर्छ । काष्ठमण्डपबाट सुरु भएको यो चलन, देशभर फैलिएको छ, जसले सामाजिक एकताको सन्देश बोकेको छ।
अझ हिजोआज कतिपय गाउँघरमा तिहारमा दिदीबहिनीहरूको टीका नछुटोस् भनी छिमेकी दिदीबहिनीहरूलाई आआफ्नो मोटरसाइकलमा उनीहरूको गन्तव्यमा लगेर छोडिदिने निःस्वार्थ भावको सेवाले समाजमा सद्भाव, आत्मीयता, सम्बन्धले फक्रने अवसर जुटाइदिएको छ।
देउसी–भैलो: सामाजिक सद्भावको सङ्गीत
तिहारको अर्को रौनक देउसी–भैलो सांस्कृतिक अभिव्यक्तिको जीवन्त रूप हो। लक्ष्मीपूजामा भैलो र गोवद्र्धन पूजामा देउसी खेल्ने परम्परा, गीतसङ्गीतको अनुपम मेल हो। पहिले–पहिले महिला भैलो र पुरुष देउसी खेल्थे। आज मिश्रित समूहहरूले यसलाई जीवन्त राखेका छन्। केटाकेटीहरूले तयार पारेका भाका, कतिपयका लागि प्रतिभा प्रदर्शनको अमूल्य अवसर बन्नपुगेको हुन्छ। घरबेटीहरूले सेल, मिठाई र दक्षिणा दिई देउसी–भैलेहरूलाई बिदा गर्छन्, जसले सामाजिक सद्भाव र मैत्री बढाउँछ। ससाना केटाकेटीहरूको समूह, सामाजिकीकरण र मनोरञ्जनको माध्यम बन्छ। मनकारी हृदय भएका, समाजका लागि केही परोपकारी काम गर्नुपर्छ भनिठान्ने युवा–युवती, प्रौढहरू देउसी–भैलोबाट संकलित रकमले विद्यालय, चौतारा, ढुंगेधारा, स्वास्थ्य चौकीजस्ता सामाजिक कार्यमा जुट्ने गरेका पनि देखिन्छन्, प्राप्त हुने देउसी–भैली रकमको सही प्रयोग हुँदा तिहार एक प्रकारले सामुदायिक एकताको महान् पर्व बन्न पुगेको हुन्छ।
आर्थिक–सामाजिक र आध्यात्मिक आयाम
तिहारलाई आर्थिक–सामाजिक दृष्टिबाट हेर्दा प्रकृतिका उपहारहरूको महत्त्व उजागर हुन्छ । जंगली फलहरू जस्तै कटुस, ओखर, निबुवा, जुन अन्य समयमा उपेक्षित हुन्छन्, तिहारमा मूल्यवान् बन्छन्। यो पर्वले प्रकृतिका हरेक वस्तु उपयोगी छन् भन्ने अमूल्य पाठ सिकाउँछ। तिहारको उज्यालो, बाह्य जगत्मा मात्र सीमित छैन, यो अन्तर्मनलाई प्रकाशित गर्ने अवसर पनि हो।
शास्त्रहरूले भन्छन्– ‘ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योन्र्मा अमृतं गमय’ अर्थात् असत्यबाट सत्य, अन्धकारबाट उज्यालो, मृत्युबाट अमरतातिर जाऊ। साँच्चै भन्ने हो भने तिहार यो मन्त्रको जीवन्त रूप हो। यो पर्वले सामाजिक सौहार्द, पर्यावरण संरक्षण र आत्मिक उन्नतिलाई जोड दिँदै सात्त्विक जीवनका लागि प्रेरणा र प्रोत्साहन दिइरहेको हुन्छ। प्रकृतिका अनुपम वरदान मानव, पशुपक्षी र वनस्पति एक–आपसमा मिलेर, सहअस्तित्वको भावनाले रहनसक्यौं भने जीवनमा सुख, शान्ति, समुन्नति र आनन्दको बहार आउँछ भन्ने कुरा तिहारपर्वलाई राम्ररी पगेर्न सकियो भने बुझ्न गाह्रो पर्दैन।
तिहारको समकालिक चुनौती र समाधान
आधुनिकताले तिहारको सादगीलाई भड्किलो बनाउने जोखिम बढाएको छ। महँगा उपहार, अनावश्यक खर्च र वातावरणलाई असर तुल्याउने पटाका र जुवाहरूले पर्वको मौलिकतामाथि प्रश्न उठाउन सक्छ। तिहारलाई सरल–सादगीपूर्ण, पर्यावरणमैत्री र समावेशी बनाउन हामीले परम्परागत मूल्यहरूलाई आधुनिक सन्दर्भमा निरन्तरता दिँदै जानु सबैका लागि कल्याणकारी हुन्छ। स्थानीय उत्पादन, परम्परागत मिठाई र माटोको दीपको प्रयोगले आर्थिक र पर्यावरणीय सन्तुलन कायम गर्न सकिन्छ।
अहिलेको सामाजिक सञ्जाल र प्रविधिका उपयोग गरी दिदीबहिनी र दाजुभाइबिचको सम्बन्धलाई टाढा भए पनि अझ प्रगाढ बनाउन सकिन्छ। तिहारले हामीलाई केवल उत्सव मनाउन मात्र होइन, प्रकृति, संस्कृति र समुदायप्रति जिम्मेवार बन्न पनि सिकाइरहेको छ। स्वदेश तथा विदेशमा रहेका नेपाल र नेपालीको महान् चाड तिहार हो भन्ने कुरालाई यसको महत्त्व, उपादेयता र यसभित्र समेटिएर रहेका गहन विषयहरूलाई उजागर तुल्याउँदै अरू समृद्ध तुल्याउँदै जानुपर्छ किनभने यसले नेपालीहरू जहाँ बसे पनि, जहाँ रहे पनि एकआपसमा जोड्छ, मिलाउँछ, ‘अनेकताभित्रको एकता’ लाई जीवन्त तुल्याउँछ।
निष्कर्ष
तिहार– उज्यालोको महोत्सव, केवल दीपहरूको झिलिमिली होइन, यो हृदयको उज्यालो, प्रेमको सौगात र सामाजिक एकताको सन्देश पनि हो। यो पर्वले हामीलाई प्रकृतिसँग जोडिन, परिवारलाई प्राथमिकता दिन र आत्म–सम्मानलाई अँगाल्न प्रेरित गर्छ। हरेक वर्ष तिहारले हामीलाई सम्झाउँछ– जीवनको अन्धकारलाई उज्यालोले जित्न सकिन्छ, जब हामी सत्य, प्रेम र सौहार्दको मार्गमा हिँड्छौं। सात्त्वि , सरल र सादगीपूर्ण तिहारले समाजमा शान्ति, समृद्धि, र एकता ल्याउन सकोस्। तिहारको हार्दिक मङ्गलमय शुभकामना!
प्रकाशित: १ कार्तिक २०८२ ०९:२५ शनिबार





