तिज हिन्दु महिलाहरूको विशेष चाड हो।यो चाड भाद्र शुक्ल तृतीयाको दिन पर्छ। तिजमा महिलाहरूले दरखाने, व्रत बस्ने, पूजाआजा गर्ने चलन छ। तृतीयाको दिन अविवाहित महिलाहरू सुयोग्य वरप्राप्तिका लागि र विवाहित महिलाहरू पति वा परिवारको कल्याणका लागि निराहार व्रत बस्छन् र शिवपार्वतीको पूजाआजा गर्छन्।
विशेषगरी यस चाडमा माइती पुगेर वर्षभरि आफूले पाएको दुःख बिर्संदै नाचगानमा रमाएर आआफ्ना दुःख, पीडा, गथासो अभिव्यक्त गरिन्छ। आफ्ना दिदीबहिनी, साथीसँगी भेटेर सुखदुःख बाँड्ने चाडका रूपमा मानिन्छ।यसलाई सम्झँदै रमाउँदा यसप्रकारको गीतबाट सुरु गरेको पाइन्छ:
वर्ष दिनमा तिज पर्व फर्की आइरा’छ
यो तिजले यो मनमा खुसी छाइरा’छ।
दिदीबहिनी सबैसँग खुसी मन गाँसेर
दर खाई नाचौं है सबै हाँसेर।
हेर चेली हाम्रो मन कति खुसी भा’को छ
दिदीबहिनी भेटने दिन फेरि आ’को छ।
(स्रोतः राधा पाण्डे, पाल्पा)
प्रस्तुत गीतमा तिज पर्वलाई मुख्य विषयवस्तुका रूपमा लिइएको छ।वर्ष दिनमा आउने पर्व तिजले सबैमा खुसी ल्याउने कुरालाई यहाँ लिइएको छ। यस्तो महान् पर्व तिजमा सबै दिदीबहिनी मिलेर दर खाने, नाच्ने र रमाउने गरिन्छ। तिज मनाउनु परापूर्व कालदेखिको हाम्रो संस्कार र संस्कृति हो। यसलाई हामी सबैले बचाइ राख्नुपर्छ भन्ने कुरालाई लिइएको छ ।
हामीले हैसियतअनुसार पर्व मनाउनुपर्छ। वर्ष दिनसम्म घरगृहस्थीका काम मात्र गरिरहेका बेला तिजको अवसरमा वर्ष दिनमा दिदीबहिनी भेटघाट गरी रमाइलो गर्ने र मिठो खाने चाड भएकाले यस्ता चाडपर्वलाई कहिल्यै भुल्नु हुँदैन। आधुनिकताका नाममा अनेक विसङ्गतिले गाँज्दै आइरहेका छन्। यस्तो अवस्थामा हामी अझै दृढ भएर आफ्नो संस्कार–संस्कृतिलाई जीवन्त बनाइरहनुहुन्छ भन्ने सन्देश यस तिज गीतका माध्यमबाट दिने गरिएको छ। यस्ता तिजका गीतमा जनचेतनालाई पनि विषय बनाइएको हुन्छ, जसले समाजलाई सभ्य र नैतिक मर्यादामा राख्न पनि सहयोग गरिरहेको पाइन्छ:
अघि बढौं दिदीबहिनी हामी कम्मर कसेर
यही चालले पछि हटी हुन्न बसेर, बरै
सबै दिदीबहिनीले मनमा कुरा यो लिनु
पढने लेख्ने काममा हाम्लाई बाधा नदिनु, बरै
असल शिक्षा खोज्छौं हामी राम्रो मान्छे बन्नलाई
समाज र देशविकासको जग खन्नलाई, बरै।
(स्रोतः अनिता पुन, म्याग्दी)
महिलाहरू आफैं उठ्नुपर्ने आवश्यकता भएको विषयवस्तुलाई यस गीतमा समेटिएको छ।जबसम्म महिलामा चेतनाको कमी हुन्छ, समाजले महिलालाई शोषण गरिरहन्छ। त्यसकारण महिला शक्ति जागरुक हुनुपर्ने आजको आवश्यकतालाई यस गीतले प्रस्तुत गरेको छ।महिलाहरू महान् उद्देश्य लिएर अघि बढ्नुपर्छ। त्यसो भएमा छोराले गर्ने काम छोरीले पनि सजिलै गर्न सक्छन्। यदि समाजले नै लैंगिक विभेद नगरी छोरासरह छोरीलाई अवसर दिने हो भने छोरीहरू पनि हरेक क्षेत्रमा अघि बढ्न सक्छन् भन्ने कुरालाई विषयवस्तुको रूपमा लिइएको छ। गीतमा प्रस्तुत वैचारिकता समाजमा रहेको छोरा र छोरी बिचको भेदभावलाई अन्त्य गर्नुपर्ने रहेको छ। दिदीबहिनीहरूले इज्जत र प्रतिष्ठाका लागि काम गर्न कहिल्यै पछि हट्नुहुन्न भन्ने आवाजहरू गीतका माध्यमबाट बुलन्द भएका छन्। समाजले छोरीलाई हेर्ने दृष्टिकोणमा यथाशीघ्र सुधार गर्नुपर्ने र छोरासरह अवसर छोरीलाई पनि दिएमा छोरीले हरेक क्षेत्रमा अघि बढ्न सक्छन् भन्दै सक्षम हुन सक्ने कुरा यसरी थप गरिएको पाइन्छ:
