श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी, पूर्णिमा व्रत, वेदरक्षा दिवस, वेद जयन्ती, संस्कृत दिवस, क्वाँटी पूर्णिमा। एकै दिन यति धेरै पवित्र वैदिक पर्वहरूको संयोग। यो वैदिक शास्त्रीय संयोग हो। श्रावणलाई पर्व सुरु हुने महिनाका रूपमा चिनिन्छ। श्रावण महिना प्राकृतिक, आध्यात्मिक सबै दृष्टिकोणले विशेष छ। हाम्रा अधिकांश विशेष पर्व नागपञ्चमीदेखि श्रीपञ्चमीसम्म पर्छन्। वर्षाले हराभरा बनेको प्रकृतिबिच नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा, हरितालिका तीज आउँछन्। त्यसलगत्तै दसैं, तिहार, छठजस्ता पर्व आउँछ। श्रावण महिनामा शिवजीको विशेष व्रत तथा उपासना गरिन्छ।
देवराज इन्द्रले दैत्यराज वृत्तासुरसँग १२ वर्षसम्म भयङ्कर युद्ध गरे। त्यस युद्धमा असुरहरूले विजय प्राप्त गरे। पराजित देवगण धर्म एवं संस्कारविहीन भए र गैरदैविक जीवन बिताउन लागे। यस्तो अवस्थामा देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिए। त्यो दिन श्रावण शुक्ल पूर्णिमाको दिन थियो।
यसरी युद्ध गर्न जान लाग्दा देवगुरु बृहस्पतिले इन्द्रको कल्याण एवं विजय होस् भनी शुभ मुहूर्तमा वैदिक मन्त्रले मन्त्रणा गरेको यज्ञोपवीत लगाएर दाहिने हातमा रक्षा सूत्र बाँधिदिए। जुन रक्षासूत्र बाँध्नाले देवराज इन्द्र विजयी बने। यो पौराणिक कथासन्दर्भ हो। त्यही रक्षासूत्र विधिविधान पूरा गरेर रक्षाबन्धन बाँध्ने चलन रहिआएको छ। यही कथाविश्वासलाई आधार बनाएर रक्षाबन्धन बाध्दा भनिने पौराणिक मन्त्र प्रसिद्ध छ -
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः
तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’
अर्थात् ‘जुन रक्षासूत्र या रक्षाबन्धन (काँचो धागो) ले दैत्यराज बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दै छु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्ने छ।’
वैदिक शास्त्रीय मान्यताअनुसार यस दिन देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरिन्छ। यस दिन गुरुपुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं रक्षासूत्र (डोरी) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। जनैपूर्णिमाको दिन बाँधिएको रक्षासूत्रलाई कार्तिक कृष्ण चतुर्दशीका दिन गाईको पुच्छरमा बाँधी दिएमा मृत्युपछि वैतर्णी नदी सजिलै पार हुन सकिन्छ भन्ने जनविश्वास पनि रहेको छ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए भन्ने भनाइ पनि पाइन्छ। अतः यस दिनलाई वेद या संस्कृत दिवसका रूपमा पनि मानिन्छ।
हाम्रा १६ संस्कारमध्ये व्रतबन्ध संस्कार बाह्रौं संस्कार हो। यसलाई उपनयन वा यज्ञोपवीत संस्कार पनि भनिन्छ। ब्राह्मण, क्षत्रिय र वैश्यलाई यो संस्कार गर्ने अधिकार प्राप्त छ। ब्राह्मण आदिको गर्भदेखि क्रमशः ८, ११ र १२ वर्षमा व्रतबन्ध गर्नुपर्ने कुरा मनुस्मृति आदि ग्रन्थमा बताइएको छ।
