१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

अर्जुनधारामा सुरु भयो महायज्ञ

पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३ औँ वार्षिक अनुष्ठानका रुपमा महायज्ञ सुरु भएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको जलेश्वरधाममा सुरु भएको महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुने अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले बताए ।

महायज्ञको उद्घाटन धार्मिक गुरु १००८ केशवानन्द स्वामीले गरेका छन् । उनले नयाँ पुस्तालाई संस्कार–संस्कृतिको पाठ सिकाउनुपर्ने बताए ।  

महायज्ञमा धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी प्रमुख कथा वाचक र पण्डित हेमन्त भण्डारी उपवाचक रहेका छन् । वि.सं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ ।  सरकारले नेपालका १०१ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्वीरलाई नेपाल सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ ।  

विराट राजाका गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाई फर्काएर ल्याएका थिए । अहिले धाम परिसरको ठूलो पोखरीको माझमा अर्जुनले धनुषबाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।

प्रकाशित: २८ कार्तिक २०८२ १६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App