नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल ) जोरपाटी नामहाट केन्द्रले यही मङ्सिर ६ गते शनिबारका दिन १० बजेदेखि श्री जगन्नाथ रथयात्रा कार्यक्रम आयोजना गर्न लागेको छ। रथमा जगन्नाथ, बलदेव र सुभद्रालाई राखिनेछ। काठमाडौँको चाबहिल चोकदेखि सुरु हुने जगन्नाथ रथयात्रा जोरपाटी हुँदै नारायणटारसम्म पुगेर समापन हुनेछ।
शास्त्रमा भगवान् जगन्नाथको रथ एकपटक खिच्नाले पनि व्यक्तिका जन्मजन्मान्तरका पापकर्महरू नष्ट हुने कुरा बताइएको छ। यसै सौभाग्य विश्वव्यापी रूपमा फैलाउन इस्कोन संस्थापकाचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादजीले सन् १९६७ जुलाई ९ मा अमेरिकाको सन फ्रान्सिसको देखि जगन्नाथ रथयात्रा सुरुवात गरेका थिए। हाल इस्कोनले विश्वव्यापी रूपमा जगन्नाथ रथयात्रा १०० भन्दा बढी देशमा वार्षिक हजारभन्दा बढी जगन्नाथ रथयात्रा आयोजना गर्दै आएको छ।
भगवान् जगन्नाथले कृपा बर्साउनको निम्ति उनले आफ्नो मन्दिरसम्म पुग्न नसक्ने व्यक्तिहरूका निम्ति आफैं मन्दिर छोडेर रथमा आरूढ भई गाउँ, टोल र नगरमा पुग्ने शास्त्रमा उल्लेख छ।
जगन्नाथ रथयात्राले व्यक्तिहरूमा सुषुप्त अवस्थामा रहेको भक्ति, सद्भाव, निष्ठा र एकता जस्ता गुणलाई उजागर गर्न टेवा पुग्ने डा. नारायण कृपासिन्धु दासले बताए।
उक्त रथयात्रामा देशका विभिन्न ठाउँबाट हजारौंको सङ्ख्यामा व्यक्तिहरूको उपस्थिति रहनेछ।
प्रकाशित: ३ मंसिर २०८२ १२:०८ बुधबार