वैदिक परम्परामा बन्धन, सूत्र, मन्त्र, रेखीको विशेष महत्त्व छ। रक्षाबन्धन सम्बन्धमा पौराणिक ग्रन्थमा विभिन्न कथन पाइन्छन्। अभिमन्त्रित रेखायुक्त बन्धनभित्र बस्न लक्ष्मणले गरेको आग्रहविपरीत बन्धनबाट बाहिर गएकै कारण सीता रावणबाट अपहरित भएकी थिइन्।
महाभारतमा अर्को सन्दर्भ छ - सुदर्शन चक्रले कृष्णको हात काट्दा दौपदीले रक्षाबन्धनस्वरूप आफ्नो कपडा च्यातेर बाँधिदिएकी थिइन्। लक्ष्मीले दैत्यहरूलाई आफ्नो हातको धागो बाँधिदिएको सन्दर्भ पनि पुराणमा पाइन्छ। यसैगरी स्कन्ध पुराणमा एउटा सन्दर्भ आउँछ। यमदूतले आफ्नी बहिनी यमुनासँग रक्षाबन्धन बाँध्ने क्रममा भनेका थिए - जसले यस पवित्र डोरो तिमीजस्तै दिदीबहिनीबाट बाँध्छ, त्यो मानिस यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्छ। अहिले दिदीबहिनीले दाजुभाइलाई चिरञ्जीवी तथा निर्भय बनाउने विश्वाससाथ दाजुभाइलाई ‘राखी’ नामको पवित्र डोरो बाँधिदिने चलन बढेर गएको छ। रक्षाबन्धनसँग सम्बन्धित यस्ता धेरै सन्दर्भ पौराणिक ग्रन्थमा पाइन्छन्।
जनैको शास्त्रीय महत्त्व
जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ। सनातन हिन्दु धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ। जनैका शिखाहरूमध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानको प्रतीक मानिन्छ। श्रावण शुक्ल पूर्णिमामा मन्त्रिएका जनै वर्षभरि गरिने धार्मिक कार्यमा लगाउने र पितृपूजा तथा देवपूजनमा चढाउने गरिन्छ। हिन्दु परम्परामा जनैबिना कुनै पनि धार्मिक कार्य सम्पन्न नहुने बताइएको छ।
जनैका हरेक शिखामा तीन डोरा हुन्छन्। हामीकहाँ तीन सङ्ख्याको ठुलो महत्त्व छ। त्रिदेव ब्रह्मा, विष्णु र महेश्वर, त्रिगुण सत्व, रज र तम, त्रिलोक स्वर्ग, मत्र्य र पाताल, तीन सत्ता ईश्वर, जीवात्मा र प्रकृति। यी सबैले त्रितत्त्व मिलेर पूर्णता पाएका छन्। जनैका तीन डोराले अहम् जैविक संयोगको सङ्केत गर्छ। प्रत्येक मनुष्यलाई जन्मँदैदेखि तीनवटा ऋण लागेका हुन्छन्– ‘पितृऋण’, ‘देवऋण’ र ‘ऋषिऋण’।
संसारमा तीन प्रकारका ऐश्वर्य छन्– ‘सत्य’, ‘यश’ र ‘श्री’। शरीरमा विकारयुक्त धातु तीनवटा छन्– ‘वात’ ‘पित्त’ र ‘कफ’। दुःख वा ताप पनि तीन प्रकारकै छन्– ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’। संसारमा तीन साधन छन्– ‘ज्ञान’, ‘कर्म’ र ‘उपासना’। जगत्मा तीन दण्ड सूत्र छन्– कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड। ‘ओम्’मा तीन अक्षर छन्– अ, उ र म्। महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’। गायत्री मन्त्रमा पाद पनि तीनवटै छन्– ‘तत्सवितुर्वरेण्यम्’ ‘भर्गो देवस्य धीमहि’ ‘धियो यो नः प्रचोदयात’। यसप्रकार जनैका तीन डोरा, धागा वा सूत्रमा विशेष शास्त्रीय महत्त्व छ।
जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ। ऋग्वेदको मन्त्रलाई उधृत गर्दै पारस्करगृह्यसूत्रमा लेखिएको छ– जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवीत दिएर आयु (इन्द्रासनको आयु), बल, बुद्धि तथा समृद्धि प्रदान गरे, त्यसरी तिमी पनि आयु, वर्चस् (तेज), शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊ।
ऋग्वेदका अरू मन्त्रमा पनि भनिएको छ– यज्ञोपवीतको शक्ति महान् छ, यसले मानिसलाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामथ्र्य प्रदान गर्छ। यसलाई धारण गर्ने व्यक्तिले सहजै मोक्ष प्राप्त गर्छ। अग्निसमान तेजस्विता, सूर्यसमान शौर्य, चन्द्रसमान शीतलता, दिव्यगुण एवम् सदा प्रसन्नता र उच्च मनोवल प्राप्त गर्न सधैं जनै लगाउनुपर्छ भन्ने वेदवाक्यबाट पुष्टि हुन्छ। अभिमन्त्रित जनैमा ॐकार, अग्नि, नाग, पितृ, वायु, विश्वदेवा, सोम, प्रजापति र सूर्य गरी नौ देवता तथा ब्रह्मा, विष्णु र महेश्वरको वास हुने विश्वास छ।
जनैको सिधा सम्बन्ध उपनयन संस्कारसँग देखिन्छ। यज्ञोपवीत धारण व्रतबन्धबाटै सुरु हुन्छ। व्रतबन्धको अर्थ हो– अनुशासनमा बाँधिनु। जनैको अर्को सम्बन्ध शिक्षारम्भसँग पनि गाँसिएको छ। प्राचीनकालमा ७–८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो।
जनै धारण गर्ने सव्येन–अपसव्येन दुई पद्धति छन्। सामान्य अवस्थामा बाँया काँधमा अड्याएर दाहिनेतिर फेरो छोडेर जनै लगाइन्छ। यसरी जनै लगाउनु सव्य अथवा सव्येन पद्धति हो। सव्य अथवा सव्येन पद्धति सुल्टो पद्धति हो तर मान्छे मरेर काजकिरिया गर्ने क्रममा थलामा पिण्ड लडाउँदा दाहिने काँधमा जनै अड्याएर बायाँतिर फेरो छोडेर जनै लगाइन्छ। यसरी दाहिने काँधमा ग्रन्थी अड्याएर बाँयातिर फेरो छोडेर जनै लगाउने पद्धति अपसव्य अथवा अपसव्येन पद्धति हो। अपसव्य पद्धति उल्टो पद्धति हो।
व्रतबन्ध गर्दा विधिपूर्वक गुरुपुरोहितले अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्र सुनाउँछन्। त्यसलाई कण्ठ गर्न लगाउँछन्। व्रतबन्ध गरिसकेका पुरुषले हरेक बिहान हातमुख धोई त्यो मन्त्र उच्चारण गरेपछि मात्र नयाँ कामको सुरुवात गर्ने परम्परा छ। यो एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प पनि हो।
जनै निर्माण गर्ने पनि विशेष पद्धति छ। धागो बाट्नेदेखि धागो मिलाउने, शिखा पार्ने अनि जनै पूर्णिमाकै मुहूर्तमा लामो अनुष्ठानसाथ होम तथा यज्ञ गरी मन्त्रद्वारा जनैलाई पवित्र बनाइन्छ। यसरी शुद्ध बनाएपछि मात्र जनै लगाउन योग्य हुन्छ।
जनैपूर्णिमाको कर्मविधि
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो बसिन्छ।
यसरी व्रत बसेका तागाधारीले पूर्णिमाको दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो। वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ।
