२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

इटहरीमा ६ करोड ६० लाखको लगानीमा बन्यो मन्दिर

इटहरी उपमहानगरपालिका–१ आपगाछीमा करिब ६ करोड ६० लाख रुपैयाँको निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ। शनिबार आयोजित समारोहमा वालसन्त मोहनशरण देवाचार्यले मन्दिरको उद्घाटन गरे।

पुख्र्यौली थलो भोजपुरको याक्कुकट्टीबाट विसं १९९० आसपास सुनसरीको इटहरी आएका स्वर्गीय चन्द्रप्रसाद अधिकारीका सन्तानले संयुक्त रूपमा मन्दिर निर्माण गरेका हुन्। २०३४ सालमा निधन भएका चन्द्रप्रसादको स्मृतिमा मन्दिर निर्माण गरिएको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले जानकारी दिए।

कोशी राजमार्गअन्तर्गत पर्ने एक कट्ठा आठ धुर क्षेत्रमा यसअघि सानो मन्दिर रहेको थियो। सडक विस्तारपछि स्थान साँघुरो बनेपछि परिवारका सात भाइ छोराका नाति–पनातिले थप जग्गा खरिद गरी करिब पाँच कट्ठा क्षेत्रफलमा नयाँ संरचना निर्माण गरेका हुन्। चार वर्ष लगाएर मन्दिर निर्माण सम्पन्न गरिएको जनाइएको छ।

मन्दिर परिसरमा पञ्चायन देवीदेवताका मूर्ति स्थापना गरिएको छ। ती मूर्तिहरूको विधिपूर्वक पूजाआराधना समेत सुरु भइसकेको परिवारका सदस्यले बताए। अब नियमित रूपमा पूजा–अर्चनाका लागि खुला गरिएकाले भक्तजनको दैनिक भीड बढ्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै जगतगुरु देवाचार्यले अधिकारी परिवारको पहललाई उदाहरणीय कार्य भएको बताए। उनले धार्मिक, सांस्कृतिक विरासत जोगाउन यस्ता प्रयास आवश्यक रहेको उल्लेख गरे।

 

प्रकाशित: १६ फाल्गुन २०८२ १८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App