२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

महापर्व छठ अनुष्ठान : आज खरना, यस्तो छ गाथा

लहानको ललकु मावि पोखरी छठ घाटमा सूर्यदेवलाई अर्घ्य दिँदै। फाइल तस्बिर

छठ मैयाके दरबार सजल सत्कारमे ब्रतीनके पुकार हो रहल ..ब्रतीनके पुकार हो रहल।।

अहिले मधेसमा श्रृंगारिएका जलाशयहरूमा गुञ्जिने यी र यस्तै मौलिक गीतले छठको माहोललाई मनमोहक, रोमाञ्चक र मुग्ध बनाइरहेको छ।

छठ सूर्य उपासनाको पर्व हो। आस्था एवं अमर परम्पराको पर्व हो, छठ। यो केवल एउटा पर्व होइन महापर्व हो। कारण, घरको एक व्यक्ति ब्रत बसे पनि परिवारका हरेक व्यक्ति आफ्नो सहयोगले यो ब्रतलाई धारण गरेका हुन्छन्।

प्रकृतिबाट प्राप्त हरेक वस्तु र समग्री सूर्यदेवलाई अर्घ्यको रुपमा अर्पण गरिन्छ। जो चिज प्राकृतिक छन्, नैसर्गिक छन् ती सबै छठ पर्वको पूजा समग्री हुन्छन्। यस पर्वमा करिब ७० प्रकारका पूजा सामग्री प्रसादको रूपमा सूर्यदेवलाई अर्घ्य दिइन्छ।

छठ कात्तिक मासको शुक्ल पक्षको चतुर्थी तिथिदेखि प्रारम्भ हुन्छ। चतुर्थी तिथिमा नहाय खायबाट प्रारम्भ हुन्छ यो महापर्व। भौगोलिक, सांस्कृतिक, प्राकृतिक, आध्यात्मिक, वैज्ञानिक, धार्मिक हरेक कोणबाट छठ पर्वको महथा र महत्व जोडिएको पाइन्छ। यस पर्वमा पुजारी हुँदैन। ब्रती स्वयंमा छठी मैयाको निवास हुने मान्यता छ। त्यसैले होला छठ घाटमा रहेका सबैले ब्रती महिलाको पाउ छोएर आशिर्वाद लिने गरेको देख्न पाइन्छ।

छठको कथा

छठ पर्व मुख्यतया राजा प्रियव्रत र देवी षष्ठी (छठी मैया) को कथासँग सम्बन्धित छ। किंवदन्ती अनुसार, राजा प्रियव्रत धेरै वर्षसम्म निःसन्तान थिए, जसले गर्दा उनी र उनकी पत्नी मालिनीलाई ठूलो शोक भयो।

सन्तान नहुनुको शोक कम गर्न, उनले महर्षि कश्यपको नजिक गएर पुत्रएष्टी यज्ञ गरे। रानी मालिनीलाई बलिको रूपमा खीर चढाइएको थियो, जसको परिणामस्वरूप उनी गर्भवती भइन्। दुर्भाग्यवश, उनको छोरा मृत जन्मियो।

यस शोकका कारण, राजा प्रियव्रत आफ्नो छोरासँगै श्मशानमा आफ्नो प्राण त्याग गर्न लागेका थिए, तब भगवान् ब्रह्माकी मानसिक छोरी देवी देवसेना (जसलाई षष्ठी देवी वा छठी मैया भनिन्छ) प्रकट भइन्।

उनले राजालाई आफ्नो पूजा गर्न आग्रह गरिन् किनभने उनी सृष्टिको मूल प्रकृतिको छैटौं तत्वबाट जन्मिएकी थिइन्, त्यसैले उनको नाम षष्ठी राखिएको थियो। देवीले राजा र सबै मानिसहरूलाई छठ पूजा गर्न प्रेरित गरिन्। राजाले षष्ठी देवीलाई पूजा गरे, जसको फलस्वरूप उनलाई पुत्र प्राप्त भयो।

