सुनासुना रहेला भवनमा ए माई मोर अंगनमा नु हे
दउरा घाटे के लेजाई ललना दिहलु न माई छ छने मनमा नु हे।
भोजपुरी लोकगायक रविराज शाहले स्वर भरेको उमेशलाल यादवको यो गीत अहिले मधेस तथा भोजपुरा क्षेत्रको गाउँघरमा गुञ्जायमान छ। यसमा सन्तान प्राप्तिका लागि छठी माईसँग गरिएको याचनालाई दर्साइएको छ। यस क्षेत्रमा सन्तान नहुँदा महिलाले सुन्नुपर्ने कटु वचनलाई समेत यस गीतले आफ्नो विषय बनाएको छ।
महिलाका याचना, पीडा र इच्छा समेटेर सिँगारिएको यो र यस्तै गीत मधेसका देहातदेखि सहरसम्म गुन्जायमान छन्। अहिले मधेसका गाउँबस्ती छठको लोकगीतले गुञ्जायमान छन्। घरघरमा छठको तयारी सुरु हुँदा सबैका मुखमा छठ पर्वका गीत झुन्डिएका छन्। घरघरमा छठका गीत गुन्जिरहेका छन्।
केलवा के पात पर उगेलन सुरुज मल झाके झुके
हे करेलु छठ बरतिया से झाके झुके।
यसरी छठ पर्वका लागि जोहो गरिने अन्न, फलफूल र पूजासामग्रीको वर्णन गीतबाटै गरिन्छ।काँच ही बाँसके बहंगिया, बहंगी लचकत जाय
होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय।
यस गीतको अर्थ काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पु¥याउन छठी माताले परिवारका पुरुषहरूलाई शक्ति दिउन् र उनीहरू घाटमा पुगुन् भन्ने हो।
‘हमरो जे बेटिया, कओने अइसन बेटिया से एकरे लागी
हे करेली छठ बरतिया से, एकरे लागी।
सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस सिरहाका मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झाका अनुसार छठका मैथिली, भोजपुरीलगायत भाषामा गाइने प्रत्येक गीतले शुद्धता, सद्भाव र उपकारको भाव बोकेका छन्।
छठ अनुष्ठान
प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ। शनिबार व्रतालुले ‘नहाय खाय’ गरी यो पर्वको विधिवत् सुरुआत गरेका छन्। नदी, पोखरी, जलाशयमा स्नान गरी बर्तालुहरूले छठ व्रतको विधिवत् अनुष्ठान गरेका हुन्। बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी पर्वको थालनी गरेका छन्।
बर्तालुहरूले आइतबार ‘खरना’ विधि गर्दै छन्। बर्तालुहरू चोख्याइएको कोठाभित्र खिर, केरालगायत परिकार तथा फलफूल केराको पातमा फिँजाएर ईश्वरको आराधना गर्छन्। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले बर्तालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवारजन एवं छिमेकीलाई बाँड्छन्। उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोकपर्वका लागि मधेसलगायत मुलुकभरका नदीकिनार, खोलाछेउ, पोखरीका डिल र नहरवरपर सरसफाइ गरी झिलिमिली पारिएको छ।

घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ । प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठपूजा गर्ने चलन छ।
यो पर्वका लागि बर्तालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छाड्छन्। बर्तालुले नै पुजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दीपावलीजस्तै वातावरण हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबिचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो।
घरभित्रै दुईदिने विधिपछि सोमबार साँझ (सँझिया घाट) र मंगलबार बिहान (भोरका घाट) जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटे लगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ। पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदाउँदो सूर्यलाई प्रसादसहित दुध एवं जलको अर्घ दिन्छन्। छठ नसकुन्जेल बर्तालुले घरमा समेत दीपावली गर्छन्। छठ मातालाई दुर्गा एवं लक्ष्मीकै रूपमा समेत सम्झिँदै दसैं एवं तिहारमा समेत मधेसवासीले छठको गीत गाउँछन्। बिहानको अन्तिम अर्घपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ।
लगातार चौथो दिनसम्म बर्तालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ। परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन्। नसक्ने भएपछि वरीयताक्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेवारी दिइन्छ। पुस्तौंसम्म यो क्रम चलिरहन्छ। यो गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो। नसक्नेले मागेर पनि गर्छन् । भाकलअनुरूप सम्पन्नले पनि भिक्षा माग्ने परम्परा छ।
समानताको पर्व
सिरहा नगरपालिका–२ गोढियारीकी रुबी मलिकले वर्षौंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अर्घ चढाउँदै आएकी छन्। यही पोखरीमा यस टोलका अन्य जातका बर्तालु पनि छठ पूजा गर्छन्। अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै सँगै हुन्छन्। न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग। मलिक भन्छिन्, ‘छठका बेला हामी छुवाछूतको पीडा भुल्छौं।’
छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठ्छन्। मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै।’

