२५ आश्विन २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको ठूलो घुइँचो लागेको छ।

पितृपक्षको समापनका दिन आफ्ना पूर्वजप्रति श्रद्धा प्रकट गर्दै आत्माको चिरशान्तिको कामना गर्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको हो।

हिन्दू परम्पराअनुसार सोह्र श्राद्धभर दिवङ्गत पितृको तिथिअनुसार श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ। आफ्ना पितृको तिथि परेका तथा अन्य दिन तिथि जुराउन नसकेका श्रद्धालुहरूले अन्तिम दिन विधिपूर्वक पितृकर्म सम्पन्न गरेका छन्।

पशुपति क्षेत्रमा लामो समयदेखि कर्मकाण्ड गराउँदै आएका पण्डित दीर्घराज रेग्मीका अनुसार बिहानैदेखि भक्तजनहरू धार्मिक विधिअनुसार तर्पण र पिण्डदानका लागि जुटिरहेका छन्।

उनले सोह्र श्राद्ध पितृको सम्झना र सम्मान प्रकट गर्ने पवित्र धार्मिक परम्परा भएकाले अन्तिम दिन पनि विधिपूर्वक श्राद्ध सम्पन्न गर्न श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको बताए।

त्यस्तै, अर्का पण्डित नन्दराम लुइँटेलले श्राद्ध दिवङ्गत पितृप्रति निष्ठा, श्रद्धा र सम्मान प्रकट गर्ने अनिवार्य धार्मिक कर्म भएको उल्लेख गरे। पितृको आत्माको तृप्ति र शान्तिका लागि शास्त्रोक्त विधिपूर्वक श्राद्ध र तर्पण गरिने उनको भनाइ छ।

सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुहरूको आवतजावत बाक्लिँदै आएको थियो।

अन्तिम दिन वाग्मती नदी किनारमा आफन्तको सम्झनामा कर्मकाण्ड गर्नेहरूको अत्यधिक चाप बढेपछि श्राद्ध र पिण्डदान गराउने पण्डितहरूलाई बिहानैदेखि भ्याइनभ्याई भएको छ।

प्रकाशित: २४ आश्विन २०८३ १७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App