७ चैत्र २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

खोटाङमा दुमी किरात राईकाे राष्ट्रिय महाधिवेशन

देश तथा विदेशमा रहेका दुमी किरात राईहरू खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीमा भेला भएका छन्। दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ, हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरू खार्मीस्थित रुधालुङमा भेला भएका हुन्।

‘पुर्ख्याैली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले बताइन्।

किरात समुदायको महान चाड छीरीयाम्लो (उँधौली) को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एकजना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एकजना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ।

महाधिवेशनको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरेर तथा दुमी किरात राईहरूको नाग्रे कुबी (पित्रे धामी) ले तीन चुल्हा पुजेर गरेका छन्। महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको छ।

नगरप्रमुख भट्टराईले उद्घाटन कार्यक्रमकाे सम्बोधन गर्दै खोटाङ किरात भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा किरात लिपि समावेश गरिएको जानकारी दिएका छन्। “म भट्टराई परिवारमा जन्म लिए पनि किराती हुँ। हामीलाई किराती हुनुमा गर्व लाग्छ। त्यसैले नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा मुन्दुमी कुराहरू जोडेर गर्ने गरेका छौं”, उनले भने, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न गरिसकेका छौं। विभिन्न ४० देशका ख्यातिप्राप्त चित्रकारहरूले क्यानभासमा उतारेका चित्र सङ्कलन गरेर मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला सङ्ग्राहलय स्थापना गरेका छौं। यसले किराती सभ्यतालाई विश्वभर चिनाउन मद्दत गरेको छ।”

माझ किरात भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा दुमी किरात राईहरूको वंशावलीसमेत लाेकार्पण गरिएको छ। संस्कृतिविद् चतुरभक्त राईले सङ्कलन, लेखन तथा सम्पादन गरेको ९५० पृष्ठको वंशावलीमा दुमी किरात राईहरूको २२ पाछा तथा ११ सामायी समेटिएको छ।

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किरात राईहरूको वंशावली सङ्कलन, लेखन तथा सम्पादन गर्ने संस्कृतिविद् राईलाई फन्सीकीमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ।

किरात राई संस्कार तथा संस्कृति झल्कने विभिन्न स्टल राखिएको महाधिवेशन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तथा तयातङ्कु लगायतको उपस्थिति थियो।

किरात यले सम्वत् (यल थो ५०८५) को अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा शुभकामना आदानप्रदान, सांस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने आयोजक दुमी किरात राई फन्सीकीमका केन्द्रीय अध्यक्ष डा. नेत्रमणि हलक्सु दुमी राईले बताए। दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरूको उद्गमथलो मान्दै आएका छन्। - रासस

प्रकाशित: १७ मंसिर २०८२ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App