जनकपुरधाममा साताव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव सुरु भएको छ ।
आजदेखि विधिवत् रूपमा सुरु भएको विवाह पञ्चमीको पहिलो दिन जानकी मन्दिरको प्राङ्गणमा दुई बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको छ।
त्रेता युगमा भारत अयोध्याका राजकुमार भगवान श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा 'नगर दर्शन' गराइएको हो।

गुरु विश्वामित्र, श्रीराम र लक्ष्मणको पहिरन तथा साजसज्जा गरी जानकी मन्दिर परिसरभित्र संकेतिक रुपमा नगर भ्रमण अर्थात् 'नगर दर्शन' गराइएको छ।
राम जानकी विवाह महोत्सवअन्तर्गत दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौ दिन मटकोर गरिनेछ। छैटौँ दिन पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन (रामकलेवा) कार्यक्रम गरी विवाहपंञ्चमी विधिवत् रूपमा सम्पन्न हुनेछ।
सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरलाई झकिझकाउ पारिएको छ। साताव्यापी महोत्सवमा सहभागी हुन भारत र नेपालका विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुर आउन थालेका छन्।
प्रकाशित: ४ मंसिर २०८२ १९:०४ बिहीबार





