राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका छन्।
राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट आज निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले रक्षाबन्धन ग्रहण गरेका छन्।
यसअघि आजै राष्ट्रपति पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवं रक्षाबन्धनको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। उनले आज एक शुभकामना सन्देश दिँदै नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।
जनैपूर्णिमा एवं ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उनले विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा मनाइने यस प्रकारका चाडपर्वले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गरेका छन्।
प्रकाशित: २४ श्रावण २०८२ १२:४७ शनिबार





