मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ललितपुरको ऐतिहासिक नृसिंह जात्रा यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ।
विश्व शान्ति र दैवी प्रकोप निवारणको कामना गर्दै हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने यो जात्रा मङ्गलबार विधिवत् रूपमा सम्पन्न भएको हो।
भगवान् विष्णुले नृसिंह अवतार धारण गरी दानव हिरण्यकशिपुको वध गरेको पौराणिक आख्यानको स्मरणमा यो जात्रा मनाइन्छ।
जात्रामा पालो परेको परिवारका पुरोहित, ज्वाइँ वा भान्जामध्ये एक जनाले नृसिंहको स्वरूप धारण गरी ललितपुरको प्राचीन नगरीको सायाः (सापारु) मार्गमा परिक्रमा गर्ने परम्परा छ।
ललितपुरका छ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो यस जात्राको सम्पूर्ण व्यवस्थापन गर्दै आएका छन्। यस वर्ष जात्रा सञ्चालनको जिम्मेवारी अग्निशाला वःलिम्हका भूपति राजानन्द राजोपाध्यायको परिवारले निर्वाह गरेको थियो।
जात्राको सबैभन्दा रोचक र विशेष पक्ष भनेको भक्त प्रह्लादको भूमिकामा रहेका व्यक्तिको प्रस्तुति हो। उनले नृसिंहतर्फ फर्केर हातमा धूप लिई प्रणाम गर्दै उल्टो पाइला चालेर नगर परिक्रमा गर्ने परम्परा छ।
बाजागाजा र भजनकीर्तनसहितको परिक्रमामा नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वतीलाई राखिन्छ भने छ जोडी कन्याको समेत सहभागिता रहन्छ।
नगर परिक्रमाका क्रममा नृसिंहले आफ्नो पछाडि कपडाको पुतली लतार्दै ल्याउने अर्को विशिष्ट परम्परा छ। बाटोमा उक्त पुतलीलाई बालबालिकालाई ढोगाउने गरिन्छ। यसरी ढोगाउँदा बालबालिकाको रक्षा हुने र उनीहरूलाई शुभ फल प्राप्त हुने गहिरो धार्मिक तथा सांस्कृतिक विश्वास समाजमा छ।
नृसिंह देवगणको टोलीले पाटनका गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गल, तिच्छु गल्ली, हौगल, इखालखु र पूर्णचण्डीलगायतका स्थानको परिक्रमा गर्दछ। परिक्रमाकै क्रममा विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको विसर्जन गरी पूजापाठ गर्ने चलन छ।
ऐतिहासिक दस्तावेजअनुसार विक्रम संवत् १६८८ (नेपाल संवत् ७५१) देखि यो जात्रा निरन्तर चल्दै आएको छ। ललितपुरमा नृसिंहका दुई फरक स्वरूप मानिन्छन्, कात्तिक नाचमा प्रस्तुत गरिने नृसिंह उग्र स्वभावका हुन्छन् भने यस जात्रा (उपालकं सायाः) का नृसिंहलाई शान्त स्वभावको मानिन्छ।
जीवन्त सम्पदाको रूपमा रहेको यो जात्राले ललितपुरको मौलिक सांस्कृतिक परम्परालाई आजसम्म जोगाइराखेको छ।
प्रकाशित: १७ भाद्र २०८३ १९:१७ बुधबार





