पोखरामा सक्की मिला (मना) पुन्ही पर्व मनाइएको छ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको साँझ खाद्य सामग्री सुकाएर मनाइने यो पर्व बुधबार साँझ मनाइएको हो।
पोखरामा ७ फरक स्थानमा सामूहिक रूपमा अन्न (खाद्य सामग्री) सुकाएर पर्व मनाइएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार यस वर्ष भीमसेन टोलको भीमसेन मन्दिर, बागबजार, गणेश टोलको गणेश मन्दिर, रामकृष्ण टोलको गोपालजी मन्दिर, बगालेटोलको गणेश मन्दिर, तेर्सापट्टीको गणेश मन्दिर, रानीपौवाको शोभा भगवती र गणेश मन्दिर परिसरमा अन्न सुकाएर पर्व मनाइयो।
सामूहिक रूपमा मनाईने यो पर्वमा सुकाईने अन्न स्थानिय गुठी तथा नेवार संघसंस्थाहरूले व्यवस्थापन गर्ने गर्दछन्। कात्तिक शुक्ल पूर्णिमाको पूर्ण चन्द्र देखिएपछि नेवारी परिकारहरू सेलरोटी, चिनी रोटी, झिलिङ्गालगायत तथा मकैसहितका विभिन्न प्रकारका गेडागुडीलाई विभिन्न आकार बनाएर खुल्ला आकाश मुनि सुकाइन्छ। साँझ सुकाउन सुरु भएको खाद्य सामग्री मध्यरातसम्मै सुकाइन्छ। सो अवधीमा भजनकिर्तनसमेत गर्ने परम्परा रहेको विम्ब कवि रमेश श्रेष्ठले बताए। उनका अनुसार भजनमा पराक्रम र संकट मोचनका प्रतीक हनुमानलाई महत्व दिएर गाइन्छ। तर पछिल्लो समय भजनकिर्तन भने कम हुन थालेको पाइन्छ।
संस्कृतिकर्मी प्रधानाङ्गका अनुसार आषाढ शुक्ल एकादशी अर्थात तुलसी रोप्ने दिनदेखि तुलसीको विवाह गर्ने हरिसयनी एकादशीसम्म चार महिना विष्णु भगवान समुन्द्रमा सयन गर्न गएपछि विष्णु लोकमा उनको अभाव भएको र सबैले विष्णुलाई पुकार गरेर सक्की मिला पुन्हीको दिन जागा गर्न सफल भएको जनश्रुती छ। त्यसपछि जागा भएका विष्णुलाई विष्णु लोकवासीले अन्न खुवाएर पालेको र त्यसबाट प्रसन्न भएका भगवान विष्णुले ‘तपाईंहरू पनि अन्न सुकाउनूस म अमृत वर्षा गरिदिन्छु’ भनेकाले सोही अनुसार कात्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष अन्न सुकाएर यो पर्व मनाउने गरिएको उनले बताए।
यसरी सुकाइएको अन्नमा पैष्टिकता र मीठास थपिने जनविश्वास रहेको अर्का संस्कृतिकर्मी सुनिल उलकले जानकारी दिए। यसरी सुकाइएको रोटी माघ शुक्ल पूर्णिमा अर्थात स्वस्थानी पूर्णिमासम्म खाने चलन रहेको उनले बताए। ‘सुकाइएको अन्नमा शितको रूपमा अमृत झर्ने विश्वास गरिन्छ,’ उनले भने।
सक्की मिला पुन्हीमा सुकाइएको अन्नले विरामी पनि सञ्चो हुन्छ भन्ने जनविस्वास रहेको भीमसेन दुहादश गुठीका गुठियार सदस्य अर्जित नापितले बताए। उनले भने, ‘पहिले पहिले गाउँमा कोही बिरामी भए उसलाई खुवाउनका लागि नेवारकोमा यस्तो अन्न पाइन्छ भनेर खोज्दै आउने गर्थे, तर अहिले त धेरै कम भएको छ।’
प्रकाशित: २० कार्तिक २०८२ ११:५३ बिहीबार





