सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ। चन्द्रमासको भदौको औँसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ। पर्वका अवसरमा आज सनातन वैदिक परम्पराका अनुयायी मैथिल कुश सँगाल्न लागेका छन्।
हिन्दू मैथिल परम्परामा भदौ औँसीका दिनलाई ‘कुशअमबसीया’ भनिन्छ। यस दिन वैदिक मन्त्रोच्चारण गर्दै धार्मिक विधि र कर्मकाण्डमा अति पवित्र मानिएको वनस्पति कुश सङ्ग्रह गरेर घरमा राख्ने चलन छ। यस दिन सङ्ग्रह गरिएको कुश वर्षभरि गरिने पितृकार्य र शुभकार्यमा प्रयोग गरिन्छ। कुशबिना सामान्यतः हिन्दू परम्पराका कुनै कार्य सम्पन्न नहुने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का पण्डित दिनेशकुमार झा बताउँछन्।
पर्वका दिन हिन्दू परम्परामा पुरोहितले आफ्ना यजमानका घरमा शास्त्रोक्त विधिले उखालिएको कुश मुठा पारेर घरको दलिनमा सिउरने चलन छ। तर मिथिलामा भने घरका मुख्य पुरुषले आफैँ ब्रह्ममुहूर्तमा कुश उखेलेर पवित्र ढङ्गले घरमा राख्ने चलन छ। कुश उखल्दा गरिने मन्त्रोच्चारण यस्तो छ-
‘विरिञ्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः।
नुद सर्वाणी पापानी दर्भ स्वस्तिकरो भव।।
पूर्व मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः।
हूँफट्कारेण मन्त्रेण सकुच्छित्वा समुद्धरेत।।’
यसरी उखेलिएको कुश कर्मकाण्डका विधिमा पवित्र मानिन्छ। हिन्दू वैदिक परम्परामा प्रत्येक शुभकार्य पितृकार्य, त्यसको सङ्कल्प कुशबिना कल्पना नै नगरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन्। मैथिल परम्परामा यस मठका मठाधीश सांस्कृतिक तथा धार्मिक प्रतिनिधि मानिने चलन छ।
हिन्दू धर्ममा खास चाडपर्वका विधि, पितृकार्य र अन्य कुनै पनि शुभकार्यको कर्ताले कुशको औठी लगाउँनैपर्ने कर्मकाण्डीय विधान छ। सबैजसो वैदिक कार्यका कर्ताले जलमा डुबाइएको कुशका टुक्रा, जौँ, तिल समातेर गरेको सङ्कल्पपछि मात्र मुख्य काम प्रारम्भ भएको मानिन्छ।
मैथिल परम्परामा यस दिन सङ्ग्रह गरिएर घरमा राखिएको कुशको मुठा विघ्ननाशक र कल्याणदायक हुने विश्वास गरिन्छ। शास्त्रीय मतनुसार विधिपूर्वक यस दिन घरमा राखिएको कुशले घरसहितका भौतिक सम्पत्ति र परिवारको रक्षा गर्ने विश्वास छ। मिथिलामा यस दिन दिवङ्गत पितृका लागि तर्पण दिने परम्परा छ।
प्रकाशित: २६ भाद्र २०८३ ०६:३९ शुक्रबार




-600x400.jpg)
-600x400.jpg)