मिहिनेतले कर्म गरौं हामी सफल हुनेछाैं
इज्जत र प्रतिष्ठाका शिखर छुने छौं, बरै
उद्देश्य त एउटै छ उही चन्द्र छुनलाई
बुझ चेली पर्दैनभो सधैं रुनलाई, बरै।
(स्रोतः शारदा पाण्डेय, गुल्मी)
जागरण तिजको गीतको मूल उद्देश्य समाज परिवर्तन गर्नु नै रहेको हुन्छ। समाजमा हुने लैंगिक विभेदको अन्त्य गरी छोरा र छोरीलाई समान अवसर दिन सके छोरीलाई पनि छोरासरह अघि बढेर काम गर्न सक्छन् भन्ने कुरा यस गीतबाट प्रस्ट पारिएको छ। त्यसैले यस गीतको उद्देश्य समाजलाई परिवर्तन गरी सकारात्मक सोचतिर धकेल्ने नै रहेको छ।
गीतका माध्यमबाट मनारेञ्जन मात्र नभई समाजमा रहेको असमानतालाई अन्त्य गरी समाजलाई परिवर्तन गर्नुपर्ने सोचका साथ गीतलाई अगाडि बढाइएको पाइन्छ। तिज गीत सामूहिक रूपमा नै गाइएको देखिन्छ। महिलाहरूले भोगेका पीडा र समाजमा भएको असमानतालाई अन्त्य गरी समानता र समावेशी बनाउनुपर्ने कुरा गीतका माध्यमबाट अभिव्यक्त गरिन्छन्:
हे शिव महादेव हाम्लाई शरण लेऊ न त
संस्कृति जोगाउनलाई आशिष् देऊ न त।
भगवान्लाई चढाउने त फूलअक्षता पाती हो
आडम्बरी नबनौं है सङ्गी साथी हो।
सबैको भावना मिलोस् हामीसँग नै
फेरियोस् सामाजिक नयाँ रङ्ग नै।
(स्रोतः शान्ता देवकोटा, गोरखा)
हामीले आफ्नोपन वा हाम्रो संस्कार–संस्कृतिलाई जोगाउनुपर्छ भन्ने कुरालाई विषय बनाइएको छ। हामीले हाम्रो संस्कारअनुसार तिज पर्व मनाउँछौं। भगवान् शिवको पूजा गरेर तिजमा व्रत बस्छौं। हिन्दु नारीहरूले भगवान् शिवको आराधना आफ्नो तरिकाबाट गर्ने गरेको कुरा र भगवान्सँग आफ्नो व्यक्तिगत इच्छा, चाहनाभन्दा पनि समसामयिक विषयलाई लिएर पुकारा गरिएको यस गीतमा राम्रो काम गर्न र नराम्रो कुसंस्कार हटाउन भगवान् आशिष् मागिएको छ। हामीले सरल जीवन जिउनुपर्छ र उच्च विचार राख्नुपर्छ भन्दै वर्ष दिनको एक पटक तिज पर्वमा रमाइलो गर्ने नाममा संस्कृति र संस्कार नभुल्न पनि आग्रह गरिएको देखिन्छ।
हाम्रो मौलिक चाडपर्व तथा मनाउने संस्कृतिलाई बचाइराख्न आफ्नो हैसियतभन्दा माथि उठेर खर्च गर्ने बानी राम्रो होइन। अर्काको सिको गरेर ऋण काढी, काढी खर्च गर्ने बानीले संंस्कार र संस्कृतिमा नै आँच आउन सक्छ भन्ने सन्देशसमेत यस गीतमा पाइन्छ। वर्तमान समयलाई मध्यनजर गर्दै हामी चाडपर्व मान्ने निहुमा गरिएका क्रियाकलापले समाज विकृतितिर ढल्कँदै गएकाले गीतका माध्यमबाट महिलाले समाजलाई सकारात्मक दिशातिर लान समेत मार्गनिर्देश गरेको छ।
तिज गीतको उद्देश्य समाजलाई सकारात्मक सोचमा अगाडि बढाउने नै हो। हामी आफ्नो संस्कार र संस्कृतिमा रमाउँछौं तर संस्कृतिलाई जोगाउने निहुमा विकृति भित्रिएको थाहा पाउँदैनौं। आफ्नो हैसियतलाई बिर्सिएर अगाडि बढ्न खोज्दा हामीले ठुलो संकट बेहोर्नुपर्ने हुन्छ। हाम्रा पुर्खाले मान्दै आएका चाडपर्वहरू मनाउनु वा संस्कृतिलाई जोगाउनु पनि हाम्रो धर्म हो। संस्कृतिलाई आफ्नै रूपबाट जोगाउन सिकौं भन्ने सन्देश तिज गीतमार्फत पाइन्छ।
प्रकाशित: ७ भाद्र २०८२ ०८:३० शनिबार





