२ पुस २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

छठको मौलिक गीतले गुञ्जायमान मधेस

सुनासुना रहेला भवनमा ए माइ मोर अंगनमा नु हे,

दउरा घाटे के लेजाइ ललना दिहलु न माई छ छने मनमा नु हे।।

भोजपुरी लोकगायक रविराज शाहले स्वर भरेको उमेशलाल यादवको यो गीत अहिले मधेस तथा भोजपुरा क्षेत्रको गाउँघरमा गुञ्जायमान छ। यसमा सन्तान प्राप्तिका लागि छठी माईसँग याचनालाई दर्शाइएको छ।

यस क्षेत्रमा सन्तान नहुँदा महिलाले सुन्नुपर्ने कटु वचनलाई समेत दर्शाइएको छ। महिलाका याचना, पीडा र इच्छा समेटेर सिंगारिएको यो र यस्तै गीतले मधेसका देहातदेखि सहरसम्म गुञ्जायमान छन्। अहिले मधेसका गाउँबस्ती छठको लोकगीतले गुञ्जायमान छन्। घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा छठ पर्वका गीत झुन्डिएका छन्। घरघरमा छठका गीत गुञ्जिरहेका छन्।

केलवा के पात पर उगेलन सुरुज मल झाके झुके

हे करेलु छठ बरतिया से झाके झुके।।

यसरी छठ पर्वका लागि जोहो गरिने अन्न, फलफूल र पूजासामग्रीको वर्णन गीतबाटै गरिन्छ।

काँच ही बाँसके बहंगिया, बहंगी लचकत जाय

होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय।।

यस गीतको अर्थ काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पुर्‍याउन छठी माताले परिवारका पुरुषहरूलाई शक्ति दिऊन् र उनीहरू घाटमा पुगून् हो।

सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस सिरहाका मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झाका अनुसार छठका मैथिली, भोजपुरी लगायत भाषामा गाइने प्रत्येक गीतले शुद्धता, सद्भाव र उपकारको भाव बोकेका छन्।

‘हमरो जे बेटिया, कओने अइसन बेटिया से एकरे लागी

हे करेली छठ बरतिया से, एकरे लागी।।

छठ पर्व कुनै समय प्राचीन मिथिला र भोजपुरा क्षेत्रमा मात्र प्रचलित थियो। झाले भने,  ‘कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भाषाभाषीसँगै देशदेशान्तरसम्म विस्तृत हुँदै आयो।’

‘छठ वास्तवमा मिथिलाको ग्रामीण पर्व हो’, झाले भने, ‘छठ पर्वमा धनी र गरिबको फरक छुट्टिंदैन।’ छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइँदैन।

छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्‍याउनुपर्ने मान्यता छ। यस्ता सामग्रीमा मुला, गाँजर, ज्यामिर, बेसार, अदुवा, पिंडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्।

कुनै कारण ७० प्रकारका सामग्री पुर्‍याउन नसकिए ‘गम्हरी’ भन्ने धानको चामल चढाउँदा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त मानिन्छ। छठ पर्वको सुरुवात शनिबार व्रतालुले नजिकको पोखरी या नदीमा स्नान गरी अरूवा चामलको भात, रहरको दाल, तरकारी (वर्जितबाहेक) खाएर ‘नहाय खाय’ बाट सुरुवात गर्दैछन्।

आइतबार  दिनभरि उपवास बसेर व्रतालुले साँझ चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा सखर, दुध र अरूवा चामलको खिर पकाई केराका पातमा राखेर छठी मातालाई चढाएपछि व्रतालुले ग्रहण गरी खराना मनाउँछन्। पर्वको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सँझिया घाट’ तथा ‘सौंझका अर्घ’ मनाउँछन्।

यो दिन बिहानैदेखि व्रतालुसहित परिवारका सबै सदस्य मिलेर चामलको पिठोमा सखर मिसाएर ठेकुवा, भुसुवा लगायत प्रसाद तयार पार्छन्। साँझपख व्रतालुका साथै घरका सदस्य हातमा पूजा सामग्री र बलिरहेको दियो बोकेर छठी घाट पुग्छन्। नदी, तालतलैया, पोखरी किनारमा सिंगारिएको छठी घाटमा व्रतालु भक्तिभावका साथ उपस्थित भई अस्ताउँदो सूर्यको पूजा गर्छन्। मंगलबार उदाउँदो सूर्यकाे पूजा गरी छठको अनुष्ठान समापन हुनेछ।

