३२ असार २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

फाइल तस्बिर

वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन्।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ। 

यस वर्ष अधिकमासका कारण सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीका दिन आज तुलसीको दल राख्न लागिएको हो।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ।

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ। रासस

प्रकाशित: ११ असार २०८३ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App