शास्त्रमा भनिएको छः
पौर्णमास्यां श्रावणस्य स्नानकर्म समाचरेत्
ऋषि तर्पणकं कुर्यात् ब्राह्मणस्य प्रपूजनम्
पौर्णमास्यां दक्षहस्ते कङ्कणं धारयेत्तुवै।
वर्षभरि भएका त्रुटिजन्य प्रत्यवाय शान्तिका लागि उपाकर्म र उत्सर्जन कर्म गर्नुपर्छ। बिहानै उठी पञ्चगव्य प्राशन गरिन्छ। त्यसपछि कुश, दुबो, अपामार्ग, तिल, जौ, शुद्ध माटो, सप्तमृत्तिका, गाईको गोबर, खरानी र भस्म आदि लिएर पोखरी, ताल, तलाउ, कुवा, नदी, तीर्थ वा जलाशयमा गई वैदिक मन्त्रद्वारा शरीरमा लगाई स्नान गर्ने परम्परा छ। यसलाई श्रावणी स्नान वा गण स्नान पनि भनिन्छ। यसैदिन स्नानपछि देह शुद्ध गरी जौ, तिल र कुशद्वारा देवता तथा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ।
जनै धारण गर्दा वा फेर्दा भनिने मन्त्र हो:
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।
आफैले लगाएको जनै छिन्यो भने अर्को नयाँ जनै नफेर्दासम्म बोल्नुहुँदैन भन्ने मौखिक परम्परा हाम्रो समाजमा आजसम्म पनि जीवन्त छ। आफूले जुठो बार्नुपर्ने व्यक्तिको मृत्यु भएमा, आफूले सूतक बार्नुपर्ने कुलमा कसैको जन्म भएमा, लासलाई छोएमा वा नछोए पनि मलाम गएपछि, सूर्यग्रहण र चन्द्रग्रहण लागेर अन्त्य भएपछि स्नान गरेर नयाँ जनै फेर्नुपर्छ।
‘अनुशासन र शक्तिको प्रतीक हो जनै’
जनैपूर्णिमा अर्थात् श्रावणी हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण शास्त्रीय पर्व हो। हाम्रा सबै पर्वले हामीलाई संस्कार, अनुशासन तथा नियम सिकाउँछन्। व्रतबन्ध गरेपछि जनै लगाउने अधिकार प्राप्त हुन्छ। अनुशासन र शक्तिको प्रतीक हो जनै। व्रतबन्ध वेद तथा अन्य शास्त्र पढ्ने तथा कर्ताका रूपमा वैदिक कर्म गर्ने ढोका हो।
जनैपूर्णिमामा अभिमन्त्रित गरिएको नयाँ जनै फेरिन्छ। यस दिन देह शुद्ध गरी देवता तथा सप्तर्षिको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।
ज्ञान र सफल जीवन मार्गको शिक्षादीक्षा सिकाउने ऋषिहरूलाई श्रद्धास्वरूप तर्पण गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्यसम्पादन गरिन्छ। जनैमा ॐकार, अग्नि, नाग, पितृ, वायु, विश्वदेवा, सोम, प्रजापति र सूर्य तथा ब्रह्मा, विष्णु र महेश्वरको वास हुन्छ।
जनै आयु, तेज, प्रज्ञा र बल बढाउने बहुमुखी सूत्र हो। यसलाई सम्मानसाथ धारण गरिन्छ। यसलाई सधैं शुद्ध राख्नुपर्छ। जनैलाई दीर्घशङ्क वा लघुशङ्का गर्दा अशुद्धताबाट बचाउन कानमाथि सिउरिनुपर्छ। यज्ञोपवीत, यज्ञसूत्र, ब्रह्मसूत्र वा तागा तागाधारीको गहना मात्र नभएर आत्मशुद्धि वा इन्द्रियनिग्रहको भरपर्दो उपकरण हो।
यसैगरी आज सनातन धर्मावलम्बी सबैले रक्षाबन्धन बाँध्ने शास्त्रीय मान्यता छ। रक्षाबन्धन बाँध्नाले सुख, शान्ति, सौभाग्यादि वर्षदिनसम्म प्राप्त हुन्छ।
प्रकाशित: २४ श्रावण २०८२ ०८:५२ शनिबार

