२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

वागीश्वरीमा आजदेखि सामूहिक गौ पुजन

भरतपुरको वागीश्वरीमा सोमबारदेखि सामूहिक गौ पूजन गरिँदै छ। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाका अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गर्न लागिएको हो। विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजन गर्न लागिएको हो। लक्ष्मी पूजा, गाई पूजा र गोवर्द्धन पूजाका दिन क्रमशः कात्तिक ३, ४ र ५ गते सामूहिक पूजन हुनेछ।

वागीश्वरीमा २०६३ सालदेखि सामूहिक रूपमा गौ पूजन गर्न थालिएको हो। तीन दिनसम्म चल्ने गौ पूजाको उद्घाटन नेपाल सन्त समाजका महासचिव एवम् नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीले गर्नेछन्। सो अवसरमा वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने अध्यक्ष अशोक पोखरेल शर्माले जानकारी दिए।

यहाँ सामूहिक गौ पूजासँगै गोवर्द्धनको पर्वत बनाएर पूजा गरिन्छ। प्रत्येक वर्ष गाई र गोवर्द्धन पूजाको दिन गाई र गोवर्द्धनको पूजा गर्नेको भीड लाग्छ। धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई पूजामा आउन आह्वान गरिएको छ।

पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगका भरमा गाई संरक्षण गरिएको अध्यक्ष शर्माले जानकारी दिए। उनका अनुसार गाई पाल्नका लागि मासिक पाँच लाख खर्च हुने गरेको छ। योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सातवटा गाई लिएर आएका र तिनै गाईको संख्या बढेर अहिले दुई सय पुगेको छ। यहाँ सबै स्थानीय जातका गाई पालिन्छ।

प्रकाशित: ३ कार्तिक २०८२ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App