सूर्यको उपासना गरिने छठ पर्वका लागि इटहरीस्थित बुढीखोला किनारमा तयारी पूरा भएको छ।
यस वर्ष देशभरबाट करिब दुई लाख भक्तजन सहभागी हुने अनुमानसहित आयोजकले ५५० वटा पूजा घाट अग्रिम बुकिङ भइसकेको जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष मनोज चौधरीले ६०० मध्ये ५५० घाट बुकिङ भइसकेको र बाँकी घाट पनि चाँडै भरिने विश्वास व्यक्त गरे।
‘इटहरी पूर्वको केन्द्रमा रहेकाले र दसैं-तिहारमा आफन्तकोमा आएकाहरू पनि यहीँबाट छठ मनाएर फर्किने हुँदा भक्तजनको संख्या उल्लेख्य हुने गरेको छ,’ उनले सुनाए।
सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचा नगरपालिकाको सिमानामा पर्ने बुढीखोला किनारमा आयोजना हुने यो पर्वमा दुवै जिल्लाका श्रद्धालुहरूको बाक्लो उपस्थिति रहन्छ।
समितिका अनुसार छठ पर्व व्यवस्थापनका लागि करिब २६ लाख रुपैयाँ खर्च हुने अनुमान छ। उक्त रकम इटहरी उपमहानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, विभिन्न दाता तथा दानपेटिकाबाट संकलन गरिनेछ।
समितिका उपाध्यक्ष वासुदेव कर्णले यो ३६औं छठ पूजा भएको र विगतका कमीकमजोरी सुधार गर्दै यस वर्ष अझ व्यवस्थित बनाउन लागिएको बताए।
व्यवस्थापनलाई सहज बनाउन अर्थ संकलन, घाट व्यवस्थापन, मञ्च, प्रसाद, सुरक्षालगायत विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।
भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षाकर्मीका साथै १०० जना स्वयंसेवक र ५० जना निजी सुरक्षागार्ड परिचालन गरिनेछ। पूजास्थलमा सीसीटीभी क्यामेरा जडान गरिने आयोजकले जनाएको छ।
साथै, अस्थायी पुल, खानेपानी, प्राथमिक उपचार र अस्थायी शौचालयको समेत व्यवस्था मिलाइएको छ।
यस वर्षको छठ पर्व कात्तिक १० गते अस्ताउँदो सूर्य र ११ गते उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिपूर्वक सम्पन्न हुनेछ।
प्रकाशित: ४ कार्तिक २०८२ १९:०२ मंगलबार





