१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

दियाबातीको उल्लासमा मधेस

उज्यालोको पर्वलाई देश देशान्तरमा दिपावली/तिहार भनेर चिनिन्छ। तर मधेसका देहातमा ‘दियाबाती’ले चिनिन्छ उज्यालो पर्व तिहार। अहिले मधेस दियाबातीको उल्लासमा छ। मधेसमा तिहार तीन दिनसम्म मनाइन्छ। पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया/भाइटीका) गरिन्छ।

असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्व तिहारले मधेसलाई छपक्कै छोपेको छ। रावणको बध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवका दिनलाई दीपावलीका रूपमा मनाउन थालिएको किंवदन्ती मधेस समुदायमा छ।

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ। मधेसका देहातका आँगनमा माटो घोलेर थरीथरीका मौलिक रंगोली बनाइन्छ। दियाबातीको मुख्य दिन शाकाहारी परिकार तयार गरिन्छ। ‘धनतेरस दिनदेखि शाकाहारी विधिले पूजापाठ गर्छौं,’ लहानकी गृहिणी ३२ वर्षीया सुनिती यादवले भनिन्, ‘यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ।’ मुलुकका अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ। लक्ष्मीपूजाको दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ।

दियाबातीका दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ। साँझ पर्न लाग्दा माटोको दियो र अन्य बिजुली बत्ती बालेर घर झकिझकाउ गरिन्छ। दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ। घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन् जसलाई उक फेर्नु भनिन्छ। रातको अन्तिम प्रहरमा घरकी मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मीलाई आह्वान गर्ने चलन पनि छ।

दोस्रो दिन अर्थात् गोबद्र्धन पूजाका दिन गाईवस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ। यस दिन गाई वस्तुको सिङ रंग्याउने, घाँटीमा गरदामी लगाइदिने र गाईवस्तुको राइस (दाम्लो) फेर्ने चलन छ। दिउँसोतिर गाउँभरिबाट बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन छ। सुंगुरको कलिलो पाठोलाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई हुराहुरी भनिन्छ।

तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया) उल्लासपूर्वक मनाइन्छ। यस पर्वलाई भाइ दुज, भरदुतिया, भ्रातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ। दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायतका उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसको ग्रामीण भेगमा कायमै छ। भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिला चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ।

त्यस्तै दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छन् र अरिपन दिइएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, ओखर, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।

संस्कृतिविद् उमेशकुमार झा (ललन)भन्छन्, ‘यस क्षेत्रमा कसैले तिहार, कसैले दियाबाती कसैले दीपावली भनेर मनाउँछन्। धनकी देवी लक्ष्मी आगमन हुने विश्वासका साथ लक्ष्मी पूजा मनाइन्छ।’ दीपावलीलाई विजयोत्सवका रूपमा मनाउन थालिएको किंवदन्ती रहेको झाले बताए। लक्ष्मीपूजा नजिकिएसँगै मधेसमा घर सिंगार्ने क्रम सुरु हुन्छ। पक्की घर हुनेले रङरोगन गर्छन्। कच्ची घर हुनेले टाटी (भित्ता) माटोले लिपपोत गरेर चिटिक्क पार्छन्। अहिले मधेसको ग्रामीण तथा सहरी भेगका कच्ची र पक्की घरलाई सिंगारिएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App