छठ पूजासँग सम्बन्धित अन्य पौराणिक कथाहरू पनि छन्, विशेष गरी महाभारतको समयको कथा। भनिन्छ कि छठ व्रतको परम्परा पाण्डवकी पत्नी द्रौपदीले आफ्नो परिवारको लागि कठिन समयमा सूर्य देवको पूजा गर्दा सुरु भएको थियो।

सूर्यपुत्र कर्ण पनि सूर्य देवका एक महान भक्त थिए, जो दिनभरि पानीमा उभिएर सूर्यलाई प्रार्थना गर्थे। रामायणका अनुसार, भगवान राम र माता सीताले लंका जितेपछि कार्तिक शुक्ल षष्ठीमा सूर्य देवको पूजा गरेका थिए।

छठ पूजा जीवनमा संयम, पवित्रता र आत्मसंयमको भावना जगाउने पर्वको रुपमा पनि स्थापित छ। सूर्य देवता र छठीमैयाको पूजाद्वारा सबै मनोकामनाहरू  पूरा हुने लोक मान्यता छ। यो पर्व बालबालिकाको सुख र समृद्धिको लागि विशेष रूपमा महत्वपूर्ण छ।

छठ पूजाको किंवदन्ती राजा प्रियव्रतको सन्तानको चाहना र देवी षष्ठीको आगमनसँग जोडिएको छ, जसले यस पर्वको महत्व र निरन्तरताको व्याख्या गर्दछ। यसबाहेक, यस पर्वको उत्सवलाई महाभारत र रामायणसँग जोडिएको छ।

समानताको पर्व

जसरी सूर्यको किरणले समान रूपमा आफ्नो प्रकाश छरिरहेको हुन्छ। सूर्यको किरणले कुनै धर्म देख्दैन, जात रोज्दैन, लिंग देख्दैन, समूदाय बुझ्दैन। जसरी सूर्यको किरण सबैका लागि समान हुन्छ। त्यसरी नै छठ पर्व सबैका लागि समान, समावेसी, समान हुन्छ। छठ पर्व सबैलाई प्रवर्द्धन गर्छ।

छठ पर्वमा सबै जलाशयहरू सफा गरिन्छ। यसले प्रकृति र पर्यावरण संरक्षण र प्रवर्द्धनको निश्चल अभ्यास गर्छ। यो पर्व मौलिक उद्यमशीलताको प्रवर्द्धन पनि गर्छ। बाँसको सामग्री बनाउने, माटोको भाडा बनाउने, कृषि उत्पादन गर्ने, सकर बनाउनेलगायत वर्ग समुदायलाई यस पर्वले प्रवर्द्धन गर्छ।

यस पर्वको सुन्दर पक्ष समानता हो। जुनसुकै हैसियत र पृष्टभूमिका व्यक्ति होस् उनीहरू जलाशयको एउटै धरातलमा उभिएर अस्ताउँदो र उदाउँदो शूयदेवको पुजा गर्छन्। अर्को सुन्दर पक्ष पुजा समग्री सबै मौलिक कृषि उत्पादन हुन्छन्। पर्यावरण, प्रकृति, संस्कृति, उद्यमशीलता, समावेशी, समानता र मौलिक उत्पादनको  प्रवर्द्धनको सन्तुलित अभ्यास गर्दै मनाइने महापर्व हो छठ।

हिजो(शनिबार) नहाय खाय गरी सुरु भएको छठ अनुष्ठान अन्तर्गत आज ब्रतीहरू खरना मनाउँदै छन्। राती खरनाको प्रसाद ग्रहणपछि ब्रतीहरू मंगलबार बिहानसम्म निर्जल र निराहार ब्रत बस्दैछन्। भोली (सोमबार) अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ अनुष्ठान समापन हुनेछ।

प्रकाशित: ९ कार्तिक २०८२ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App