२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
धर्म/संस्कृति

कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो। त्रयोदशी तिथिमा धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन्। काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो।

विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ। आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ। धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा  भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ। यस अवसरमा धनवन्तरीको पूजा, आराधना गर्ने कार्यक्रम तय भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक श्यामबाबु यादवले जानकारी दिए।  

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा मनाउन थालिएको हो। हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रूपमा जडिबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।

धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा विविध कार्यक्रम गरी मनाइँदै छ।

पछिल्लो समय विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ। समितिले उत्पादन गरेका आयुर्वेद औषधीको माग अत्यधिक हुने गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App