छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ।
काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापन भइरहेको छ।
गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ। छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा छ। चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन्।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले बताए।
“काठमाडौँमा पनि छठ मनाउने परम्परा बढ्दो छ। हामीले यसको तयारी अन्तिम चरणमा पुर्याएका छौँ। पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ।”
अध्यक्ष सिंहले भने, “अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठको महत्त्व अपरम्पार छ। भाकल पूरा गर्न पनि छठको व्रत गरिन्छ। व्रतालुलाई सहज हुने वातावरण तयार पार्न हामी जुटेका छौँ।”
काठमाडौँमा छठ पर्व मनाइने प्रमुख स्थानमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र छन्।
त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठ पूजा गर्ने गरिएको छ।
काठमाडौँ महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ।
बालाजु बाइसधारा र वंशीघाट लगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन हुँदै आएको छ।
छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।
विशेषगरी तराई मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुँदै गएको छ।
प्रकाशित: २६ कार्तिक २०८३ ११:२५ बिहीबार