छठ घाटमा सबै जातजातिको पूजासामग्री सँगै टाँसिएको हुन्छ। उनी भन्छिन्, ‘पूजासामग्री अन्य जातको सँग टाँसिँदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्।’
सिरहा मिर्चैया नगरपालिका–६ मिटअर्वा गाउँकी सुमित्रा मलिक भन्छिन्, ‘छठले छुवाछूतको पीडा मात्र भुलाउँदैन, आर्थिक पीडा पनि भुलाउन मद्दत गर्छ। बाँसको समग्रीको माग बढ्ने भनेकै छठ पर्वमा हो।’
यस पर्वलाई पहाडी मूलका महिलाले पनि मधेसी महिलासँगै सामूहिक रूपमा मनाउँदै आएका छन् । यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ।
फैलिँदै छठ
छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पस सिरहाका सहप्राध्यापक उमेशकुमार झा बताउँछन्। पहाडी समुदायका महिला पनि उत्साहपूर्वक छठ व्रत तथा पूजामा सहभागी हुँदै आएका छन्।
गोलबजार नगरपालिका–६ की ७६ वर्षीया डम्बरकुमारी श्रेष्ठले ५५ वर्षसम्म छठ पूजा गरिन्। छोरा पाउन गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्। पछिल्लो नौ वर्षदेखि उनकी बुहारी रञ्जुले बिडो थामेकी छन्। सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ। परिवारमा विश्वास छ, डम्बरकुमारीलाई छठीमैयाँले ठुलो उपहार दिइन्। मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि यो पर्वको महिमा रहेको उनको अनुभूति छ। सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य रहेको उनी बताउँछिन्।
३६ घण्टा निर्जल र निराहार व्रत बस्दा पनि शरीरले साथ दिनुलाई यो पर्वको शक्ति मान्छिन् १४ वर्षदेखि निरन्तर छठ ब्रत बस्दै आएकी लहान नगरपालिका–४ की अम्बिका यादव। ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो। यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ। पहिला मिथिलावासी अझ भन्नुपर्दा मधेसी समुदायमा मात्र मनाउने यस पर्वले अहिले पहाड–तराईको सम्बन्ध जोड्दै छ,’ आमाको बिँडो थामेर छठ व्रत बस्दै आएकी यादव भन्छिन्, ‘छठ घाटमा मधेसी–पहाडी, दलित–गैरदलित भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्। सबै मिलेर सूर्यको उपासना गर्छन्।’
विभिन्न धार्मिक मान्यता एवं आस्थाअनुरूप परिवार कल्याण, रोग निदान, सन्तान प्राप्ति तथा समृद्धिको कामना गर्दै छठ मनाइन्छ।
यो पर्व देशदेशान्तर फैलिँदै जानुको एउटा विशेषता भनेको सद्भावसहितको सामूहिकता मान्छिन् सिरहाकी बर्तालु प्रेमकालीकुमारी यादव। ‘मधेसी समाजमा सबैभन्दा अपहेलित जात डोम हो । तर छठ पर्व डोमबिना सम्भवै छैन,’ उनी भन्छिन्, ‘उनीहरूले पसिना बगाएर बनाएको ढक्की, नाङलो, सुपा, डलिया, सुपली आदिमा छठीमैयाँलाई चढाउने प्रसाद राख्न बर्तालुहरू प्रयोग गर्छन्। यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबिच जात, धर्मका आधारमा कुनै वैमनश्य वा द्वन्द्व कहिल्यै हुने गरेको छैन।’
कुनै जातजाति हुन, तिनको दौरा छठी घाटमा मिलेर, मिलाएरै राखिएका हुन्छन्। सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्याएको पहाडी, मधेसी, जातजातिबिचको सबै भेद यहाँ टुंगिन्छन्। यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको छ, बनाउँदै छ,’ उनले भनिन्।
गदगद कुमाल समुदाय
सिरहाका राजाराम पण्डितलाई भ्याइनभ्याइ छ। माटोको सामग्री बनाउन उनी बिहानदेखि अबेर रातिसम्मै खटिन्छन्। छठ पर्वले राजारामजस्ता धेरै कुमालेको व्यस्तता बढाइदिएको छ । छठमा माटोको सामग्रीको प्रयोग अनिवार्य हुन्छ। छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हात्ती, ढकनालगायत भाँडा बनाउन राजाराम व्यस्त छन्।
उनले भने, ‘हाम्रो पुख्र्यौली गुजाराको पेसा नै यही हो। प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढे पनि छठजस्ता पर्वमा माटोको सामग्रीको माग अझै उच्च रहेको उनी बताउँछन्। चौरचनदेखि नै माटोका भाँडाको माग बढ्न थाल्ने उनी बताउँछन्। दसैं, तिहार, छठ लगायत पर्वमा कलश, गमला, दियो, कोहा लगायत माटोका भाँडा बढी बिक्रीवितरण हुने उनले जानकारी दिए । सबैभन्दा बढी दीपावली र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको उनले बताए।
लोकतान्त्रिक पर्व
लोकतन्त्रमा सबै बराबर हुन्छ भनेजस्तै छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर सदियौंदेखि चिनाउँदै आइएको छ। सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, उनी कुनै विभेद नगरी गरिव र धनी सबैलाई समान रूपले प्रकाश छर्छन्। सूर्यको प्रकाशबिना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन। रोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुःख, पारिवारिक सुःख, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सूर्यको उपासना गरिन्छ। षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठ पूजा भनिन्छ।
अहिंसा र आस्थाको पर्व
छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ। दसैंमा जस्तो बलिप्रथालाई यस पर्वले निषेध गरेको छ । शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्त्व दिई छठपूजा गरिन्छ। बर्तालुहरू यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ। छठपूजाले मनोकामना पूरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ। त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्व पनि भनिन्छ।
कृषकको पहिचानको पर्व

छठ पर्वले कृषि उत्पादनको महत्त्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन्। प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ। गवडी धान (साठी), सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर(मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ।
नारी सशक्तीकरणको पर्व
छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ। सूर्यको उपाशनामा कृपालु छठी माईको आशिषबिना अनुष्ठान पूरा हुनै सक्दैन। यो मातृशक्तिप्रतिको श्रद्धा हो। छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ। छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ।
प्रकाशित: ९ कार्तिक २०८२ ०६:४४ आइतबार