अहिंसाको पर्व

शाकाहारी र शुद्धतालाई निकै महत्त्व दिइने छठपूजालाई अहिंसाको पर्व पनि भनिन्छ। व्रतालु यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जयजयकार गरिन्छ। छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ।

छठ पूजाले मनोकामना पूरा हुने विश्वासका साथ यसप्रति जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था बढेको पाइन्छ। त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भाव र अहिंसाको पर्व पनि भनिन्छ।

किसानको श्रमको कदर

छठ पर्वले कृषि उत्पादनको महत्त्व स्वीकारेको छ। जीवन र प्रकृति एक अर्काका पूरक हुन्। प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको मियो हो भन्ने तथ्यलाई यो पर्वले प्रमाणित गर्छ ।

गम्हरी धान, हरियो पातसहित उखु, पातसहितको अदुवा, सानो बोडी, केरा, स्याउ, सुन्तला, सुथनी, झुत्रोसहितको नरिवल, कागती, केराको थाम, गहुँ आदिको प्रयोगले यस पर्वले किसानको श्रमको कदर गरेको देखिन्छ। ‘हामीले बनाएको सामान अधिक मात्रामा बिक्री हुने बेला यही हो’, लहान नगरपालिका– ४ का उमेश पण्डित (कुमाल) सुनाउँछन्।

एक महिनादेखि जोहो

महापर्व छठका लागि एक महिनाअघिदेखि व्यवसायीले बाँस वा पित्तलको नाङ्लो एवं ढाकीको भण्डारण गर्छन्। अगाध आस्थासाथ चार दिनसम्म मनाइने यो पर्वको सेरोफेरोमा थेग्नै नसकिने गरी यी सामग्रीको माग बढ्ने हुनाले व्यवसायीले तयारी गर्नुपर्छ। कतिपय व्रतालुले हाट बजारबाट नकिनी हस्तकला शिल्पीलाई बनाउन लगाउँछन्। एक महिना पहिलादेखि नयाँ बाँसको चोया खुर्कंदै नाङ्लो एवं ढाकी बनाउने कार्यमा डुम तथा आदिवासी लगायत मेहनती समुदाय व्यस्त हुन्छन्।

व्रतालु एवं परिवारजनले धेरै दिन पहिलेदेखि चराचुरुंगीलाई समेत जुठो पार्न नदिने गरी गहुँ र चामल चोख्याएर सुकाउँछन्। छठको दिन गहुँ एवं चामलको पिठोबाट क्रमशः बहुचर्चित प्रसाद ठेकुवा, भुसुवालगायत प्रसाद बनाउँछन्। यो पर्वमा मौसमी फलफूल, तरकारी एवं गेडागुडी चढाइने हुनाले यतिखेर खेतबारीको निकै हेरचाह गरिन्छ। वन्यजन्तुले बोटमा फलिरहेको फललाई जुठो नपारून् भनेर विशेष ध्यान दिइन्छ।

पूर्णतया शाकाहारी विधि अनुसार मनाइने छठमा घरकी मुख्य व्रतालु महिला एवं परिवारजनले तिहारअघिदेखि माछा, मासु खान छाड्छन्। घरमा कुनै अप्रिय घटना भए वा कसैको मृत्यु भए यो पर्व गरिन्न तर अन्य कुनै प्रकृति विपदले यो पर्व रोकिन्न। किनकि अर्को वर्ष गर्दा दोब्बर पूजा सामग्रीसहित पूजा सुरु गर्नुपर्छ।

यसमा दोब्बर खर्च र श्रम लाग्छ। यो सम्पन्नदेखि विपन्नसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक अनुष्ठान हो। घरमा ठेकुवा एवं भुसुवा लगायत प्रसाद तयार गर्नुदेखि घाटमा अर्घ दिने बेलासम्म छरछिमेकसमेत सहयोग गर्न आइपुग्छन्। घरदेखि जलाशय किनारसम्म प्राचीन बस्तीको जस्तै रमझम हुने यस पर्वमा सहभागी हुँदा र प्रसाद मागेर खाँदा पूजा गरेजत्तिकै धर्म हुने विश्वास गरिन्छ।

प्रकाशित: ७ कार्तिक २०८२ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App